बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

चुस्तदुरुस्त सांगठनिक संरचना बनाउँदै राजपा नेपाल

सुभाष साह
3 months ago
12/06/2019

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले पार्टी संरचनालाई चुस्तदुरुस्त बनाउने भएको छ । भद्रगोल रहेको पार्टी संरचनालाई सच्याउँदै राजपाले सानो आकारको कमिटी बनाउने तयारी गरेको छ । राजपा नेपालको अहिले केन्द्रीय पदाधिकारी १३६ र केन्द्रीय कमिटी ८१५ सदस्यीय रहेको छ । यसलाई घटाउँदै अब केन्द्रीय पदाधिकारी २५ र केन्द्रीय कमिटी १७१ सदस्यीय हुने भएको छ ।

राजपा नेपालले गठन गरेको विधान मस्यौदा समितिले विधानको प्रस्ताव अध्यक्ष मण्डललाई बुझाउँदै यस्तो संरचना हुनुपर्ने उल्लेख गरेको छ । लक्ष्मणलाल कर्णको अध्यक्षतामा रहेको मस्यौदा समितिले २५ पदाधिकारीसहितको १७१ सदस्यीय केन्द्रीय कमिटी रहने विधान तयार गरी अध्यक्ष मण्डललाई बुझाएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव ३, उपमहासचिव ७ सचिव ३, कोषाध्यक्ष १, प्रवक्ता ३ र आवश्यकताअनुसार वरिष्ठ नेता राख्ने प्रस्तावमा उल्लेख गरिएको राजपा नेपाल स्रोतले जनाएको छ । पदाधिकारीसहित १७१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था रहनेछ । अध्यक्षले केन्द्रीय सदस्य संख्याको ३० प्रतिशत सदस्य मनोनीत गर्न सक्ने प्रस्ताव गरिएको छ । तर, मनोनीतका विषयमा समितिका सदस्यकैबीच फरक मत रहेको छ ।

समितिका मालामति राना थारू, हरेन्द्र यादव, राजकुमार थापा, रामलाल सुतिहार, मानध्वज ब्लोन तामाङ, अकबाल अहमदले अध्यक्षले ३० प्रतिशत नभई ५ प्रतिशत मनोनीत गर्न पाउनुपर्ने फरक मत राखेका छन् । ५ प्रतिशत मनोनीत गर्दा अध्यक्षले नभई केन्द्रीय कमिटीले मनोनीत गर्न पाउने मत उनीहरूको छ । साथै निर्वाचन गर्दा होस् वा मनोनीत गर्दा सबै जात, धर्म, लिंग, समुदायलाई कलस्टर छुट्याउनुपर्ने व्यवस्था हुनुपर्ने भन्दै उनीहरूले फरक मतसहितको प्रतिवेदन बुझाएका छन् ।
तर, समितिका संयोजक कर्ण तथा सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ला र केशव झाले ३० प्रतिशत मनोनीत अध्यक्षले गर्न पाउने, निर्वाचन वा मनोनीत गर्दा क्लस्टर छुट्याउनुनपर्ने मतसहितको प्रतिवेदन बुझाएका छन् ।

 

राजपा नेपाल अध्यक्ष मण्डलका पूर्वसंयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणाली नभई अध्यक्षीय व्यवस्थाअनुसार हुने बताए । २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

पार्टीको विधानको ‘धारा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा अब उपरान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अघि बढ्ने व्यवस्था हुनेछ’ भन्ने संशोधन भइसकेको छ ।७ वैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विभिन्न ६ मधेसवादी दलका बीचमा एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो । ती ६ वटै दलका संयोजकहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डलको संयोजक हँुदै आएका छन् । अहिलेसम्म पार्टी चक्रीय प्रणालीअनुसार आलैपालो अध्यक्ष हुने व्यवस्था रहेकोमा महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाँदै छ ।

(Visited 43 times, 1 visits today)
Loading comments...