मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

प्रहरीमाथि लाग्यो ज्यान मारेको आरोप

राजधानी संवाददाता
2 months ago
15/05/2019

बैतडी । बैतडीको पाटनमा एक वृद्धको मृत्यु भएको घटनामा प्रहरीलाई आरोप लागेको छ । पाटन नगरपालिका ६ लदेडाका ७४ बर्षीय कमलाकान्त पन्तको प्रहरीको कुटाईबाट मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् ।

वैशाख ३० गते राती कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरि स्थानीयलाई गालीगलौज र हसियाले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।

पन्तले हसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते समेत भएका छन् । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका छन् । लवदेवलाई नियन्त्रणमा लिएको एकघण्टामै कमलाकान्तको मृत्यु भएको थियो ।

कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले ५ प्रहरी विरुद्ध कर्तव्य ज्यान मुद्धामा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए ।

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । यो मुद्दा अदालतमा पेश गरिने प्रहरी नायव उपरीक्षक गिरीले बताए । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...