मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

एन्फा वरिष्ठउपाध्यक्षमा पंकज

राजधानी समाचारदाता
6 days ago
15/05/2019

काठमाडौं । अखिल नेपाल फुटबल संघले एक वर्षपछि वरिष्ठ उपाध्यक्ष पाएको छ । विवादका बाबजुत पंकज बिक्रम नेम्बाङलाई एन्फाले वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेको हो । एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेको हो । केही सदस्यले सो निर्णयमा विरोध गरेका थिए । विधानअनुसार चार उपाध्यक्षमध्ये एकलाई वरिष्ठ तोक्ने प्रावधान छ । गत वर्ष २२ वैशाखमा भएको निर्वाचनमा नेम्बाङले सर्वाधिक मत ल्याएका कारण पनि उनलाई वरिष्ठ तोकिएको हो । उपाध्यक्ष वीरबहादुर खड्काको पनि वरिष्ठमा दाबी थियो । कृष्ण थापा र उपेन्द्रमान सिंह पनि उपाध्यक्ष हुन् । खड्कासहित केन्द्रीय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिष्कार गरेका थिए ।

मंगलबार बसेको बैठकमा २०६७÷७७ को वार्षिक कार्यक्रम तथा बजेटसमेत पारित गरेको छ । जिल्ला लिग, प्रदेश लिग र एन्फा पे्रसिडेन्ट लिगको नियमावली अनुमोदन गर्ने समेत सहमति भएको छ । आगामी वर्ष राष्ट्रिय लिग गर्ने निर्णय भएको छ ।

संघले ४५ जिल्ला फुटबल संघ र ए बीसी डिभिजन क्लबमा सम्भाव्यताको अध्ययन गरी आगामी वर्षमा कम्तीमा १० स्थानमा खेल मैदान र टेक्निकल सेन्टरको स्तरोन्नति गर्ने निर्णय भएको प्रवक्ता किरण राईले बताए । कर्मचारी कार्यविधि लागू गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

एन्फाले प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि जिम्मेवारीसमेत तोकेको छ । प्रदेश १ मा बसन्त अर्याल, प्रदेश २ मा मोहम्मद समिउल्लाह, प्रदेश ३ मा मोहनकुमार बस्नेत, गण्डकी प्रदेशमा विश्व पौडल, प्रदेश ५ मा प्रकाश पंगेनी, प्रदेश ६ र ७ मा सदस्य प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको छ । केन्द्रीय स्तरको अन्य कार्यक्रमका लागि सहायह महासचिव अरुणमान जोशीलाई जिम्मा दिइएको छ ।

त्यसैगरी, संघको कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, कर्मचारी, प्रशिक्षक, रेफ्रीलगायत अन्य समितिमा रहेका पदाधिकारी तथा सदस्यबाट संघको हितविपरीत प्रतिक्रिया दिने कार्य रोक्ने आचार संहिता तयार गर्ने बैठकले निर्णय गरेको छ । प्रवक्ता किरण राइलाई अर्काे महिनासम्म आचार संहिता तयार गर्ने जिम्मेवारी तोकिएको छ ।

५ जेठदेखि १३ वर्ष र १६ वर्षका युवा खेलाडीको अन्तिम छनोट गरी दुवै समूहका २५÷२५ खेलाडीलाई एन्फा एकेडेमी बुटबल र धरानमा सञ्चालन गरी फुटबल प्रशिक्षण प्रदान गर्ने निर्णय भएको थियो ।

 

(Visited 13 times, 1 visits today)
Loading comments...