मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

एएफसी कपः मनाङ पञ्जाबसँग बराबरीमा रोकियो

राजधानी समाचारदाता
6 days ago
15/05/2019

काठमाडौं । मनाङ–मस्र्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जाबसँग अर्काे बराबरी नतिजा निकालेको छ ।

एएफसी कपअन्तर्गत बुधबार भएको चौथो चरणको खेलमा घरेलु टोली मनाङले १० खेलाडीमा समेटिएको पन्जाबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मनाङले अवे खेलमा २–२ गोलको बराबरी खेलेको थियो ।

बराबरीसँगै दुवै टोलीले दुई खेल बाँकी रहँदा जित निकाल्न सकेनन् । मनाङले भने चौथो खेल सकिँदा पनि जित निकाल्न सकेको छैन । बराबरीसँगै पन्जाब र मनाङको अघिल्लो चरण पुग्ने सम्भावना न्यून बनेको छ ।

समूह ‘ई’ मा पन्जाब ४ अंक जोड्दै तेस्रो स्थानमा यथावत् रहँदा मनाङ २ अंक जोडेर पुछारमा छ । २ खेलमा जित र एकबराबरी खेलेको चेन्नई ७ अंकका साथ शीर्षस्थानमा छ । समान एक जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन अवहानी लिमिटेड ४ अंकसहित दोस्रो स्थानमा छ ।

मनाङलाई दबाबमा राखेको पन्जाबले खेलको ३९औं मिनेटमा मोइरंगथेम थोइवा सिंहको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा पन्जाब १० खेलाडीमा समेटिएको थियो ।

८१औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका डिफेन्डर साहिद अजिजले हेडमार्फत बराबरी गोल गरेका थिए । उनले अन्जन विष्टको पासलाई सदुपयोग गरेका थिए । ८९औं मिनेटमा पन्जाबले गोल गरे पनि रेफ्रीले अफसाइडको इसारा गरिदिए ।

मनाङले अब पाँचौ चरणमा बंगलादेशको अवहानी लिमिटेडसँग तथा अन्तिममा भारतको चेन्नइयनसँग अन्तिम खेल खेल्नेछ ।

(Visited 49 times, 1 visits today)
Loading comments...