मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

फेरि सिक्वेल फिल्ममै निर्माता

डब्बु क्षत्री
5 days ago
16/05/2019

 

काठमाडौं । चलचित्र निर्माता एवं निर्देशक रामबाबु गुरुङ यतिबेला फेरि सिक्वेल फिल्म निर्माणमा फर्किएका छन् । यी निर्माता निर्देशक अहिले कबड्डीको तेस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डीको निर्माणमा छन् । काठमाडौंमा सोमबार एक समारोहबीच कबड्डी कबड्डी कबड्डीको निर्माण घोषणा गरियो । यो चलचित्रको यसै साताबाट छायांकन सुरु हँुँदै छ । फिल्मको रिलिज मिति आगामी दसैंलाई तोकिएको छ ।

निर्माता निर्देशक गुरुङले कबड्डीको दुई सिरिजपछि फेरि दुईवटा नयाँ फिल्म बनाए । उनले यसअघि निर्माण गरेको दुई नयाँ फिल्म पुरानो डुंगा र साइली व्यावसायिक रूपमा बक्स अफिसमा सफल भएन । यसरी आफूले निर्माण निर्देशन गरेको दुई नयाँ फिल्म असफल भएपछि निर्देशक गुरुङले फेरि सिक्वेल नै रोजेका हुन् । त्यसो त उनले निर्माता डाक्टरसिंह गुरुङको नयाँ फिल्म पनि निर्देशन गर्न लागेका थिए । तर, त्यसअघि आफ्नो बजार सुरक्षित र फेरि स्थापित बनाउन उनले सफल फिल्म कबड्डीको तेस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डी निर्माण निर्देशन थालेका हुन् ।

यसमा दयाहाङ राई, कर्मा शाक्य, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडाको अभिनय रहनेछ ।

रामबाबु गुरुङजस्तै अरू निर्माता निर्देशकले पनि आफ्नो बजार पुनः स्थापित गर्न सिक्वेल फिल्म नै रोजेका छन् । यस्तै, यतिबेला नयाँ सिक्वेल फिल्म बनाउने अर्का निर्माता सन्तोष सेन हुन् । उनले यस अघि नयाँ कथामा आफ्नो आठ वर्षीय छोरालाई लिएर नयाँ फिल्म ‘मेरी मामु’ बनाए । तर, यो फिल्मले आशातित व्यापार गरेन । सोही कारण आफ्नो सफल फिल्म प्रेम गीतको तेस्रो शृंखला ‘प्रेम गीत–३’ को निर्माण तयारीमा उनी छन् । प्रेम गीत र प्रेम गीत २ सुपर हिट भएपछि प्रेम गीत ३ निर्माण गर्न लागेको पनि निर्माता सेनले बताएका छन् । यो फिल्मलाई सन्तोष सेनले नै निर्देशन गर्दै छन् । जसमा प्रदीप खड्का नायकको रूपमा रहेका छन् । उनी अहिले अरू कलाकारको अडिसनमा व्यस्त छन् । फिल्म आगामी २८ चैतमा रिलिज हुँदै छ ।

अर्का निर्माता सुनिल रावल पनि यतिबेला नयाँ सिक्वेल फिल्मकै निर्माण तयारीमा छन् । उनले आफ्ना अघिल्ला फिल्म हेस्टर र होस्टर रिर्टनस्को व्यवसायिक सफलतापछि अब होस्ट व्याक अगेन निर्माण गर्ने भएका छन् ।

यो फिल्मको निर्देशन पनि उनी आफैंले गर्ने बताएका छन् । होस्टल र होस्टल रिटर्न जस्तै होस्टल व्याक अगेन पनि सफल फिल्म बन्ने यी निर्माता निर्देशकको कथन छ । निर्माता रावलको भनाईमा सिक्वेल फिल्म बनाउँदा दर्शकको साथ नयाँ कथाको फिल्म भन्दा राम्रो पाइन्छ । सोही कारणले पनि होस्टेलको तेस्रो सिक्वेल निर्माण गर्न लागेको उनले बताएका छन् ।

 

निर्माता सुनिलकुमार थापाले ए मेरो हजुर ३ को सफलतापछि अब नयाँ फिल्म भागवत गीता बनाउने भनेका थिए । तर, भागवत गीता भन्दा ए मेरो हजुरको शृंखला बढी सुरक्षित हुने र दर्शकको साथ पाउने ठहर गर्दै सिक्वेल फिल्म ‘ए मेरो हजुर–४’ निर्माण गर्ने भएका छन् । ए मेरो हजुर ३ का नायक अनमोल केसी र नायिका सुहाना थापाकै मुख्य भूमिका रहने ए मेरो हजुर ४ को छायांकन आगामी फागुनबाट सुरु गर्ने पनि थापाले बताएका छन् ।

यही शुक्रबारबाट दुई नयाँ फिल्म ‘वीरविक्रम–२’ र ‘जात्रैजात्रा’ रिलिज हुँदै छन् । निर्देशक मिलन चाम्सले यस अघि फिल्म ह्याप्पी डेज, ब्लाइन्ड रक्स व्यावसायिक रूपमा सफल नभएपछि अघिल्लो सफल फिल्म वीरविक्रमको सिक्वेल वीरविक्रम–२ निर्माण गरेका हुन् । फिल्मको बुधबार साँझ काठमाडौंमा भव्य प्रिमियर गरियो ।

यता निर्देशक प्रदीप भट्टराईले पनि फिल्म जात्राको सफलतापछि त्यसको सिक्वेलको रूपमा जात्रैजात्रा निर्माण गरेको बताएका छन् । यसरी नयाँ कथामा फिल्म बनाउनुभन्दा सिक्वेल फिल्म बनाउँदा दर्शकहरू हलसम्म आउने भएकाले पछिल्लो सफल सिक्वेल फिल्मको लहर बढेको हो ।

 

 

(Visited 21 times, 1 visits today)
Loading comments...