मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

रकम घोटला भएपछि खानेपानीले लुकायो लेखा प्रतिवेदन

भविन कार्की
5 days ago
16/05/2019

खाँदबारी । संखुवासभामा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भएको आर्थिक रकम घोटला भएको लेखा प्रतिवेदन समितिले लुकाएको छ ।

खानेपानी समिति र कर्मचारीको मिलेमतोमा लाखाैं रकम घोटाला गरेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल भइरहेको छ ।

खानेपानी महसुललगायतको रकम हिनामिना गरेको प्रतिवेदन वैशाख १५ गते समितिलाई बुझाए पनि समितिले प्रतिवेदन पटकपटक माग्दा समितिका अध्यक्ष नरेन्द्र राईले अहिले दिन नमिल्ने बताएका छन् ।

लेखा समितिले बुझाएको छानबिन प्रतिवेदन पत्रकारले सार्वजनिक गर्न माग गर्दा खाँदबारी नगरपालिकासँग छलफल गरेपछि मात्र सार्वजनिक गर्ने भन्दै समितिका अध्यक्ष राईले दिन आनाकानी गरिरहेका छन् । रकम घोटला भएको छानबिन प्रतिवेदन वैशाख १५ गते नै समितिले बुिझसकेको छ ।

तत्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठको समितिले लामो समय लगाएर तयार पारेको लेखा प्रतिवेदन समितिलाई बुझाएको बताए ।

खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आए पनि महसुल र उपभोक्ताबाट उठाएको रकमको मात्र छानबिन गरेको लेखा अधिकृत श्रेष्ठले जानकारी दिए ।

समितिले जडान शुल्कबापत उपभोक्ताबाट अग्रिम रूपमा ५ प्रतिशत अर्थात् २ करोड १५ लाखभन्दा बढी रकम उठाइएको थियो ।

गत १५ माघमा लेखा अधिकृत श्रेष्ठलाई खानेपानी समितिमा आर्थिक अनियमिता भएको भन्दै छानबिनका लागि लेखा अधिकृत श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।

खानेपानी कार्यालयमा अझै रकम अनियमितता भएकाले फेरि पनि छानबिन गर्नुपर्ने खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।

२०७० सालमा निर्माण सम्पन्न गर्ने गरी कुल लागत ४४ करोड ४३ लाख रुपैयाँमा निमार्ण सम्पन्न गर्न जिम्मा आशिष कन्स्ट्रक्सनले लिएको थियो ।

उपभोक्ताहरूले खानेपानी आयोजनालाई कुल लागतको ५ प्रतिशत रकम सहभागिताबापत मुख्य पाइपलाइनदेखि धारा जडान गर्दा दूरीका हिसाबले प्रतिघर ५ हजार देखि २५ हजार रुपैयाँसम्म तिरेका थिए ।

(Visited 35 times, 1 visits today)
Loading comments...