बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

कम्युन चलेको गाउँ अब नमुना संग्रह

चिना बि क
2 months ago
08/06/2019

 

रुकुम ।   रुकुम पुर्ब सानो र मिलेको गाउँ भएकाले हरेक गतिविधिमा सबै गाउँलेलाई जोड्न सकिने भएकाले छिपखोलाको विकास निर्माण तथा अन्य कार्यक्रमलाई सामूहिक रूपमा गराइने र त्यसबाट सामूहिकताको विकास गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि आवश्यक आधारभूत काम सुरु भएको छ । छिपखोलालाई नमुना गाउँ बनाइने भएको छ । सिस्ने गाउँपालिका–२ मा पर्ने छिपखोलाका सम्पूर्ण गतिविधि सामूहिकतामा र नमुना बनाउने गरी काम सुरु गरिएको हो । स्थानीय, प्रदेश र संघीय सरकारले यसका लागि आवश्यक बजेट विनियोजन गर्ने भएका छन् । कुन क्षेत्रमा के गर्दा नमुना काम हुन्छ र बढी सामूहिक बन्न जान्छ भनेर विज्ञसहितको टोलीले छिपखोलाको स्थलगत अनुगमन तथा भ्रमण समेत गरेको छ ।

स्थानीयसँगको अन्तर्त्रिया र छिपखोलाको तल्लो भेगदेखि माथिल्लो लेकाली क्षेत्रमा हुन सक्ने खेती, माटो तथा अन्य प्राकृतिक स्रोतको विषयमा समेत विज्ञ टोलीले अध्ययन सकेको छ । छिपखोला मिलेको गाउँ भएकाले यसलाई नमुना गाउँ बनाउने गरी आवश्य काम भइरहेको वडाध्यक्ष जीवन केसीले बताए । त्यसको पहिलो प्रयास स्वरूप छिपतरामा सामूहिक तरकारी खेती र छिपखोलामा सामूहिक ओखर खेती सुरु गरिएको उनले बताए । खेतीपाती, उत्पादनदेखि शिक्षा र दैनिक कामकाजसमेत नमुना बनाउनका लागि स्थानीयबासीका साथै गाउँपालिका, प्रदेश र संघीय सरकारसँग छलफल भइरहेको बताए । ‘यो पहिला पनि नमुना गाउँ थियो,’ वडाध्यक्ष केसीले भने, ‘सानो र थोरै जनसंख्या भएकाले नमुना गाउँका लागि उपयुक्त छ भनेर तीनवटै सरकार सकारात्मक छन् ।’ त्यसका लागि आधारभूत आवश्यकताका रूपमा रहेको ४० किलोवाट क्षमताको विद्युत् गृह निर्माण भइरहेको छ भने छिपखोलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी संचालनमा ल्याइएको छ । छिपखोलासहित जिल्लाका अन्य केही ठाउँ नमुना बनाउने आधारपत्र तयार भइरहेको पूर्वमन्त्री गणेशमान पुनले बताए ।

अन्य गाउँसँगै छिपखोलाको विशेष महत्त्व रहेको भन्दै उनले यसअघि नै सामूहिकताको अभ्यास गरिसकेको हुनाले छिपखोलालाई नमुना बनाउन लागिएको बताए । पुनकै नेतृत्वमा स्थलगत अध्ययन तथा अवलोकनका लागि आएको विज्ञसहितको टोली हाल नमुनाका लागि गर्न सकिने कामको आधार तयार पारिरहेको छ । पुनकै नेतृत्वमा उक्त ठाउँमा कम्युन र जनवादी विद्यालय सञ्चालन भएको थियो । कम्युन सञ्चालनका क्रममा छिपखोलावासीले सामूहिकताको अभ्यास गरिसकेकाले काम गर्न सजिलो हुने निष्कर्ष निकालिएको छ । छिपखोलामा ४० घरधुरी छन् । यहाँ तत्कालीन नेकपा माओवादी जनसत्ताले बलिदान जनकम्युन र वासु स्मृति नमुना विद्यालय सञ्चालन गरेको थियो ।

त्यसअघि बाल विकासका रूपमा रुकुम पश्चिमको चौरजहारी अर्थात् साबिकको पूर्तिमकाँडा गाविसमा विद्यालय सञ्चालन गरिएको थियो । मुलुकमा शान्ति स्थापनापछि बलिदान जनकम्युन टिक्न सकेन भने विद्यालय भूमे गाउँपालिका अर्थात् साबिकको मोराबाङ गाविसको क्याङसीमा सारिएको थियो । पार्टीले योजना दिन नसक्दा र खास ध्यान नदिएका कारण समस्या भएको पुनको दाबी छ । ‘स्थानीय मिलेरै बस्नुभएको थियो । सामूहिक रूपमा उत्पादन गर्नुहुन्थ्यो । त्यसको प्रयोग पनि त्यसरी नै भएको थियो,’ उनले भने, ‘तर सरकारी स्तर र पार्टीबाट सहयोग नमिल्दा त्यो भताभुंग भयो । अब यसलाई फेरि जोड्ने गरी कार्यक्रम बनिरहेका छन् ।’ तरकारी, मौरी, ओखर, टिमुरलगायतको सम्पूर्ण खेती सामूहिक गरिने योजना बनाइएको छ । त्यसका लागि विज्ञ टोलीले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेपछि आवश्यक काम अघि बढाइनेछ । ३ लाख ५० हजार रुपैयाँ खर्चेर छिपखोलाको सम्पूर्ण अध्ययन गरिएको थियो भने त्यसैबाट नमुना गाउँ बनाउन विस्तृत प्रतिवेदन तयारीको काम पनि भइरहेको छ ।

(Visited 25 times, 1 visits today)
Loading comments...