मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

उत्तर कोरियामा भीषण खडेरी, बारीमै सुक्यो अन्नबाली

एजेन्सी
5 days ago
16/05/2019

प्योङयाङ । उत्तर कोरियाले आफ्नो देश पछिल्लो ३७ वर्षयताकै सबैभन्दा भीषण खडेरीबाट गुज्रिरहेका बताएको छ । उसले यसलाई खडेरीका कारण खेतीबाली नष्ट भएपछि ‘खडेरीविरुद्ध जनताको युद्ध’ भएको टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्रसंघले १ करोड उत्तर कोरियाली नागरिकलाई तत्काल खाद्यान्न आवश्यक रहेको बताएलगत्तै उत्तर कोरियाको पछिल्लो भनाइ बाहिर आएको हो । राष्ट्रसंघले उत्तर कोरियालीलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार उत्तर कोरियालीहरु यो वर्ष हरेक दिन तीन सय ग्राम खाद्यान्नका भरमा बाँच्नु परिरहेको छ । सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौंले ज्यान गुमाएका थिए ।

यो खडेरीले कति गम्भीर संकट ल्याउँछ भन्ने स्पष्ट संकेत देखिएको छैन । तर, देशैभर किसानले लगाएको खेती सुकेर नष्ट भएको छ ।

एनके न्युजका ओलिभर थोमस भन्छन्, ‘अहिलेसम्म यो कति खतरनाक अवस्था हो भन्ने स्पष्ट भएको छैन । उत्तर कोरियासँग जोडिएका हरेक तथ्यांक पाइदैन ।’

तर उत्तर कोरियाका बारे हालै आएको यो तथ्यांक सही हो भने उत्तर कोरियामा उत्पादनमा देखिएको यो कमीलाई पूर्ति गर्नका लागि कम्तीमा पनि १५ लाख टन खाद्यान्न आयात गर्नुपर्नेछ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार यस वर्षको पहिलो ५ महिनामा ५४ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको छ । यो उत्तर कोरियामा सन् १९८२ पछि सबैभन्दा कम पानी परेको रेकर्ड हो ।

गत महिना विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनले संयुक्त रुपमा जारी गरेको रिपोर्टमा सन् २०१८ मा उत्तर कोरियामा सन् २००८ पछिकै सबैभन्दा कम खाद्यान्न उत्पादन भएको उल्लेख गरिएको छ । यसबाट करिब १ करोड उत्तर कोरियाली अर्थात् ४० प्रतिशत जनतालाई तत्काल खाद्य सहयोग आवश्यक पर्नेछ ।

उत्तर कोरियामाथि अमेरिकाले लामो समयदेखि प्रतिबन्ध लगाए पनि मानवीय सहायताका सामग्री र खाद्यान्न आयातमा भने रोक लगाएको छैन । सन् २०१७ मा पनि उत्तर कोरिया खडेरीका कारण नराम्ररी प्रभावित भएको थियो ।

सन् २००६ देखि अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध कडा बनाउँदै लगेको हो । गत फेब्रुअरीमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको दोस्रो शिखर वार्ता असफल भएको थियो ।

(Visited 138 times, 1 visits today)
Loading comments...