शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

अप्टिकल फाइबर बिछ्याउने कार्य सुरु

राजधानी संवाददाता
5 months ago
21/05/2019

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चिवा भन्ज्याङदेखि धादिङको आरुघाटसम्मको २ हजार १७९ किलोमिटर लामो दूरीमा आप्टिकल फाइबर बिच्छाउने काम सोमबारदेखि सुरु भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ को खुर्कोटबाट अप्टिकल फाइबरको नेटवर्क ब्याबोन निर्माण कार्य सुरु गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट औपचारिक रूपमा सुरु नेटवर्क ब्याबोन निर्माणको काम सुरु गरेको हो ।

नेटवर्क ब्याबोन निर्माण कार्यको शुभारम्भ सिन्धुली प्याकेजको खुर्कोटमा दूरसञ्चार प्राधिकरण क्षेत्रीय कार्यालय वीरगन्जका प्रबन्धक इन्दर यादवले गरेका हुन् । उनले फाइबरको पाइप खाल्डोमा बिछ्याउँदै निर्माणको सुरुवात गरेका हुन् । ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब ६ करोड ४२ लाख ५९ हजार ९७९ रुपैयाँमा तीनवटा प्रदेशबाट एकसाथ निर्माण सुरु गरिएको अप्टिकल फाइबरको ‘नेटवर्क ब्याबोन’को निर्माण कार्य दोस्रो फेजअन्तर्गत सिन्धुलीको खुर्कोटबाट निर्माण सुरु गरिएको हो ।

दोस्रो फेजमा निर्माण सुरु गरिएको सिन्धुली प्याकेजमा १ हजार २८ किलोमिटर फाइबर बिछ्याइने क्षेत्रीय प्रबन्धक यादवले बताए । जसको लागत ८० करोड रुपैयाँ रहेको उनले जानकारी दिए । उक्त बजेटमा फाइबर अन्डरग्राउन्ड र पोलबाट विस्तार गर्नुका साथै मेन्टिनेन्स गर्ने कार्यसमेत गरिनेछ ।

‘सरकारले घोषणा गरेको डिजिटल नेपाल बनाउने योजनाअनुसार नेपालको प्रदेश १, २ र ३ का ३५ जिल्लालाई जोड्ने गरी अप्टिकल फाइबर बिछ्याउने काम सुरुवात गरिएको छ । जसअन्तर्गत प्रदेश १ अन्तर्गत धनकुटाको हिले, प्रदेश २ अन्तर्गत सिन्धुलीको खुर्कोट र प्रदेश ३ अन्तर्गत धादिङको गल्छीबाट एक साथ आरम्भ भएको हो ।

धादिङको गल्छीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि काम आरम्भ भएको हो । हरेक स्थानीय तहमा उच्चगतिको ब्रोडब्यान्ड इनटरनेटको पहुँच विस्तार गर्ने योजनाका साथ अप्टिकल फाइबरको विस्तार सुरुवात गरिएको हो ।

दोस्रो फेज सिन्धुली प्याकेजअन्तर्गत फाइबरको विस्तारका लागि चाइनिज कम्पनी चाइना रेलवे र चाइना फिवेल इन्जिनियरिङ कन्स्ट्रक्सन र नेपाली निर्माण कम्पनी आरोग्य कन्स्ट्रक्सनले जेभीमा जिम्मा लिएको छ । जेभीमा भएको निर्माण कार्यलाई आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कामको आरम्भ गरिएको निर्माण कम्पनी आरोग्य कन्स्ट्रक्सनका निर्देशक रोसेन्द्रराज खड्काले बताए ।

फाइबर बिछ्याइसकेपछि मध्य पहाडी लोकमार्गअन्तर्गत पर्ने ३५ जिल्लामा १०० गिगाबिट प्रतिसेकेन्ड ब्रोडब्यान्ड इनटरनेटको पहुँच विस्तार हुने खड्काले बताए । सिन्धुली प्याकेजअन्तर्गत सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे तथा काठमाडौं उपत्यकाका साथै उदयपुर, ओखलढुंगा, सोलुखुम्बुलगायतका जिल्लासम्म फाइबर विस्तार गरिनेछ ।

 

(Visited 44 times, 1 visits today)
Loading comments...