मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

स्थानीय तहका समस्या

राजधानी समाचारदाता
2 months ago
15/05/2019

दिगो कर व्यवस्थापन हुन सकेको छैन

 


कृष्णहरि न्यौपाने
प्रमुख प्रशासकीय अधिकृत
गोलन्जोर गाउँपालिका सिन्धुली

गाउँपालिकामा व्यवस्थित र दिगो कर व्यवस्थापन गर्न सकिएको छैन । व्यावसायिक कर लगाउन सकिएको छैन । यो गाउँपालिकाबाट करोडौंको जुनार बाहिर खपत हुन्छ । गाउँपालिकाले प्रतिकिलो ५० पैसा कर तोकेको थियो तर बिचौलियाका कारण कर उठाउन सकिएको छैन । सवारी कर र ढुंगा, गिट्टी र बालुवाको करले गाउँपालिका चलेको छ । कर्मचारी पर्याप्त छैनन् ।

सातवटा वडा रहेको यो गाउँपालिकामा वडा सचिव नहुँदा वडा कार्यालय नै सञ्चालन गर्न समस्या भएको छ । गाउँपालिकाका प्राविधिक कर्मचारी तथा अन्य कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन भएका छन् । सामान्य प्रशासन मन्त्रालयमा तीनपटक कर्मचारी माग गरेर पठायौं । कर्मचारी व्यवस्थापन भएको छैन । उपलब्ध कर्मचारीले रातदिन लगाएर काम गरेका छौं । कहीलेकाही समयमा सेवा दिन समस्या भएको महसुस भएको छ ।
शिक्षा क्षेत्र अस्तव्यस्त छ । अस्थायी शिक्षकको स्थायी प्रक्रियाले गर्दा गाउँपालिकाबाट ३५ जना शिक्षक बाहिरिए । जसका कारण विद्यालयहरू सञ्चालनमा समस्या भएको छ । तीनवटा विद्यालय शून्य दरबन्दीमा चलेका छन् । शिक्षकलाई काजमा खटाएर विद्यालय सञ्चालन गरेका छौं ।

कर्मचारी र जनप्रतिनिधिबीच पछिल्लो समय सम्बन्ध राम्रै छ तर जनप्रतिनिधिहरूले सुविधा धेरै खोज्छन् । भ्रमण खर्च, भत्तालगायतका सुविधा धेरै खोज्दा काम गर्न समस्या भएको छ । त्यसको व्यवस्थापनमा समस्या छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ । आन्तरिक आय बढाउनुपर्नेछ । गाउँपालिका त्यतातिर काम गर्न लागेको छ ।

फुटपाथको व्यवस्थापनमै समस्या

 


प्रेमप्रसाद भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
ललितपुर
महानगरपालिका

सांस्कृतिक रूपमा पहिचान बनाएको ललितपुर महागरपालिका क्षेत्रको पुनर्निर्माणका काम महŒवका साथ लिइएको छ । ललितपुरमा पर्यटकहरू निरन्तर बढ्दो मात्रामा आइरहेका छन् । पर्यटकीय नगरीमा सबैभन्दा ठूलो समस्याका रूपमा फुटपाथ व्यवस्थापन नै रहेको छ । सडक विस्तार गरिएको क्षेत्रमा पार्किङ गरिएको छ ।
पार्किङको व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष योजना बनाएर कार्यान्वयन गर्दासमेत सडकछेउका पसलले आफ्नो पार्किङ नभएको भन्दै सडकमा राख्दा फुटपाथसमेत मिचिएको छ । यस्तै, फुटपाथमा व्यापार गर्नेहरूका कारण पैदल यात्रुलाई समेत अप्ठ्यारो पर्ने गरेको गुनासो आइरहन्छ ।

हामीले सांस्कृतिक सहरलाई आधुनिकता दिएर आकर्षित बनाउने प्रयास गरिरहेका छौं । तर पनि त्यस विषयमा पुरातŒवले बनाएको मापदण्डका कारण कतिपय काम अघि बढाउन सकिएको छैन । कर्मचारी अभावकै कारण काम रोकिने अवस्था भने छैन ।

स्थानीय तहले समग्र महानगरभित्रका सबै गतिविधिमा निगरानी गर्नुपर्ने भएकाले यहाँको अर्को समस्या भनेको फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भइरहँदा सडकको चोक–चोकमा केही दिनसम्म फोहोर रहने परिस्थिति आएमा हामीले घरघरबाट नै फोहोर बाहिर ननिकाल्न आग्रह गर्दै आएका छौं ।

काम उठाउनै समस्या

यामबहादुर उपरकोटी
प्रमुख प्रशासकीय अधिकृत
आमचोक गाउँपालिका भोजपुर

 

स्थानीय तहको काम उठाउन निकै समस्या छ । मुख्य कारण त कर्मचारी अभाव नै हो । समायोजनका कारण पनि कर्मचारी अन्योलमा छन् । हाम्रो स्थानीय तहमा ३९ जनाको दरबन्दी छ, निजामती सेवाका हामी चार जना मात्र छौं । १४ जना करारमा नियुक्त गरेर काम सञ्चालन गरिरहेका छौं । विद्युत् र इन्टरनेटको समस्याका कारण पनि कार्य पद्धतिमा समस्या हुने गरेको छ । पूँजीगत बजेट कम हुँदा भौतिक संरचना निर्माण गर्न सकिएको छैन । बढी मात्रामा सडक निर्माणमा बजेट गएको कारण अन्य क्षेत्र अलि ओझेलमा परेको हो कि जस्तो लाग्छ । सडक विस्तारले मात्र आर्थिक समृद्धि हुन्न नि ? ।
धेरै जसो स्थानीय तहका जनप्रतिनिहरू जनताको तर्फबाट मात्र सोच्ने तर कानुनी पक्रिया नबुझ्दा कुनै÷कुनै बेला समस्या हुने अवस्था पनि छ । यो आर्थिक वर्षमा शतप्रतिशत नभएपछि ८० प्रतिशतको हारहारीमा काम सक्ने योजनाका साथ काम गरिरहेका छौं ।

हाम्रो स्थानीय तहका जनप्रतिनिधिको साथ सहयोग राम्रो छ । गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, यातायातलगायतका क्षेत्रमा समुदाय लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले कर्मचारीको अभाव चाँडै समाधान गरिदिए काम गर्न धेरै सजिलो हुन्थ्यो जस्तो लाग्छ । जनप्रतिनिधिमा काम गर्ने जोस जागर छ तर पनि कर्मचारी अभावका कारण सोचेजस्तो ढंगले काम अडि बढ्न नसकेजस्तो लाग्छ ।

 

विकासको बुझाइमा अभाव

गोकर्णनाथ मिश्र
प्रमुख प्रशासकीय अधिकृत
कञ्चनरूप नगरपालिका सप्तरी

 

यहाँ अन्यत्रजस्तै कर्मचारीको अभाव उस्तै छ । जनशक्ति अभावले सेवा प्रवाहमा पनि केही समस्या परिरहेको छ । जनप्रतिनिधिमा विकासको बहुआयमिक बुझाइको अभाव छ । जनप्रतिनिधिको बढी ध्यान सडक निर्माणमा नै केन्द्रित हुने गरेको छ ।
नगरपालिका उच्चतम प्रविधिको प्रयोगमा धेरै पछि रहेको छ । अव प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनेगरी अघि बढिरहेका छौं । कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध मध्यमस्तरको छ । तर, दुई पक्षबीचको सम्बन्ध सुमधुर हुन जरुरी छ ।
जनप्रतिधिबाट नीतिगत निर्णयमा केही ढिलाइ हुन पुग्दा कतिपय विकासका कार्यक्रम अवरुद्ध हुन पुगेका छन् । विकास बजेट खर्चमा पनि अपेक्षित सफलता हासिल हुन सकेको छैन ।

जनताको सेवालाई पहिलो प्राथमिकता

लोकहरि थापा
प्रमुख प्रशासकीय अधिकृत
नौकुण्ड गाउँपालिका, रसुवा

काठमाडौंबाट नजिकको दूरीमा भएर पनि रसुवाको नौकुण्ड गाउँपालिकामा अहिलेसम्म इन्टरनेट सेवा पुग्न सकेको छैन । मोबाइलको डाटाबाट इन्टरनेट चलाएर काम गर्नुपर्ने बाध्यता छ । कुनै पनि कम्पनीले यहाँ इन्टरनेट सेवा दिन मान्दैनन् । कामको बोझ धेरै छ तर कर्मचारी अभाव छ । आफ्नो भवन नहुँदा अहिले घरभाडामा बस्नु परेको छ । केही समयअघि गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि सात रोपनी जग्गा प्राप्त भएको छ ।

स्थानीय तहलाई जति अधिकार दिइएको छ त्यसको तुलनामा साधन र स्रोत अभाव छ । अभावकैबीचमा गाउँपालिकाले गर्नुपर्ने धेरै काम गरिरहेको छ । विकास निर्माणको काम अघि बढिरहेको छ । जनताको सेवालाई पहिलो प्र्राथमिकतामा राख्दै जति काम गर्नुपर्ने हो, हामीले अहोरात्र खटिएर काम गरिरहेका छौं ।

(Visited 40 times, 1 visits today)
Loading comments...