मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

भाजपाको पुनः विजयको पाठ

सम्पादकीय
4 months ago
26/05/2019

 

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ३०३ सिट जितेर बहुमतको सरकार निर्माण गर्ने अवसर पाएको छ । यो नतिजा सन् २०१४ मा भाजपालाई प्राप्त भएको चुनावी नतिजाभन्दा २२ सिट बढी हो । भाजपा सत्तारुढ पार्टी पनि हो ।
लोकसभा निर्वाचन कूल ९० करोड मत खसेको थियो । उक्त कुल मतदाताको ६७ प्रतिशत मत भाजपाले प्राप्त गरेको छ । यसको मतसंख्या ६० करोड बराबर हुन आउँछ । यसको सिधा अर्थ हो, ९० करोड कुल मतदातामध्ये ६० करोड मतदाताले भाजपालाई मन पराए । मोदीले पन्ध्रौं प्रधानमन्त्रीका रूपमा पनि निरन्तरता पाउने भएका छन् ।

भारतमा सत्तारुढ दलले फेरि पनि बहुमत प्राप्त गर्नुलाई विश्वका राजनीतिज्ञ तथा राजनीति विश्लेषकले निकै रुचिपूर्वक अध्ययन र विश्लेषणको विषयवस्तु बनाएका छन् । भाजपा गठबन्धनमा जोडिएका दलमध्ये शिव सेनाले १८, जनता दल युनाइटेडले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई÷दुई तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक÷एक सिट प्राप्त गरेका छन् । शिव सेना र युनाइटेडले क्रमशः १८ र १६ सिट हासिल गर्नुमा पनि भाजपाको प्रभाव र सहयोगले ठूलो काम गरेकोमा दुई मत छैन ।

अर्कातर्फ, विपक्षी पार्टीको गठबन्धन भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिट मात्रै आफ्नो पोल्टामा पार्न सफल भएको छ । यो पनि अघिल्लोपटकको लोकसभा निर्वाचनको तुलनामा ८ सिट बढी हो । कांग्रेस  नेतृत्वको यूपीए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । गठबन्धनमा आबद्धमध्ये बिदा मुन्नेत्र काझागमले २३, नेसन लिस्ट कंग्रेस पार्टीले ५ र इन्डियन युनियन मुस्लिम लिगले ३ सिट हात पारेका छन् ।
निर्वाचन परिणामपछि भाजपा र गठबन्धनमा आबद्ध पार्टीले देशव्यापी रूपमा विजय ¥याली निकालेका छन् भने भारतीय राष्ट्रिय कांग्रेस र यसको गठबन्धनले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरी आफूले पाएको विपक्षी जनादेशलाई अघि बढाउने योजना बनाएको छ ।

भारतमा सत्तारुढ दल र त्यसमा पनि हिन्दु धर्म आफ्नो आदर्श मान्ने दल यति ठूलो मतसाथ किन अनुमोदित हुन पुग्यो त ? यसका पछाडि धेरै विषय छन् । देश र जनताका लागि अन्य दलभन्दा भाजपाले केही न केही जनसेवामुखी काम गरेको स्पष्ट भान हुन्छ । नेतृत्वका हिसाबले भारतको समकालीन नेताहरूमा मोदीको प्रतिस्पर्धी भएर उभिने गरी अरू दलका नेताको वैचारिक प्रौढता, परिपक्वता, गाम्भीर्य र कार्यनीति गतिलो नभएको पनि प्रस्ट हुन्छ ।
त्यस्तै, मोदीले लिएको बाटो र सपना आफैंमा मनोवैज्ञानिक, विशिष्ट र केही बढी प्रभावकारी छ । विश्वमा अहिले स्वरूपमा प्रजातन्त्र र प्रजातान्त्रिक क्रिया प्रक्रियाका कुरा भए पनि अन्तर्यमा क्षेत्रीयता र धार्मिकताजस्ता आत्मिक र भौगोलिक पहिचानका विषयले केही विशाल स्थान ग्रहण गर्दै आएको छ । क्रिस्चियानिटीको बढ्दो अतिक्रमण र हिन्दु सभ्यताको अस्तित्वको खतरा धार्मिक तथा सांस्कृतिक रूपमा भारतीय जनताका लागि निकै पीडाको विषय हो ।

यसैसँग अर्कोतिर मोदीले उठाएको राष्ट्रियताको कुरा भौगोलिकभन्दा पनि हिन्दु सभ्यता भर्सेस मुस्लिम सभ्यता र मूलतः छिमेकी देश पाकिस्तानसँगको ‘टसल’ र ‘टेन्सन’ का कारणले पनि बढी नै ‘क्यास’ हुन पुगेको देखिन्छ । यो अन्तर्राष्ट्रिय रूपमा सभ्यताबीच आत्मिक, भावनात्मक र पहिचानका हिसाबले देखापरेको विषय हो । यी सबैका लागि मोदी र मोदीसँग रहेका नीति निर्माताले निकै कलात्मक र स्पष्ट कार्यनीतिसहित स्वादिलो र रंगीन वातावरण निर्माण गर्दै राजनीतिक एजेन्डाका रूपमा जनतामाझ पस्किदिए । भारतीय समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधको मिहिन अध्ययन गरेर मोदीले चुनावी माहोलसँगै हिन्दुको एजेन्डा घुसाइदिए । त्यसैको परिणामस्वरूप भाजपाले बहुमत ल्याएकोे हो ।
मोदीले धेरै मात्रामा जनमुखी कामसमेत गरेर जनताको मन जित्न सफल भएकाले उनले अपार विजयी हासिल गरेका हुन् । मोदीको यो विजयीसँगै नेपालका प्रधानमन्त्रीले पनि जनताको हितमा समर्पित भएर लाग्नुपर्ने पाठ सिक्न जरुरी छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...