मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

४० वर्ष बित्यो, अझै पूरा भएन गुरुयोजना

श्यामशंकर पाण्डे
3 days ago
18/05/2019

भैरहवा ।  सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४० वर्ष बितिसक्दा समेत अधुरो छ । चार दशकमा ८२ प्रतिशत मात्र काम  भएको छ ।  कोषको सदस्य–सचिवको समेत जिम्मेवारी सम्हालेका योजना प्रमुख सरोज भट्टराईका अनुसार गुरुयोजनाको १८ प्रतिशत काम अपूरो छ । बजेट अभावकै कारण अपेक्षाकृत काम हुन नसकेको कोषले बताउँदै आएको छ । गुरुयोजना सम्पन्न गर्न अझै ६ अर्ब रुपैयाँ आवश्यक छ । सरकारले चालू आर्थिक वर्षका लागि जम्मा ५३ करोड रुपैयाँ विनियोजन गरेको थियो । बजेट अभावकै कारण तोकिएको समयमा काम पूरा हुन नसकेको सदस्य सचिव भट्टराईको भनाइ छ । गुरुयोजनाअनुसार विहार क्षेत्रमा सबैभन्दा बढी डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ ।

सबैभन्दा आकर्षक मानिने चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले ५२ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । अर्को मुलुक थाइल्यान्डले १० करोड २५ लाख लागतमा विहार बनाएको छ । लुम्बिनीग्राम क्षेत्रमा १ अर्ब २७ लाखभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटेलले ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख रुपैयाँ सहयोगमा निर्माण भएको छ । जापानी संस्था रेयुकाईले ३० करोड ८० लाख लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यस क्षेत्रमा अझै करिब तीन अर्ब लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् ।

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महŒवपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ४० करोड रुपैयाँ लगानी भएको छ । त्यस क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख खर्च भएको छ । मायादेवी मन्दिर निर्माणका लागि ७ करोड रुपैयाँ लागेको थियो । यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । नहर निर्माणमा मात्रै २४ करोड रुपैयाँ खर्च भएको छ ।
कोषका अनुसार ४० वर्षअघि टाँगेले प्रस्ताव गरेको गुरुयोजनाअनुसार लुम्बिनीको प्रमुख भूभागका रूपमा रहेको तीन वर्ग माइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र लुम्बिनीग्राम गरी तीन वटा क्षेत्र समावेश छन् । त्यसलाई एक÷एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फ लुम्बिनी ग्राम, दोस्रो खण्ड अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामकरण
गरिएको छ ।

बाँकी एक वर्ग माइलको दक्षिणतर्फ पवित्र उद्यान नाम दिइएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महŒव दिएको छ । यसका लागि गुरुयोजनाका बाँकी सबै काम एकैचोटी सक्ने गरी करिब ६ अर्बको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ । । कोषका निमित्त सदस्य सचिव भट्टराईका अनुसार बोलपत्र आह्वान गर्नुपूर्व त्यस्ता संरचनाको योजना, डिजाइन र लागत अनुमान तय गर्न अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोट गर्ने प्रक्रिया सुरु गरिएको छ ।
केही दिनभित्रै परामर्शदाता छनोट गरी अन्तर्राष्ट्रिय बोलपत्रमार्फत तीन वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ । कोषका अनुसार गुरुयोजनाअन्तर्गत १६ प्रकारका काम अझै हुन बाँकी छन् ।
पर्याप्त बजेट भएमा दुई वर्षभित्र अधुरा काम पूरा हुने कोषले जनाएको छ । सन् १९९७ मा विश्वसम्पदामा सूचीकृत भएको हो, लुम्बिनी । ‘स्मार्ट सिटी’का रूपमा विकास गर्नेगरी सरकारले गृहकार्य थालेको छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...