मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

विवादमा नाट्य  प्रज्ञा प्रतिष्ठान

राजधानी समाचारदाता
6 days ago
15/05/2019

काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले कानुनविपरीत काम गर्दै प्रतिष्ठानको आर्थिक हिनामिना गरेको भन्दै कलाकार विजय देउजा (विस्फोट)ले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको लागि उजुरी दर्ता गरेका छन् ।

प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीकाविरुद्ध अख्तियारमा उजुरी दर्ता गर्नुको कारणबारे कलाकार विस्फोटले राजधानीसँग भने, ‘उहाँहरू सबैको नियुक्त अनियमिता भएको भन्दै अन्तरिम आदेशसहित पाँच महिनायताबाट अहिले पनि सर्वोच्चमा मुद्दा चलिरहेको छ । मुद्दाको किनारा नै नलागी आफैंले कानुनको व्याख्या गरेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गई हाजिर गरेर मनोमानी रूपमा लाखौं खर्च गर्दै कार्यक्रम गरेर हिँड्न र तलब भत्ता खान थालेपछि हामीले अख्तियारमा छानबिनका लागि उजुरी दिनुपरेको हो ।’

उनले अगाडि थपे, ‘यस विषयमा हामीले संस्कृति पर्यटन तथा नागरित उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासँग बुझ्दा उनले आफूलाई जानकारी नभएको बताएपछि अख्तियारमा गएका हौं । सर्वोच्च अदालतले मुद्दाको किनारा लगाएपछि मात्र प्रतिष्ठानको पदाधिकारीले काम गर्ने वा नगर्ने भन्ने निर्णय हुन्छ ।’

सो प्रतिष्ठानको कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन), उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्याम तमोटसहित अन्य ६ जना परिषद् सदस्य गत १६ पुषमा मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका थिए ।

सो नियुक्ति कानुनविपरीत भयो भन्दै नियुक्तिका लागि सिफारिस समितिका सदस्य श्रीराम आचार्य, नाट्यकर्मी विजय देउजा (विस्फोट) र देशभक्त खनालले नियुक्तिविरुद्ध गत २७ पुसमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । सोही निवेदनको आधारमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गत ९ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेतको नाउँमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको पूर्ण सुनुवाइ नभएसम्मका लागि आवधिक अन्तरिम आदेश जारी गरी सोसम्बन्धी विषयको पूर्ण सुनुवाइका निम्ति व्रmमशः पेसी तारेख तोक्ने कार्य भइरहेको थियो ।

सो अन्तरिम आदेशपछि ११ माघबाट प्रतिष्ठानका कुलपतिसहितका पदाधिकारीले केही समय काम गरेनन् । तर, अदालतले १० चैतमा मुद्दालाई पूर्ण सुनुवाइमा लगेपछि अन्तरिम आदेश हटेको व्याख्या गर्दै सो प्रतिष्ठानका पदाधिकारीले काम सुरु गरेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले यसै विषयमा भने, ‘सर्वोच्चले पछिल्लोपटक हाम्रो मुद्दालाई निरन्तर अन्तरिम आदेश भन्ने शब्दको ठाउँमा पूर्ण सुनुवाइमा जाने भन्ने परिपत्र गरेपछि हामीले महान्यायाधिवक्ताको कार्यालयसँग छलफल ग¥यौं ।

महान्यायाधिवक्ताको कार्यालयबाट अहिलेलाई काम गर्दा हुन्छ भन्ने सल्लाह आएपछि हामीले प्रधानमन्त्री कार्यालय र संस्कृति मन्त्रालयलाई आफूहरूले काम थालेको लिखित जानकारी गराउँदै २६ चैतबाट काम सुरु गरेका हौं ।’ आफूहरूले अहिले हाजिर गरेर प्रतिष्ठानमा दैनिक कार्य गर्दै आएको र महिना नपुगेकाले तलब नलिएको पनि उनले बताए ।

अदालतले मुद्दाको किनारा नलगाई प्रतिष्ठानको बजेट विभिन्न कार्यक्रममा खर्च गर्नुका कारणबारे राजधानीको जिज्ञासामा कुलपति रायनले भने, ‘नेपाल सरकारले हामीलाई काम गर्न प्रतिष्ठानमा नियुक्त गरेकाले हामीले सो नियुक्तिको आधारमा काम गरेका हौं । अहिले हामीलाई सर्वोच्चले काम गर्न नरोकेको र भोलि सर्वोच्च अदालतले जे निर्णय गर्छ, हामी सो निर्णयको पक्षमा रहने छौं ।’ आफुहरूविरुद्ध अख्तियारमा उजुरी परेको बारे जानकारी नभएको पनि कुलपति रायनले बताए ।

यसै प्रसंगमा उजुरीकर्ता विजय देउजा विस्फोटले भने, ‘अदालतमा मुद्दा चलिरहेको र काम रोक्न आन्तरिम आदेश जारी रहेकै बेला छापामार शैलीमा प्रतिष्ठानामा गएर उहाँहरूले विभिन्न काम गरिरहनुभएको छ । २७ र २८ वैशाखमा प्रतिष्ठानको लाखौं रुपैयाँ खर्चेर इटहरीमा गरिएको संगीत उत्सव र त्योभन्दा अघि काठमाडौंमा गरिएको सप्ताहव्यापी नाटक प्रशिक्षण कानुनविपरीत गरिएको काम भएकाले त्यो आर्थिक अनियमितता हो ।’ यस विषयमा अख्तियारबाट छानबिनसहित कारबाही हुनेमा आफूहरू विश्वस्त रहेको पनि उनले बताए ।

 

 

(Visited 9 times, 1 visits today)
Loading comments...