मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पने सहमति

एजेन्सी
2 months ago
15/05/2019

खार्तुम । सुडानको सैनिक सत्ता र विपक्षीबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।

सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद् गठन गरी सरकार सञ्चालन गरिरहेका छन् ।

दुबै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो । तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरु पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ । साथै वार्तामा पनि गतिरोध आएको थियो ।

करिब १२ घण्टाको वार्तापछि दुबै पक्षले संक्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् ।

सैनिक परिषद्का एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको संक्रमणकालीन अवधि रहने गरी दुबै पक्षबीच सहमति भएको जानकारी दिए ।

जनरल आताले शक्ति बाँडफाँडको विषयसहित आगामी सरकार गठन गर्ने बारे एक दुइदिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने बताए । प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुबै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गरे ।

तर उनले सैनिक परिषद्सँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिए ।

सैनिक परिषद्ले आगामी छ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्र जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...