शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

निर्वाचन परिणाम विवादले इन्डोनेसियामा हिंसा

एजेन्सी
5 months ago
22/05/2019

जकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिरिएलगत्तै सुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी घाइते भएका छन् ।

राष्ट्रपतिमा जोको विडोडो पुनः निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका हुन् । सो प्रदर्शनका क्रममा कैयौंलाई पक्राउ गरिएको छ । राजधानी जाकार्तामा मंगलवार विरोध प्रदर्शन भएका थिए । सोही क्रममा प्रदर्शनले हिंसाको रुप लिएको हो ।

प्रदर्शनकारीहरूले गाडीमा आगजनी गर्नुका साथै प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फालेको बताइएको छ । प्रहरीमाथि नै हमलाको प्रयास भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । निर्वाचन परिणामअनुसार विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए ।

जाकार्ताका गभर्नरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पछिल्लो हिंसामा परी ६ जनाको मृत्यु हुनुका साथै २ सय जना घाइते भएको जनाएका छन् ।

इन्डोनेसियाको निर्वाचन आयोगले मंगलबार बिहानै घोषणा गरेको मतपरिणाम अनुसार ५५ दशमलप ५ प्रतिशत मत ल्याएर विडोडो निर्वाचित भएका थिए भने सुबियान्तोले ४४ दशमलव ५ प्रतिशत मत ल्याएको जनाएको छ ।

अगत अप्रिल १७ तारिखमा भएको मतदानमा १९ करोड २० लाख मतदाताले मतदान गरेका थिए । परिणाम घोषणा हुने बेलामा प्राबोवोका हजारौं समर्थकहरू निर्वाचन सुपरिवेक्षण भवनबाहिर भेला भएका थिए । प्रहरीले हटाएपछि उनीहरू जाकार्ता नगरमा अन्य भागमा पुगेका थिए । तर साँझ परेपछि हिंसात्मक प्रदर्शन सुरु भएको थियो ।

स्थानीय टेलिभिजनले महानगरका विभिन्न भागमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्न थालेका भिडिओहरू प्रसारण गरेका छन् । प्रहरी प्रवक्ता देदी प्रासेत्योले हुलदंगामा संलग्न हुने २० जनाभन्दा बढीलाई पक्राउ गरिएको जानकारी दिएका छन् । हिंसा चर्किने त्रास बढेपछि जाकार्तामा ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको छ ।

विपक्षी नेता प्राबोवोले निर्वाचन परिणामलाई अस्वीकार गर्दै आफूले न्यायालयको ढोका ढक्ढक्याउने बताए । तर उनले आफ्ना समर्थकहरूलाई संयम अपनाउन अनुरोध गरेका थिए । अन्तिम परिणाम आउनुअघि उनले व्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचन परिणामविरुद्ध सडक तताउन सक्ने चेतावनी दिएका थिए ।

सन् २०१४ मा विडोडो निर्वाचित भएपछि प्राबोवोले इन्डोनेशियाको संवैधानिक अदालतमा निर्वाचन परिणामविरुद्ध चुनौती दिएका थिए । तर सो मुद्दामा प्राबोवो पराजित भए । धार्मिक मुद्दाले महत्वपूर्ण भूमिका खेलेको यो निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको स्वतन्त्र पर्यवेक्षकहरूको भनाइ छ ।

इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए ।

निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन् । उनले पाँच वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका छन् । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।

(Visited 25 times, 1 visits today)
Loading comments...