मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

स्थानीय तहका समस्या,के भन्छन् प्रमुख प्रशासकीय अधिकृत ?

राजधानी समाचारदाता
3 days ago
18/05/2019

 

बजेट थोरै, काम धेरै

धनन्जयकुमार शाहा
बुद्धशान्ति गाउँपालिका,
झापा

यस गाउँपालिकामा ठूलाठूला योजना छन् । ती योजनाको भविष्य अन्योलमा परेको छ । बजेट थोरै छ, काम धेरै छन् । योजना सुरु गरिए पनि कसरी पूरा गर्ने भन्ने चिन्ता बढेको छ, सीमित बजेटबाट यो सम्भव छैन ।
कृषि पर्यटन, बन्जी जम्पिङ, केबलकारलगायतको योजनाको डीपीआर भइसकेको छ तर काम अघि बढेको छैन । बजेट अत्यन्तै न्यून भएका कारण जनताको अपेक्षाअनुरूप जनप्रतिनिधिहरूले काम गर्न सकेका छैनन् ।

दुई धारबाट निर्वाचित जनप्रतिनिधि भए पनि काम गर्न सजिलो छ । कामको ममलामा जनप्रतिनिधिहरू एकमत भएर आउनुहुन्छ । झापामा कुनै पनि स्थानीय तहले नगरेको काम अयुर्वेद सेवा सुरु गरेका छौं । कर्मचारीको अभावलाई पूर्ति गर्न १२ जना स्वयंसेवक राखेर गाउँपालिकाको कामलाई पूर्णता दिएका छौं । उनीहरूले मासिक ६ हजार रुपैयाँ खाजा चियाबापतको पैसामा मात्रै काम गरिरहनुभएको छ ।

इलामसँग सिमाना जोडिएको गाउँपालिका भएका कारण पनि प्राकृतिक रूपमा झापाका अन्य स्थानीय तहभन्दा रमणीय छ । कर्मचारी समायोजनको समस्या नेपालका सबै स्थानीय तहमा छ, यहाँ पनि
उस्तै हो ।
प्रदेश सरकार र संघीय सरकारले यो गाउँ पालिकाको सबै पक्षलाई हेरेर लगानी गर्ने हो भने रिटर्न चाँडै आउँछ । तर, बजेट नहुँदा चाहे जति काम गर्न सकिएको छैन । विकासको योजनाको बाँडफाँट र बजेट वर्गीकरणमा मतऐक्यता छ ।

 

प्राविधिक कर्मचारी अभाव छ

युवराज पौडेल
चन्द्रागिरि नगरपालिका,
काठमाडौं

कम साधन स्रोत भए पनि हामीले काम गरिरहेका छौं । नगरपालिकाका मेयर ज्यूले सहकार्यमा काम गरिहनुभएको छ । हामीले प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा काम गरिरहेका छौं । हामीले अहिले पनि प्रदेश सरकारले प्राथमिकता तोकेको क्षेत्रमा योजना छनोट गरेर पठाउने निर्णय पनि गरेका छौं ।
जनप्रतिनिधि भएको दुई वर्ष भए पनि म आएको भर्खरै नौ महिना पुगेको छ । अहिले जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्धमा नगरपालिकाको काम अघि बढिरहेको छ । आगामी वर्षमा पनि हामीले संघ र प्रदेशसँगको समन्वय र सहकार्यमा काम गर्नेछौं । संघ र प्रदेशबाट प्राप्त हुने बजेटको साथै आन्तरिक आम्दानीको आधारमा योजना तयार पारी कार्यान्वयनमा लैजाने काम भइरहेको छ ।

स्थानीय जनताको आकांक्षालाई पूरा गर्ने लक्ष्यको साथ अघि बढिरहेका छौं । आन्तरिक आम्दानीमा पर्ने घरजग्गा पास, सिफारिस, घरबहाल कर, मालपोत, उद्योग राजस्व र यातायात सवारी करलगायतबाट प्राप्त हुने रकमले स्थानीयका योजना पूरा गर्ने योजनामा छौं । मुख्य रूपमा नगरपालिकाको विकास बजेटमा सडकका बढी योजना रहेका छन् ।
हामीकहाँ अहिले कर्मचारी अभाव छैन । पर्याप्त कर्मचारी भए पनि प्राविधिक कर्मचारीको भने कमी रहेको छ । त्यसका लागि हामीले पहल गरेका पनि छौं ।

 

गुणस्तरमाथि शंका गर्नेछन्

राजकुमार शाक्य
गौरीगन्ज गाउँपालिका,
झापा

हामी र जनप्रतिनिधहरूले जति नै राम्रो काम गर्छु भने पनि उपभोक्ताहरूले गरेको काम राम्रो र सन्तोषजनक छैन । गाउँ नगर बनाउँछु भनेर लागिपरेकाहरूका लागि यो अभिसाप हुन सक्छ ।
हामीले जतिसुकै राम्रो काम गर्छु भने पनि प्राविधिक जनशक्ति कम भएका कारण कामको गुणस्तरीयमाथि शंका गर्ने ठाउँ रहेका छन् । जनप्रतिनिधिहरूले आप्mनो कानुनी दायरा, भूमिका र दायित्व स्पष्ट नबुझ्दा काम गर्न कति ठाउँमा अप्ठयारो पनि परेको छ । गाउँपालिकाको कार्यपालिकाले गरेको निर्णय तल्लो तहका जनता र वडा सदस्यहरूसम्म पुग्न नसक्दा समस्या देखिएको छ । कार्यपालिकाले गरेको काम या निर्णयको समन्वय हुन जरुरी देखिएको छ ।

यो गाउँपालिका भारतसँग सीमा जोडिएको गाउँपालिका हो । जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि गराउने कार्यक्रम ल्याउन जरुरी छ । विकास बजेट र भविष्यमा देखिने परिणामका सम्बन्धमा बुझाउन जरुरी छ । जननिर्वाचित फरक दलका फरक प्रतिनिधि भए पनि कर्मचारीको व्यवहारमा भर पर्छ, यहाँ सबै राम्रो छ । प्रायः मत बाजिँदैन । कर्मचारी अभाव समायोजन यो नेपालभरिकै समस्या हो यसलाई सरकारले चाँडै टुंगो लगाउन जरुरी छ । हिजो वाचा गरेका जनप्रतिधिनिहरूको काम समयमै सक्नुछ र जनताको काम द्रुतगतिमा गर्नु छ भने कर्मचारी समायोजन र पद पूर्ति चाँडै गर्नुपर्छ ।

 

अनुदानकै भर पर्नुपरेको छ


विकाउकुमार यादव
गोडैता नगरपालिका, सर्लाही

 

नगरपालिकामा पूर्णरूपमा सरकारी अनुदानमै भर पर्नुपरेको छ । नगरपालिकामा व्यवस्थित र दिगो कर व्यवस्थापन गर्न सकिएको छैन ।
कर्मचारी अभाव त्यत्तिकै छ । भौतिक संरचनाको अभाव छ । आफ्नो भवन नहुँदा अधिकांश ठाउँमा भाडाको घर लिई नगरपालिका सञ्चालन गर्नुपरेको छ । कर्मचारीको अभाव त्यतिकै छ । कर्मचारी नहुदा नगरपालिकाको विभिन्न कार्य गर्न, समस्या उत्पन्न भएको छ ।
पुराना कर्मचारीहरूमा कानुनको राम्रो ज्ञान नभएकाले काम नै प्रभावित भएको अवस्था छ । जनप्रतिनिधिहरूमा पनि कानुनको राम्रो ज्ञान नहुँदा विभिन्न कार्य गर्न समस्या भएको छ । जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध रहेको छ ।

(Visited 42 times, 1 visits today)
Loading comments...