मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

राजदूत नियुक्तिमा अझै अलमल

राजधानी संवाददाता
4 months ago
26/05/2019

काठमाडौं। एक वर्षभन्दा लामो समयदेखि विभिन्न देशमा राजदूत खाली हुँदा पनि सरकारले नियुक्त गर्न सकेको छैन । अमेरिकाबाहेक रिक्त ६ देशमा राजदूत नियुक्त भएका छैनन् । अमेरिकाका लागि राजदूत भएका डा. अर्जुन कार्कीको अर्को व्यवस्था नभएसम्म कार्यविधि थपेकाले तत्काल फिर्ता हुने सम्भावना देखिँदैन । अन्य देशको हकमा भने राजदूतमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल नभएको परराष्ट्र मन्त्रालय स्र्रोतले बतायो ।

सरकारले गत वर्ष पद रिक्त हुनु तीन महिनाअघि नयाँ राजदूत सिफारिस गरिसक्ने कार्यविधि पारित भइसकेको छ । तर, कार्यकाल सकिनु तीन महिनाअघि राजदूत नियुक्ति हुने प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । एक वर्षदेखि ६ देशमा राजदूत खाली हुदाँ पनि सरकारले प्र्रक्रिया अघि बढाउन सकेको छैन ।

सरकारले विवादमा परेकी अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पालाई राजीनामा गर्न लगायो तर त्यहाँ कसलाई पठाउने भन्नेबारे त्यो तय गर्न सकेको छैन । चार महिनादेखि अस्ट्रेलिया राजदूतविहीन छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि अघिल्लो सरकारले राजदूत सिफासिर गरेको स्पेन, बंगलादेश, दक्षिण कोरिया र कतारका राजदूतलाई कार्यक्षमतामा प्रश्न उठाउँदै फिर्ता बोलाइएको छ । कतार, जापान र ओमनका लागि कांग्रेसबाट राजदूत भएको ठाउँमा भने सरकारले तत्काल निर्णय गरेको छैन ।

कांग्रेस कोटाबाट राजदूत भएकामध्ये जापानका प्रतिभा राणा र श्रीलंकाका डा. विश्वम्भर प्याकुरेल तथा विजय गच्छदारको कोटाबाट गएकी ओमनकी राजदूत शर्मिला पराजुली ढकालबारे फिर्ता बोलाउने या यथावत राख्ने भन्ने विषयमा निर्णय भएको छैन । थाइल्यान्डले प्रस्तावित नेपाली राजदूत गणेश ढकालको एग्रिमो नपठाएका कारण सरकारले राजदूत खगनाथ अधिकारीलाई अर्को व्यवस्था नहुन्जेल कार्यावधि बढाएको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...