बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

त्रिभुवन विश्वविद्यालयमा बढ्दो विसंगति

सम्पादकीय
4 months ago
20/05/2019

 

देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयकै अवस्था दयनीय हुँदै गएको छ । नागरिकलाई शिक्षा प्रदान गर्ने मुख्य शिक्षालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयको बेहाल हँुदै जाने अवस्था आउनुले मुलुकको सिंगो शैक्षिक क्षेत्र नै समस्या नै समस्याले झेलिएको सहज अनुमान गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई दिएको दुःख देख्दा परीक्षा नियन्त्रण कार्यालय यातना गृहका रूपमा चित्रण हुन पुगेको छ । कार्यालयको लापर्बाहीले गर्दा विभिन्न परीक्षामा उतीर्ण भएका विद्यार्थीहरूको मार्कसिटमा अनुतीर्ण लेखिएर आउने र विद्यार्थीहरू मानसिक तनाव बेहोर्न बाध्य भइरहेका छन् । यस प्रकारका त्रृटि कम हुँदै जानुको साटो उल्टो बढ्दै जानुले परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीपनलाई देखाउँछ ।

अहिलेको समय सूचना र प्रविधिको समय हो तर परीक्षा नियन्त्रण कार्यालयले सूचना र प्रविधिको उचित प्रयोग गर्न नसक्दा रेकर्ड प्रणाली चुस्त र दुरुस्त हुन सकेको छैन । पनिकामा सामान्य रेकर्ड हेर्न पनि वर्षांै पुराना ढड्डा पल्टाउनुपर्ने अवस्था छ । पनिकाको मुख्य काम नै परीक्षासम्बन्धी सम्पूर्ण प्रक्रियाको अन्तिम टुंगो लगाउनु हो तर यति महŒवपूर्ण जिम्मेवारीमा रहेको कार्यालयले लापर्बाही गर्नु भनेको दण्डहीनता र अनुशासनहीनता नै हो । गल्ती हँुदा कारबाही नहुने प्रवृत्तिका कारण परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी संवेदनशील नभएका हुन सक्छन् । विगतमा गल्ती र कमजोरी हँुदा कारबाही गरिएका उदाहरण खासै छैनन् । त्यसैले अब त्रिभुवन विश्वविद्यालयको नेतृत्वले गल्ती र कमजोरी गर्नेहरूसँग साँठगाठ राख्ने होइन कि कडाभन्दा कडा कारबाही गरेर भविष्यमा कुनै प्रकारको गल्ती र कमजोरी गर्ने अवस्था आउन दिनुहँुदैन ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा जागिर खान आउने कर्मचारी योग्यता प्रणालीका आधारमा नभएर नातागोता र सोर्सफोर्सका आधारमा आउने प्रवृत्ति मौलाउन पुग्दा पनि त्यस्ता कर्मचारीबाट दिइने सेवा प्रवाहमा गम्भीर खालका समस्या आएका हुन् । त्रिभुवन विश्विद्यालय सेवा आयोगले लिएको परीक्षासमेत विवादको घेरामा पर्दा परीक्षा नै स्थगित गर्नुपर्ने अवस्था आएको छ । आयोगका पदाधिकारीले परीक्षा सञ्चालन गर्दा परीक्षाको न्यूनतम सिद्धान्त र मापदण्डको समेत धज्जी उठाउँदै आफू निकटलाई छानीछानी उतीर्ण गराएको पाइएको छ । सबै पक्षलाई ज्ञान, शिक्षा र नैतिकता सिकाउने त्रिभुवन विश्वविद्यालयका विभिन्न निकाय नै भ्रष्टचारको अखडामा पर्नुु घोर विडम्बना हो । त्रिभुवन विश्वविद्यालयको नेतृत्व पक्षले आफ्ना निकायमा भइरहेका त्यस्ता अनियमितता रोक्न निर्मम अप्रेसन गर्न सक्नुपर्छ । विश्वविद्यालयलाई यस्तो दुर्दशामा पु¥याउन राजनीतिक नेतृत्वको अदूरदर्शी सोचले पनि काम गरेको छ । राजनीतिक नेतृत्वले विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्रका रूपमा विकास गर्दै आएकाले पनि पवित्र शिक्षालयको रूपमा रहनु पर्ने निकाय विकृतिको अखडाजस्तै बन्न पुगेको हो । जसको परिणाम मुलुकको समग्र शैक्षिक अवस्था सुधारतर्फभन्दा विकृतितर्फ उन्मुख हुन थालेको छ ।

त्यसैले मुलुकको समग्र शिक्षा क्षेत्रको विकासका लागि पनि त्रिभुवन विश्वविद्यालयको आमूल सुधार गरिनुपर्छ । विश्वविद्यालयलाई खुला र पवित्र स्थलका रूपमा विकास गराउन यहाँ आउने हरेक जनशक्ति सोर्सफोर्सका आधारमा भन्दा पनि खुला प्रतिस्पर्धाका आधारमा ल्याउने व्यवस्था गर्नुपर्छ । सरकारले त्रिभुवन विश्वविद्यालयका हरेक विभाग र कार्यालयलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनुपर्छ भने अनियमितता गर्नेमाथि छानबिन गरी कानुनी कारबाहीको भागीदार बनाउन सक्नुपर्छ ।

(Visited 94 times, 1 visits today)
Loading comments...