बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

स्थानीय तहका समस्या, के भन्छन् प्रमुख प्रशासकीय अधिकृत ?

राजधानी समाचारदाता
1 month ago
20/05/2019

 

 

 

कर्मचारी समस्या न्यून हुँदै छ

लोकबहादुर भण्डारी

पाँचखाल नगरपालिका,

काभ्रेपलाञ्चोक

 

संघीयता कार्यान्वयनको सुरुवाती चरणमा रहेकाले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयमा केही समस्या छ । समग्रमा संविधानमा ‘संघीयता, व्यवहारमा केन्द्रीयता’को अवस्था छ ।

तीन तहबीचमा समन्वय सहकार्य र सहअस्तित्वको विकास हुनु आवश्यक देखिन्छ । जनप्रतिनिधि र प्रशासकबीच बुझाइको तहमा परिवर्तन आएको अवस्था छ । समायोजनपछि प्राविधिक कर्मचारी अभावको अवस्था देखिएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिमा विभिन्न विषयमा क्षमता अभाव देखिन्छ । क्षमता विकास गरेर अअघि बढेको अवस्थामा सेवा प्रवाह तथा विकासले गति लिन सक्छ । यस अवस्थामा सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्यसमेत पूरा हुन जाने देखिन्छ । कर्मचारी सायोजनपछि स्थानीय तहले झेल्दै आएको कर्मचारी समस्या केही हदसम्म समाधान भएको छ । यसबाट विकास निर्माण र कानुन निर्माणको कामले तीव्रता पाएको छ ।

 

 

अवसर र चुनौती दुवै छन्

टेकप्रसाद भट्टराई

चन्द्रनगर गाउँपालिका,

सर्लाही

चन्द्रनगर गाउँपालिका शून्यबाट विकासको पूर्वाधार तथा आन्तरिक राजस्व क्षमता र उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढिराखेको छ । एकीकृत गाउँ विकास गुरुयोजना तयार पारी शहरी पूर्वाधारका हरेक क्षेत्रमा लगानी बढाउने काम भइरहेको छ । अन्य पूर्वाधार विकासका लागि प्रदेश र संघ सरकारसँग समेत बजेट माग गरिएको छ ।

समग्रमा हेर्दा यस गाउँपालिकामा अवसर चुनौती दुवै छन् । आर्थिक वर्ष २०७४÷७५ मा सार्वजनिक जग्गा खोजी तथा संरक्षण समिति गठन गरी करिब ५५ बिघा व्यक्तिले अतिक्रमण गरेका खोजी गरी अतिक्रमण हटाउने प्रक्रिया सुरु भएको छ ।

त्यस्तै, गाउँपालिकाबाट घोषित ‘शिक्षित बेटी, बालिग पुतोह स्वच्छ आ समुन्नत गाउँपालिका’ अभियानमार्फत अभिभावक, बैंक र गाउँपालिकाको सहकार्यमा १ साउन २०७५ देखि जन्मिएका छोरीको नाममा २७ हजारको २० वर्षे मुद्दती खाता खोलिएको छ ।

 

वडामा कर्मचारी अभाव छ

प्रेमप्रसाद दहाल

देउमाई नगरपालिका,

इलाम

 

मुलुकमा संघीयता लागू भएसँगै जनताका आशा र अपेक्षा बढी छन् । नयाँ संरचनाका कारण जनप्रतिनिधि र कर्मचारीमा अन्योल छैन । जन प्रतिनिधिलाई नीति नियम र ऐनका कार्यक्रमले पार्ने प्रभाव र असरका बारेमा बुझाउन सकियो भने कुनै समस्या हँुदैन । हाम्रो नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच कुनै समस्या छैन । १५ वर्षसम्म दोहोरो भूमिकामा कर्मचारी थिए । एउटा छोड्नु पर्दा कुण्ठित भावनाले द्वन्द्व सिर्जना गर्ने हो । त्यसलाई कर्मचारीले बुझ्नुपर्छ ।

यहाँको समस्या वडामा कर्मचारी अभाव हो । उपलब्ध भएका जनशक्तिबाट काम बाँडफाँट गरेर सेवा प्रदान गर्नुपर्ने बाध्यता छ । तर, नगरपालिका कार्यलयमा भने कर्मचारी अभाव छैन । इन्टरनेट प्रत्येक वडामा भएको हुँदा कार्य सञ्चालनमा सहज छ । नगरपालिकाको विकासका लागि इलेक्टेड र सेलेक्टेडका बीचमा कार्यक्रम सञ्चालन गर्ने धारणा हुनुपर्छ ।

 

 

बजेट अख्तियारी ढिलाइले समस्या

प्रदीप गौतम

अरुण गाउँपालिका,

भोजपुर

 

उपभोक्ता समितिले सुरुमा योजना माग गर्छन् तर पछि खोजी नै नगर्ने प्रवृत्ति बढी छ । अन्य स्थानीय तहमा जस्तै हाम्रो स्थानीय तहमा ३६ जनाको दरबन्दी छ, अहिले निजामती सेवाका हामी १० जना मात्र छौं । केही कर्मचारी करारमा नियुक्त गरेर काम सञ्चालन गरिरहेका छौं । कर्मचारी अभावले कामको चाप बढेको छ ।

प्रदेश सरकारबाट आएको बजेटको ढिला अख्तियारी आउँदा कार्यान्वयन गर्न समस्या छ । गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या छ । भौतिक संरचना निर्माणका लागि रकम विनियोजन गरेका छौं तर काम गर्न सकिएको छैन । गाउँपालिकाभित्र रहेको पानीको समस्या समाधानका लागि डीपीआरको काम भइरहेको छ ।

गाउँपालिकाबाट सञ्चालन भएका योजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । स्थानीय तहका जनप्रतिनिधिको साथ सहयोग राम्रो छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...