बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

मोटरबाटो निर्माणलाई प्राथमिकता दिएका छौं

नवीन लुइँटेल
1 week ago
12/06/2019

 

वीरबहादुर लोप्चन, अध्यक्ष, बाग्मती गाउँपालिका, ललितपुर

 

ललितपुरको दक्षिणी भेगमा अवस्थित बाग्मती गाउँपालिका प्राकृतिक स्रोतसाधन र सौन्दर्यले भरिपूर्ण छ । वातावरणीय संरक्षणलाई ध्यान दिँदै यो गाउँपालिकामा रहेका सबै वडाका बस्तीलाई जोड्नका लागि मोटरबाटो निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाइएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवासुविधा पहिलो प्राथमिकतामा राखी चुनावी घोषणा पत्रअनुसार जनताका घरदैलोमा पुग्न अथक प्रयास गरिरहेका गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनसँग पालिकाको विकास निर्माण, सम्भावना र चुनौती सम्बन्धमा केन्द्रित रही राजधानीकर्मी नवीन लुइँटेलले गरेको कुराकानीको सम्पादित अंश :

बाग्मती गाउँपालिकाले पछिल्लो समय केकस्ता काम गरिरहेको छ ?

आर्थिक उन्नतिका पहिलो पाटोका रूपमा रहेको विकास निर्माणअन्तर्गत सडक–बाटोलाई प्राथमिकता दिएर अघि बढेका छौं । हामीले बस्तीबस्तीमा बाटो निर्माण गरिरहेका छौं । भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक सामग्री पु¥याउन पनि बाटो आवश्यक देखिएकाले हामीले प्राथमिकता दिएका हौं । यसैगरी, खानेपानीको सहज पहुँच पु¥याउने प्रयास थालेका छौं । एक घर एक धारा भन्ने नारासहित काम गरिरहेका छौं । हरेक वडामा खानेपानीका कार्यक्रमका योजना आइरहेका छन् । १ नम्बर वडामा करिब ५६ घरपरिवारलाई हुने गरी खानेपानीको व्यवस्था गरेका छौं । तीनपाने भन्ज्याङमा कृषि प्रवद्र्धनका लागि कान्तिलोकपथसँग जोडिएको स्थानमा तरकारी संकलन केन्द्र गराउने प्रयास गरेका छौं ।

विकास निर्माण गरिरहँदा वातावरणीय पक्षलाई कत्तिको ध्यान दिइएको छ ?

हामीले वातावरणीय पक्षलाई ध्यान दिएका छौं । विकास निर्माणबिना राष्ट्र चल्न सक्दैन । यसरी गरिने विकास निर्माणमा वातावरणीय पक्षलाई विशेष ध्यान दिनुपर्छ । हामीले सडक बाटो बनाउने क्रममा छेउछाउका रूख बिरुवालाई कम क्षति गरेका छौं । पहिरो जाने सम्भावना देखिएका स्थानमा विकास निर्माण गर्दा विशेष ख्याल पु¥याएका छौं ।

बजारीकरण कसरी हुन्छ ?

यहाँ उत्पादित तरकारी, खाद्य वस्तु तथा दुग्धपदार्थलाई संकलन गरी बजारीकरण गरिन्छ । तिनपाने नजिकै भएको संकलन केन्द्रमा दही, घिउ, खुवा आदि बनाइन्छ । अनि ब्वाइल प्लान्टमा हालेर संकलित दूधलाई वितरणका लागि तयार पारिन्छ ।

 

यातायातको व्यवस्थापन कसरी भएको छ ?

अहिले बिहान र बेलुका गरी दुई पटक सार्वजनिक यातायातको प्रयोग भइरहेको छ । गिम्दी, आस्राङलगायतका स्थानबाट सवारीसाधन आउँछ । यस्तै कान्ति लोकपथको ७० प्रतिशतभन्दा बढी कालोपत्रे भएको अवस्था छ ।

कान्ति लोकपथबाट फाइदा लिने सम्भावना ?

कान्ति लोकपथ घुम्तीहरू नभएको कम जोखिम भएको सडक हो । छोटो र छिटो राजधानीका बजार आउन सकिने भएकाले पूर्वबाट आउने गाडीहरू पनि यही बाटो भएर आउने सम्भावना बढेर जाँदा यसबाट पनि फाइदा लिन सकिन्छ । आर्थिक सम्भावनाका बाटाहरू बढ्न सक्छन् । पर्यटन र व्यापार–व्यवसाय फस्टाउन सक्छ ।

आउने आर्थिक वर्षका लागि बजेटको तयारी कस्तो छ ? के–केमा प्राथमिकता दिनुभएको छ ?

पहिलो त, हामीले बाटो निर्माण गरिसक्यौं । अबको बजेटमा हामीले कृषि र पशुपालनलाई जोड दिएका छौं । कृषकको आर्थिक उपार्जन बढाउने दिशातर्फ हामीले ध्यान दिएर विभिन्न कार्यक्रम ल्याउने तयारी गरेका छौं । उचित बजारीकरणदेखि लिएर गाईभैंसी, कुखुरापालन, फलफूल र तरकारी खेतीमा जोड दिएका छौं ।

के कस्ता कार्यक्रम छन् त ?

हामीले डेढ रोपनीदेखि पाँच रोपनीसम्म र पाँच रोपनीदेखि १० रोपनीसम्म तरकारी खेती गर्ने कृषकलाई केही अनुदान दिनका लागि कार्यक्रम बनाएका छौं । पशुपालनतर्फ पाँचदेखि १० वटासम्म गाईभंैसी पाल्नेलाई पनि केही अनुदानको व्यवस्था गरेका छौं । यस्तै व्यावसायिक ढंगले कृषि गर्नेलाई प्रोत्साहन दिँदै तिनीहरूले लिएको ब्याजमा अनुदान दिने कार्यविधि बनाइएको छ ।

यहाँ सम्भावना के–के छन् ?

वडा नम्बर ३ भट्टेडाँडाको सातकन्ने भन्ने स्थान पर्यटकीय दृष्टिकोणबाट महŒवपूर्ण छ । यहाँबाट हिमाल, तराईका साथै उपत्यकाको रमणीय दृश्य देख्न सकिन्छ । काठमाडौं, भक्तपुर, ललितपुरको सहरी भेगबाट यहाँ घुम्नका लागि मानिसहरू आउँछन् । त्यहाँ पिकनिकका लागि स्पटहरू बनाइएका छन् । डेस्टिनेसन माझखण्ड प्रालिले वडा नम्बर ५ इकुडोलमा केबलकार बनाउन लागिरहेको छ । त्यहाँ होमस्टे बनाउन लागिएको छ । यहाँ पनि पर्यटन प्रवद्र्धनमा अघि बढेका छौं । यस्तै ६ मेगावाटको खानीखोला हाइड्रोले विद्युत् उत्पादन गरिरहेको छ । माल्टा र घुसेल जोड्ने स्थलमा मान्डो हाइड्रोले २२ मेगावाटको बिजुली निकाल्न सुरु गरेको छ । यसको उचित सदुपयोग भएर प्रयोग हुन सुरु भए ललितपुरलाई बिजुली पुग्ने सम्भावना छ ।

 

 

प्युटारमा एउटा स्तरीय फुटबल मैदानको विकास गरिएको छ

बर्थिº सेन्टर पनि खोलिएको छ

विद्यालयमा ‘ई–हाजिरी’को कार्यक्रम सुरु गरिएको छ

समायोजन भएपछि झन् कर्मचारीको अपुग छ

चुनावी घोषणा पत्रअनुसार काम गरिरहेका छौं

 

 

तपाईं गाउँपालिकाको अध्यक्ष भएर आएको दुई वर्ष भइसकेको छ, चुनावी प्रतिबद्धता कत्तिको पूरा गर्नुभयो ?

चुनावअघिका मेरा प्रतिबद्धता लगभग पूरा हुने चरणमा छन् । सडक, यातायात, पूर्वाधार, शिक्षा, कृषिलगायतका ७५ प्रतिशत काम भएका छन् । तर कति भर्खरै सुरु भएका पनि छन् । जति गरेका छौं, राम्रै भएको छ । दीर्घकालीन रूपमा गर्नुपर्ने काम बाँकी छन् । हामीले बनाएका बजेट पनि चुनावी घोषणापत्रअनुसार नै भएका छन् ।

कर्मचारी समायोजनले कस्तो प्रभाव पारेको छ ?

कर्मचारी हुनुपूर्व गाउँपालिकामा त्यति समस्या थिएन तर समायोजन भएपछि धेरै समस्या आएको छ । समायोजन भएपछि अपुग रहेका कर्मचारी पूर्ति हुन्छ भनेको त झन् अभाव नै भएको छ । सात जना कर्मचारी सरुवा भएपछि मात्र दुई जना कर्मचारी यहाँ आउनुभयो । वडा कार्यालयमा सचिवको अभाव छ, जसले गर्दा दैनिक काम गर्न नै अप्ठ्यारो भएको छ । पहाडी भूभाग भएको विकट मानिने बाग्मती गाउँपालिकामा कर्मचारीले जान पनि मन नगरेको पाइएको छ ।

त्यसो भए के गर्नुप¥यो त ?

कि सरकारले छिटोभन्दा छिटो कर्मचारी पूर्ति गर्नुप¥यो, नभए स्थानीय तहलाई नै करारमा कर्मचारी राख्न दिनुप¥यो ।
वर्षायाम सुरु हुनै लाग्दा पानीले पनि बाटो बिग्रिएका र भत्किएका छन्, के छ गाउँपालिकाको धारणा ?
केही गरी बाटो बन्द भइहालेमा खुलाउनका लागि मेसिन तयारी अवस्थामा छन् । तरकारी, दूध आदि लैजान र यात्रुलाई आउजाउ गर्न दिन हामी गम्भीर भएर लागेका छौं ।

भूकम्पपछिको पुनर्निर्माण सकियो त ?

लगभग पुनर्निर्माणको काम सकिएको छ । करिब ८० प्रतिशत भूकम्पले क्षतिग्रस्त घरहरू निर्माण
भइसकेका छन् ।

शिक्षाको अवस्था कस्तो छ ?

गाउँपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै गएको अवस्था छ । विद्यालयमा पढाइ सुचारु गर्न विभिन्न १० वटा विद्यालयमा ‘ई–हाजिरी’को कार्यक्रम सुरु गरिएको छ । शिक्षकका लागि आफूले विद्यालयमा रहँदा गरिने क्रियाकलापको रेकर्ड राख्न शिक्षक डायरीको कार्यक्रम पनि सुरु भएको छ । बीचबीचमा काम भए नभएको अनुगमन पनि गाउँपालिकाले गर्न थालेको छ । ‘टिच फर नेपाल’ नामक संस्थाले शिक्षाको विकासका लागि काम सुरु गरेको छ । गाउँपालिकाभर एकरूपता होस् भनेर शैक्षिक क्यालेन्डर पनि प्रकाशित गरेका छौं ।

स्वास्थ्यको अवस्था कस्तो छ ?

बाग्मती गाउँपालिकामा दुईखाले भूगोल छ । एउटा माथिल्लो र अर्को तल्लो बेल्ट छ । यहाँ ल्याबसहितको एक जना चिकित्सक रहेको अस्पताल खोलेका छौँ । प्रदेशको सहयोगमा खोलिएको अस्पतालमा एक्सरे, ईसीजीलगायतका मेसिन छन् । यसको कर्मचारी व्यवस्थापन गाउँपालिकाले नै गरेको छ । ४ स्थानमा बर्थिङ सेन्टर पनि खोलिएको छ ।

खेलकुदका पूर्वाधार कत्तिको छन् ?

हरेक वडामा एउटा एउटा मैदान रहेको छ । तैपनि गाउँपालिकाभित्रका वडास्तरीय फुटबलका लागि प्युटारमा एक स्तरीय फुटबल मैदानको विकास गरिएको छ । खेल र खेलाडीबाट नै राष्ट्रको पहिचान हुने भएकाले हामीले यसपाली ल्याउन लागिएको बजेटमा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएर ल्याउँदै छौं ।

 

 

(Visited 341 times, 1 visits today)
Loading comments...