बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

उत्तर कोरियामा मृत्युदण्डस्थलको पहिचान

एजेन्सी
3 months ago
11/06/2019

प्योङयाङ । उत्तर कोरियाले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युलण्ड दिएका ३ सय १८ स्थानको पहिचान भएको दक्षिण कोरियाको एउटा गैरसरकारी संस्थाको दाबी सार्वजनिक भएको छ ।

ट्रान्जिशनल जस्टिस वर्किङ ग्रुपले आफ्नो प्रतिवेदनका लागि चार वर्षको अवधिमा उत्तर कोरियाबाट भागेका ६ सय १० जनासँगको अन्तर्वार्ताका आधारमा सो कुरा बताएको हो ।

यसरी मृत्युदण्ड पाउनेहरुमा गाई चोरी गरेकोदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा समेत उत्तर कोरियालीले मृत्युदण्ड पाएका घटना सो प्रतिवेदनमा समेटिएका छन् ।

सो समूहका अनुसार उत्तर कोरियाली सरकारले नदीको किनार, खेत, विद्यालय र खेलकुद मैदानहरूमा समेत सर्वसाधारणलाई मृत्युदण्ड दिने गरेको पाइएको छ ।

मंगलवार सार्वजनिक ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको हेर्न हजारभन्दा बढी सर्वसाधारण समेत जम्मा हुने गरेका बताइएको छ ।

यसरी मृत्युदण्ड पाउनेका परिवारका सदस्यलाई समेत कतिपय घटनामा प्रत्यक्ष रुपमा हेर्न बाध्य पारिएको दाबी गरिएको छ ।

मानिसहरूमा बयान अनुसार सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको घटना हेर्ने सबैभन्दा कान्छो सात वर्षका छन् । जेल र श्रम शिविर तथा बन्दीगृहमा पनि मृत्युदण्ड दिइन्छ ।

त्यस्ता बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसहरूलाई खानी उत्खनन् र रुख कटानीजस्ता शारीरिक श्रम गर्न लगाउने गरिन्छ ।

एकजना भगौडाले सन् २००० को शुरूवाततिर एउटा श्रम शिविरमा तीनजना महिलाको हत्या गरिएको दृश्य हेर्न ८० जना कैदीलाई बाध्य पारिएको दाबी गरेको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । भागेर चीन जाने कोशिस गरिरहेका महिलाहरुलाई मृत्युदण्ड दिइएको थियो ।

उनीहरुका अनुसार मृत्युदण्ड दिने क्रममा सुरक्षा मामिलासम्बन्धी मन्त्रालयका एक अधिकारीले भीडलाई भने, ‘तिमीहरूलाई पनि यस्तो हुन सक्छ ।’ प्रतिवेदनमा भनिएको छ, ‘डर पैदा गराउने र सत्ताले मन नपराउने कुरा गर्नबाट नागरिकलाई निरुत्साहित गर्ने एउटा महत्वपूर्ण तरिका मृत्युदण्ड हुने गरेको छ ।’

भगौडाहरूले उत्तर कोरियामा अधिकांश मृत्युदण्ड गोली हानेर दिइने गरेको उल्लेख गरेका छन् । प्रायः तीन जनाले आरोपित व्यक्तिलाई तीन–तीन राउण्ड गोली हान्ने गर्छन् ।

अन्तर्वार्ता दिएकामध्ये एक जनाले भने, ‘मृत्युदण्ड दिनेहरू कहिलेकाहीँ रक्सी खाएकोजस्तो देखिन्थे । किनभने हत्या भावनात्मक रूपमा गरिने एउटा कठिन काम हो ।’ एउटा सानो समूहलाई सार्वजनिक रूपमा मारिएको पनि बताइएको छ ।

प्रतिवेदन लेख्नेमध्येकी एक इथन शिनको भनाई उदृत गर्दैै समाचार संस्था एएफपीले लेखेको छ, ‘सार्वजनिक रूपमा मृत्युदण्ड दिने प्रवृत्ति घट्दो संख्यामा रहेको देखिन्छ । तर अरू सामान्य राज्यले जस्तै पहिचान खोजिरहेकोले प्योङयाङले गोप्य रूपमा त्यो गरिरहेको हुन सक्छ ।’

उत्तर कोरियामा केही वरिष्ठ अधिकारीहरुलाई समेत मृत्युदण्ड दिने गरेको पाइन्छ । केही वर्षअघि राजद्रोहको अभियोगमा नेता किम जोङ–उनका फुपाजुलाई कुकुरलाई टोकाएर मृत्युदण्ड दिइएको थियो ।

यद्यपि उत्तर कोरियामा मृत्युदण्ड दिइएका कुरा पुष्टि गर्न एकदमै कठिन छ । केही समयअघि मृत्युदण्ड दिइएको भनिएका नेता गत साता नेता किमसँगै एक सांगितिक कार्यक्रम हेर्न उपस्थित भएका थिए ।

सन् २०१३ मा उत्तर कोरियाकी लोकप्रिय गायिका ह्योङ सङ–वोललाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको विवरण सार्वजनिक भएको थियो । एउटा दक्षिण कोरियाली पत्रिकाका अनुसार ‘सांगीतिक कार्यक्रम चलिरहँदा उनीमाथि गोली हानिएको थियो ।’

तर सन् २०१८ मा शीतकालीन ओलम्पिकका क्रममा दक्षिण कोरिया गएको उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग उनी सहभागी भएकी थिइन् ।

(Visited 442 times, 1 visits today)
Loading comments...