बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

निजामती सेवामा सदाचारिता (लोकसेवा टिप्स)

राजधानी समाचारदाता
1 month ago
20/05/2019

 


तारानाथ अधिकारी
सहसचिव, नेपाल सरकार

 

परिभाषा

सदाचार भन्नाले सोचाइ, बोलाइ र गराइमा संगति हुनुलाई बुझिन्छ । आदर्श, विश्वास, मापदण्ड र व्यवहारको एकीकरण नै सदाचारिता हो । बाह्य प्रभाव वा दबाबबाट विचलित नभईकन इमानदारिताका मूल्यमा अडिग रहनु नै सच्चरित्रता हो । सत्यलाई स्वीकार गर्ने, सत्यलाई सामना गर्ने र सत्यका निम्ति जस्तोसुकै दुःख बेहोर्नसक्ने हिम्मत नै सदाचारिता हो । सदाचार यस्तो गुण हो, जुन जस्तोसुकै प्रभाव र दबाबबाट पनि भाँचिँदैन । कसैले नहेरेको वा नदेखेको अवस्थामा पनि आफ्नै अन्तस्करणबाट आफू ‘को हुँ’ र आफ्नो गन्तव्य के हो भन्ने कुरामा अविचलित रहने चरित्र नै सच्चरित्रता हो । चरित्रको पूर्णता, विस्तृता र व्यापकता नै सदाचारिता हो । यो सम्झौता वा छनोटमा आधारित हुँदैन । यो अविच्छिन्न, नित्य र सम्झौताहीन प्रकृतिको हुन्छ । यो परिस्थिति सापेक्ष हुँदैन । सबै परिस्थितिमा पनि व्यक्तिले प्रदर्शन गर्ने सोचाइ, बोलाइ र गराइको एकीकृत मूल्य प्रणाली हो । विजय वा पराजय, प्राप्ति वा अप्राप्ति जे सुकै भए पनि नैतिक मार्गदर्शनमा अविचलित हिँडिरहने प्रतिज्ञा नै सदाचारिता हो ।

 

सदाचारिताका प्रकार

असल वा खराबका सन्दर्भमा आफ्नो वा अरूका व्यवहारको मूल्यांकन गर्दा अपनाइने मापदण्डको संगतिलाई ‘वैयक्तिक सदाचारिता’ भनिन्छ । जीवन भनेको सत्यको निरन्तर खोजी हो । यो केवल सत्य प्राप्तिसँग मात्र सम्बन्धित छैन । सत्यका सम्बन्धमा गरिने चिन्तनको एकरूपता नै ‘बौद्धिक सदाचारिता’ हो । पृथ्वीलाई सूर्यले परिक्रमा गर्छ भन्ने कथन कुनै बेला सत्य मानिन्थ्यो । तर, वैज्ञानिकहरूले निरन्तर सत्यको खोजी गर्दा त्यो कथन गलत साबित भयो । यसर्थ, मानवीय उन्नतिका लागि कुनै स्थापित सत्यको सर्तरहित अनुशरणभन्दा पनि सत्यको अविचलित र निरन्तर खोजी गर्ने चरित्र
महत्त्वपूर्ण हुन्छ ।
नाफा नोक्सानको विवेकशीलतालाई भन्दा नैतिक विवेकशीलतालाई जोड दिने चरित्रलाई ‘वैयक्तिक सदाचारिता’ भनिन्छ । यो व्यक्तिको आफ्नै आन्तरिक नियन्त्रणमा आधारित हुन्छ । नियम कानुनको डरबाट कुनै व्यवहार गर्नुभन्दा असल चरित्रको निरन्तर अभ्यासबाट निर्देशित भई व्यवहार गर्नु उत्तम हुन्छ भन्ने मान्यतामा आधारित सदाचारितालाई ‘वैयक्तिक सदाचारिता’ भन्न सकिन्छ ।
संगठनका उद्देश्य एवं मूल्यप्रतिको अगाध आस्था र समर्पणबाट निस्सृत हुने चरित्रहरूले ‘संगठनात्मक सदाचारिता’ लाई जनाउँछ । समाजका मापदण्ड र मूल्यलाई भित्री हृदयदेखि नै स्वीकार गर्दै त्यसलाई जस्तोसुकै परिस्थितिमा अवलम्बन गर्ने गुणलाई ‘सामाजिक सदाचारिता’ भनिन्छ । पेसागत आचारसंहिताको बोध, अभ्यास र समर्पण गर्ने सदाचारितालाई ‘व्यावसायिक सदाचारिता’ भनिन्छ ।
इमानदारिता, पारदर्शिता, जवाफदेहिता, गोपनीयता, वस्तुगतता, आज्ञाकारिता, मानवीयता र कानुनको पालना आदि गुणहरू
‘व्यावसायिक सदाचारिता’का अभिन्न तत्त्वअन्तर्गत पर्छन् । व्यक्तिगत मूल्य र संगठनका मूल्यबीच घर्षण पैदा भएमा पेसाविद्ले संगठनका मूल्यलाई परिवर्तन गर्ने प्रयास गर्छ वा आफूलाई सम्बन्धित संगठनबाट अलग गर्छ । मूल्यहरूको सम्झौतालाई ‘व्यावसायिक सदाचारिता’ ले स्वीकार्दैन । किनकि, सदाचारिता भन्ने मूल्य सम्झौतामा बाँच्न सक्दैन ।

 

निजामती सेवामा सदाचारिता

सार्वजनिक हितको सिद्धान्तबाट पूर्ण निर्देशित हुनु नै निजामती सेवाको सदाचारिता हो । व्यक्तिगत वा अन्य लाभ वा कुनै समूहको स्वार्थबाट अप्रभावित भई सार्वजनिक सेवा र सार्वजनिक हितप्रतिको प्रतिबद्धता र अभ्यासलाई नै निजामती सेवाको सदाचारिता भन्न सकिन्छ । यसभित्र निम्न गुणहरू पर्छन् ः
१. आफ्नो कर्तव्य र दायित्वलाई पूर्ण रूपले जिम्मेवार भई पालना गर्ने ।
२. पेसागत आचरणको पालना र व्यावसायिक व्यवहारको निरन्तर प्रदर्शन गर्ने ।
३. संगठन र सेवाप्रति जनविश्वास अभिवृद्धि गर्ने ।
४. सार्वजनिक कोष र सम्पत्तिको उचित र मितव्ययी तवरले उपयोगको सुनिश्चितता गर्ने ।
५. स्वच्छ, निष्पक्ष, छरितो प्रभावकारी र संवेदनशील ढंगले सार्वजनिक मामिलाको व्यवस्थापन गर्ने
६. कानुनको पालना गर्ने । प्रशासकीय न्यायको प्रत्याभूतिका लागि सक्रिय भई काम गर्ने ।
७. व्यक्तिगत वा समूहगत निहित स्वार्थका लागि सार्वजनिक शक्ति, अधिकार र स्रोतको दुरुपयोग नगर्ने ।
८. सार्वजनिक नीति वा सेवासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सरोकार भएका व्यक्ति वा समूहबाट कुनै पनि प्रकारको लाभ, उपहार, सम्मान वा आतिथ्य ग्रहण नगर्ने ।
९. सूचनाको हकसम्बन्धी ऐनबमोजिम आफू कार्यरत निकायका काम र विवरणलाई सार्वजनिक गर्ने ।
१०. जनप्रतिनिधि संख्या र लोकतन्त्रमा अगाध आस्था एवं विश्वास कायम गर्ने । नीति र राजनीतिमा आफ्नो धारणा राखी नीतिको सिर्जनात्मक विकासमा सहयोग गर्न पाइए पनि दलिय राजनीतिमा आबद्ध हुन पाइँदैन ।
११. निजामती सेवाबाट निवृत्त भइसकेपछि पनि माथि उल्लिखित गुणहरूमा अटल रहने ।

 

भ्रष्टाचार र सदाचारिता

सदाचारिता गुमाएका व्यक्तिको आचरणका सम्बन्धमा अनुमान गर्न सकिँदैन । अनिश्चित स्वभाव भएका व्यक्तिलाई विश्वास गर्न सकिँदैन । प्रशासकीय पद्धतिमा त्यस्ता अविश्वसनीय व्यक्तिको उपस्थितिले शासन प्रणालीलाई भताभुंग पार्छ । यसर्थ, सदाचारको विपरीत अवस्था नै भ्रष्टाचार हो । मिहिनेतबिना धन आर्जन गर्न खोज्ने व्यक्तिले छोटो उपाय खोजी गर्छन् । त्यस्ता कर्मचारीले निजामती सेवाका मूल्यसँग सम्झौता गर्छन् र भ्रष्टाचारमा
अभ्यस्त हुन्छन् ।

 

विज्ञता, कार्यकुशलता र सदाचारिता

कुनै कर्मचारी आफ्नो विषय क्षेत्रमा विज्ञ र निपुण छ । तर, त्यो व्यक्तिसँग सदाचारिता छैन भने त्यसले निजामती सेवाको गरिमालाई कायम गर्न सक्दैन । यसर्थ, विज्ञ वा कार्यकुशल हुनु भनेको सदाचारिताको समानर्थी शब्द हुन सक्दैन । आफ्नो विषय क्षेत्रमा कम ज्ञान भएका व्यक्ति पनि सदाचारी भए भने समय क्रममा निरन्तरको लगावले आवश्यक ज्ञान हासिल गर्न सक्छन् ।
तर, सार्वजनिक सेवामा विज्ञ तर भ्रष्ट व्यक्तिको उपस्थित भयो भने त्यसले निजामती सेवामा पु¥याउने क्षतिलाई परिपूर्ति गर्न निकै धेरै समय लाग्न सक्छ । कुनै व्यक्तिमा विज्ञ र सदाचारिता दुवै छ भने त्यो उत्तम जनशक्ति हो । तर, विज्ञ र सदाचारीमध्ये सदाचारीताको चयन नै उपयुक्त चयन हो । किनकि, तालिमलगायतका उपायबाट विज्ञताको विकास गर्न सकिन्छ वा अन्य विज्ञको परामर्श लिन सकिन्छ । तर, सार्वजनिक अधिकारी नै भ्रष्ट भए भने कुनै पनि बाह्य परामर्शले सार्वजनिक हितलाई सुनिश्चित गर्न सक्दैन ।

(Visited 483 times, 1 visits today)
Loading comments...