मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

फेसबुकमा प्रत्यक्ष प्रसारण गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

एजेन्सी
2 months ago
15/05/2019

पेरिस । सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।

न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।

आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लंघन गर्ने व्यक्तिलाई तत्काल फेसबुक लाइभ सुविधा प्रयोग गर्नबाट निश्चित समयका लागि रोक लगाइने फेसबुकले जनाएको छ ।

इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्री सम्बन्धी समस्याको समाधानको खोजी गर्न हुन लागेको एउटा सम्मेलनअघि सो उपाय अघि सारिएको हो ।

सो सम्मेलनको अध्यक्षता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले गर्दैछन् । आर्डनले फेसबुकको कदमको स्वागत गरेकी छन् ।

गत मार्चमा न्यूजिल्याण्डको एउटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गरिएको हमलालाई आक्रमणकारीहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सो घटनाका कारण विवादमा परेपछि फेसबुकले कडा नीति सार्वजनिक गरेको हो । जस अनुसार फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न सकिने सुविधालाई नियन्त्रण गरिनेछ ।

पेरिस सम्मेलनले सामाजिक सञ्जालको प्रयोगबाट आतंकवादी गतिविधिको योजना र घटनाको प्रचारप्रसार हुन नदिन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई संयोजन गर्ने लक्ष्य राखेको छ । सो सम्मेलनमा युरोप, क्यानडा र मध्यपूर्वी देशका नेताहरूले फेसबुक, गुगल र ट्विटर जस्ता कम्पनीका उच्च अधिकारीहरू सहभागी हुनेछन् ।

स्वचालित रूपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइएका सामग्रीहरू पहिचान गर्न एउटा नयाँ अनुसन्धान साझेदारी सुरू गर्न साढे सात करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता फेसबुकले जनाएको छ ।

फेसबुकले आगामी साताहरूमा उसको मातहतका अन्य अनलाइन प्लेटफर्महरूमा पनि यी नयाँ नियमहरू लगाउने बताइएको छ । जसमा फेसबुकमार्फत विज्ञापन गर्नेहरु पनि समावेश गरिनेछन् ।

(Visited 506 times, 1 visits today)
Loading comments...