बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

आर्थिक समृद्धिका लागि सार्थक सहयोग जरुरी : दाहाल

रासस
4 weeks ago
22/05/2019

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसलाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सार्थक सहयोगको जरुरी रहेको बताएका छन् ।

आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सुगसँग भएको भेटमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताए ।

अध्यक्ष दाहालले भने, ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यवहारिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ ।’
अध्यक्ष दाहालले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचनपश्चात् अबको देशको आर्थिक समृद्धिमा नै एकमात्र लक्ष्य रहेको प्रष्ट्याए ।
देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउदै उनले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याए ।
बेलायतकी मन्त्री सुगले नेपालमा महिलाको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताए ।
उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताए । उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताए अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...