शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

इरानलाई नष्ट गरिदिने ट्रम्पको चेतावनी

एजेन्सी
5 months ago
20/05/2019

वासिंगटन । अमेरिकी आर्थिक प्रतिबन्धका कारण ठूलो दबाब झेलिरहेको इरानमाथि अमेरिका र साउदी अरबले एकैपटक युद्धको धम्की दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विट गर्दै आफ्नो देशसँग युद्ध चर्किएमा इरान सिद्धिने कडा चेतावनी दिएका छन् ।

‘यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ,’ उनले एक ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकालाई फेरि कहिल्यै पनि धम्की नदिनु !’

इरानसँगको तनाव बढेसँगै अमेरिकाले केही दिनअघि खाडी क्षेत्रमा थप युद्धपोत तथा विमानहरू खटाएलगत्तै ट्रम्पको यस्तो भनाई बाहिर आएको हो ।

पछिल्लो समयमा इरान र अमेरिकाबीचको तनाव कम गर्नका लागि पहल भइरहेको छ । केही दिनअघि मात्रै ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानमाथि जारी दबाबले युद्धको रूप धारण नगरोस् भन्ने अमेरिकी चाहाना रहेको बताएका थिए ।

गत बिहीबार एक पत्रकार सम्मेलनका क्रममा पत्रकारहरुले के अमेरिका–इरानबीच युद्ध हुन लागेको हो भनेर गरेको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, ‘हुँदैन होला भन्ने मेरो आशा छ ।’

इरान–अमेरिका तनाव चर्किइरहेका बेला दुवै देशले युुद्धको सम्भवना अस्वीकार गरेपनि दुवै राष्ट्रले एक अर्कोमाथि युद्धको हाँक दिइरहेका छन् । चर्किदो तनावबीच इरानले युद्धको कुनै सम्भवना नरहेको बताएको छ । शनिवार इरानी विदेश मन्त्रीले इरान युद्धको भोको नभएको प्रतिक्रिया दिएका थिए ।

विदेशमन्त्री मोहमद जावाद जरिफले इर्ना समाचार संस्थासँगको कुराकानीमा भनेका थिए, ‘युद्ध हुँदैन किनभने कोही पनि यस क्षेत्रमा इरानसँग युद्ध लड्न चाहदैन ।’

सन् २०१५ मा यस क्षेत्रको तनाव अन्त्य गर्न तथा इरानको आणविक कार्यक्रम नियन्त्रण गर्नका लागि इरान र अमेरिकाबीच परमाणु सम्झौता भएको थियो ।

तर तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सो सम्झौता वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेपछि दुई देशबीच पुनः तनाव उत्पन्न भएको हो ।

(Visited 543 times, 1 visits today)
Loading comments...