बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

ग्रेटवाल, रञ्जना लिपि र आश्चर्यहरू

राजधानी समाचारदाता
1 month ago
18/05/2019

 

आफंैमा आश्चर्यको रूपमा रहेको रहेको चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपि भेटिनु नेपालीहरूका लागि अर्को आश्चर्य बनेको छ । यो लिपि नेवारी भाषाको सबैभन्दा पुरानो लिपि र यस अर्थमा नेपालको पुरानो लिपि हो, ग्रेटवालजस्तो प्राचीन मानव निर्मित पर्खालमा यो लिपि भेटिनुले नेपालीका मनमा आश्चर्य मात्र होइन, खोज तथा अनुसन्धानको कौतुहललाई नजिक्याएको छ ।

नेपालबाट आफ्नो अपनत्व र पहिचान बोकेको रञ्जना लिपि लोप हुन लाग्यो भनेर यसको खोजी र जिज्ञासुहरूका लागि पढाइ सिकाइको प्रक्रिया पनि सुरु गरिएको छ । तर, धेरैलाई अंग्रेजीले मोहपासमा पारिसकेको छ । नेपाली खस भाषा पनि अब त क्रमशः किनारा लाग्दै जाने प्रक्रिया सुरु हुन थालेको छ । विश्वबजारमा नेपालको पहुँच नभए पनि विश्वबजारको उपभोक्ता भएकाले नेपालीहरूमा नेपाली भाषाको मोह कम हुन गएको हो । धेरै कुरामा त विश्वबजारले पनि निर्णय लिने र निर्णायक हुने गरेको छ ।

तर पनि मानिस अपनत्व, वैशिष्ट्य र पहिचानको खोजी गर्दै हिँड्दो रहेछ । यसै कुराले उसलाई अन्य समुदायका बीचमा उसको पहिचान र स्वत्वको स्वीकृति प्रदान गर्दो रहेछ । प्राचीन समयमा निर्मित चीनको ग्रेटवालमा पाइएको नेपाली रञ्जना लिपिले नेपालीहरूलाई विश्वमा चिनाउने काम गरेको छ । तर, यसको प्रचारप्रसार र थप खोजी जरुरी छ । यसै प्रसंगलाई कोट्याउँदा नेपाली चेली भृकुटीको विवाह तिब्बतका स्रोङचङ गम्पोसँग गरिदिएको ऐतिहासिक यथार्थता हामी नेपालीहरूका माझ रहेको छ ।

चीनमा फैलिएको पगोडा शैली र पगोडा शैलीमा निर्माण भएका त्यहाँको भौतिक संरचनाहरू हाल चीनका लागि पर्यटकीय आकर्षणका स्रोत बन्न पुगेका छन् । यो शैली भृकुटीसँगै तिब्बतमा पठाइएका नेपाली कलाकार अरनिकोको देन हो । हाल पनि चिनियाँहरू यो पगोडा शैलीलाई नेपाली शैली भनेर बुझ्ने गर्दछन् । तर, नेपालमा भने उक्त शैलीको न त संरक्षण गरिएको छ न त केही विस्तार नै । बरु पश्चिमा भौतिक पूर्वाधार निर्माणका मोडलहरूले क्रमशः सिंगो देशलाई च्याप्दै लगेका छन् ।

कला संस्कृतिसँग अभिन्न रूपमा जोडिएको भाषा तथा भाषाको लिपिको संरक्षण पनि छैन । यी पुराना निर्माण शैलीहरू लोप हुने क्रमसँगै नेपालबाट लोप भएको रञ्जना लिपि प्राचीन मानव निर्मित ग्रेटवालमा पाइनु निकै खुसी र आश्चर्यको विषय पनि हो । हाल चीनसँगको नेपालको चलिआएको शान्ति र मैत्री सम्बन्धमाथि केही प्रश्नहरू उठिरहँदा यो लिपि पाइनु र पहिचान गरिनुले नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने देखिन्छ ।

चीनको ग्रेटवाल आफंैमा विश्वका आश्चर्यमध्ये एक हो । मानव निर्मित आश्चर्यहरूमा यो निकै चर्चित र व्यापक रहेको छ । मानिसहरूले ग्रेटवाल भन्ने बित्तिकै चीनको त्यो भीमकाय पर्खाललाई सम्झन पुग्छन् । पृथ्वीमा देखिने अरू केही मानव निर्मित कुरा छ भने त्यो चीनको ग्रेटवाल नै हो । यसलाई विश्वको सम्पदामा सूचीकृत गरिएको छ । यो मानिसले बनाएको संसारको सबैभन्दा लामो पर्खाल पनि हो । यसको लम्बाइ २१ हजार १ सय ९६.१८ किलोमिटर रहेको छ ।

यो पर्खाल बनाउँदा सैयौं वर्ष लागेको र यो ६ वटा विभिन्न वंशका राजाहरूले राज्य गर्दा निरन्तर रूपमा थप्दै र बनाउँदै लगेका थिए । यो २ हजार ३ सय वर्ष पुरानो रहेको छ । बेलाबेलामा विभिन्न ठाउँहरूमा बनाइएका पर्खालहरूलाई ‘क्विन वंश’को राजाहरूका पालामा जोडेर एउटै लामो भीमकाय पर्खालको स्वरूप दिइएको थियो । क्विन वंशको समयलाई चिनियाँ इतिहासमा सबैभन्दा महŒवपूर्ण समयका रूपमा लिइन्छ ।

 

नेपाली रञ्जना लिपिसमेत यो ऐतिहासिक पर्खालकाबारे विभिन्न खालका किंवदन्तीहरू पनि रहेका छन् । यो पर्खाल कसरी निर्माण भएको थियो त भन्नेबारे सबैभन्दा आश्चर्य लाग्दो कुरा भनेको एक भयानक ठूलो ड्रयागनले त्यो विशाल पर्खालको जग खन्दै गएपछि त्यसैमा मानिसहरूले पर्खाल उठाएका थिए रे भन्ने रहेको छ । कथामा त यतिसम्म पनि भनिएको पाइन्छ त्यो ड्रयागन मानिसहरूलाई सहयोग गर्न स्वर्गबाट पठाइएको थियो । त्यो ड्रयागन निकै सहयोगी र मानवमैत्री थियो ।

योभन्दा पनि अझ महŒवपूर्ण र आश्चर्य लाग्दो कुरा त चन्द्रमामा पुगेका मानिसहरूले लेन्स जोडेर दूरबिनले निकै मजाका साथ ग्रेटवाल हेरिरहन्छन् रे । उनीहरूले त्यति बेलाको चिनियाँ, को युरोपीय र को अमेरिकन वा अफ्रिकन भन्ने कुरा बिर्सिएर मानव जातिले देखाएको एक मात्र खगोलीय पौरखका रूपमा लिन्छन् रे । सीधा नभएर तलमाथि उठेका र बांगाटिंगा पहाडका आकारअनुसार यो ग्रेटवाल बनेको छ । त्यसैले, पनि यो आफंैमा रहस्यमय र आश्चर्य लाग्दो बनेको छ ।

माओत्सेतुङले चलाएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति (१९६६–१९७६)का बेला महान् सांस्कृतिक योद्धाहरू यिनै लामा पर्खालमुनि बसेर यसलाई सेल्टर र बंकरका रूपमा प्रयोगमा ल्याएका थिए । निकै लामो लम्बे अभियान चलाएर चीनलाई मुक्त पारेका माओका लागि ग्रेटवालको सेल्टर रोजाइ कम बुद्धिमत्तापूर्ण काम थिएन । यसमा योद्धाहरूका कारखाना तथा घाइते र अशक्तहरू बस्ने घरहरू पनि बनाइएको थियो ।

यो चीनको सबैभन्दा ठूलो पर्यटकीय स्रोत हो । संसारका सबैभन्दा धेरै मानिसहरू यही ग्रेटवाल घुम्न र जान लोभिने गर्दछन् । चीनको राजधानी बेइजिङको रुट र बडलिङको अर्को रुट यो ग्रेटवालमा पुग्नका लागि सबैभन्दा प्रयोगमा आएका छन् । एक वर्षमा करिब ६ करोड ३० लाख पर्यटकले यो भीमकाय मानव निर्मित पर्खालको अध्ययन तथा अवलोेकन गर्ने गर्दछन् । हालसम्मको सरदर आँकडाअनुसार एक दिनमा ७० हजार पर्यटकले यसको अवलोकन भ्रमण गर्ने गरेका छन् ।

तर, आधुनिक कालमा आएर चीनले यो ग्रेटवालमा केही पनि थप पर्खाल लगाएको छैन । अब त विश्व सम्पदामा दर्ज भइसकेपछि त्यसमा थपघट गर्न वा कटाउन पनि मिल्दैन । अन्त्यमा, यो आश्चर्यजनक भीमकाय पर्खालसँग निकै आश्चर्यका रूपमा जोडिएको एउटा कथा पनि राखौं । त्यो हो ‘मेनजियांनुको असीम रोदन ।’ मिनजियाङ्नु उनको श्रीमान् पर्खाल बनाउँदा त्यही मरेपछि उनी यति धेरै रोइछन् कि उनको आँसुले पर्खालको केही भाग बगाएर उनको श्रीमान्को अस्थिपन्जरसँगै उनलाई पनि त्यही ठाउँमा पुरेर स्वर्गधाम पठाएछ ।

(Visited 518 times, 1 visits today)
Loading comments...