बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

परिश्रमी वडाध्यक्ष, दूध बेचेर वार्षिक ६ लाख कमाइ

ओपेन्द्र बस्नेत
1 month ago
26/05/2019

 

तुलसीपुर । बिहानै उठ्छु, गाई बाख्रा बाहिर सार्छु,’ तुलसीपुर उपमहागनरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले भने, ‘बूढीले दूध दोएर ठिक्क पारिदिन्छिन् । म मलसोत्तर र घाँसपात गर्छु अनि दूध बोकेर बजार जान्छु ।’
वडाध्यक्ष ढकालले गाउँबाट बजारमा दूध लिएर बिक्री गर्न थालेको १७ वर्ष भएछ । तर, अझै उनी थोकेका छैनन् । वडाध्यक्ष ढकाल दूध, दही, बिक्री गरेर वार्षिक ६ लाख आम्दानी गर्ने गरेको बताउँछन् । वडाध्यक्ष भएर पनि बिहानै उठेर वस्तुभाउको स्याहारसम्भार गर्ने र दूध बोकेर दैनिक बजारमा बिक्री गर्न जाने गर्दा छिमेकीसमेत छक्क पर्ने गरेका छन् ।
२०५९ सालमा देवदहबाट ३२ हजारमा ब्राउन सूइच नामको जर्सी गाई ल्याएर पाल्न सुरु गरेका अध्यक्ष ढकालसँग अहिले होलेस्टेन जातका दुईवटा गाई छन् । हिजोआज गाई बकेर्ना भएकाले बिहान दिएको २० लिटर दूध दोघरेमा रहेको नन्दन डेरी एग्रो टेडर्समा लगेर अध्यक्ष ढकालले बिक्री गर्दै आएका छन् । त्यहाँबाट मात्रै उनले २७ हजार मासिक बुझ्ने गरेका छन् । बिहानको दूध बजारमा लगेर बिक्री गरे पनि साँझको दूध भने घरबाटै बिक्री हुने गरेको उनले बताए । गाईको दूध बजारमा प्रतिलिटर ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको अलवा काँक्रा, करेला, बोडी, लौका, साग, घिरौला बिक्री गरेर पनि करिब १ लाख कमाई गर्छन् । दूधबाट कमाइ भएको पैसाले पुरानो ऋmण तिर्नदेखि छोरालाई जापनामा पढ्न पठाएको र आफूलाई घर खर्च र राजनीतिक रूपमा दौडधुप गर्दा सजिलो भएको उनले सुनाए । दरिलो जोस, जाँगर, मेहनतका साथ लगानी गर्ने हो भने स्वदेशमै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पछिल्लो समय ढकाल बनेका छन् । ‘अब त दुना गाई बकेर्ना पनि भइसके । एउटा जेठ १८ र अर्को भदौ ५ गतेको किलो (ब्याउने) छ,’ अध्यक्ष ढकालले भने,’ एउटा गाईले बिहान र साँझ गरी २५ लिटरसम्म दूध दिन्छ ।’ २०७१ सालमा जिल्ला पशुकार्यालय दाङबाट ७० हजार अनुदानसमेत उनले पाइसकेका छन् ।

ढकाललाई राजनीतिको सहारा गाई पालन नै भएको छ । ‘जागिरबाट मान्छेले रिटायर लाइफ बिताउँछ,’ राजनीति गर्ने मान्छेको पछिको भविष्य के त ? आफू अशक्त भएपछि के गर्ने भन्दा उपाय छैन,’ ढकालले भने– ‘त्यसैले राजनीतिबाट सन्न्यास लिँदा कृषि पेसालाई व्यावसायिक बनाउँछु ।’
राजनीतिमा लागेकाहरूको गाँस, बास, कपासको अवस्था दयनीय र अस्तव्यस्त देख्दा कहिलेकाँही राजनीतिमा बेकार हात हालेजस्तो लाग्ने गरेको बताउने उनले छोरालाई पनि जापानबाट फर्किएपछि कृषि पेसामा नै लगाउने सोच छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कक्षा ४ मा पढ्दै गर्दा २०३९ सालमा भारतको मर्सी आश्रममा वेद पढ्न गएका बेला जर्सी गाईको दूध, कचौरा देखेपछि कृषि पेसातर्फ आकर्षण बढेको हो ।

पशु डाक्टर चाहिँदैन

सुरुका वर्षमा गाई र बाख्रा बिरामी पर्दा पशु डाक्टर बोलाउनु परे पनि पछिल्लो समय भने आफैंले उपचार गर्ने गरेको उनले बताए । लामो समयसम्म पशु पालनमा नै लागेकाले अनुभवका आधारमा लक्षण देखा पर्नेबित्तिकै रोगको पहिचान गर्न सक्ने भएकाले सजिलै गाईबाख्राको उपचार गर्ने गरेको उनले बताए । । ‘बिरामी हुनेबित्तिकै लक्षणका आधारमा रोग थाहा भइहाल्छ,’ अध्यक्ष ढकालले भने, ‘औषधि गर्नेदेखि सुईसमेत आफैं लगाउँछु । पैसा पनि बचैकै छ ।’

(Visited 65 times, 1 visits today)
Loading comments...