शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

एक सातामै कुलेखानी तेस्रोको विद्युत् उत्पादन

2 months ago
12/06/2019

काठमाडौं ।  कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले एक सातामा विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको कार्य पनि ९९ प्रतिशत नै सम्पन्न भएको छ ।

प्राधिकरणको प्रवद्र्धनमा रहेको निर्माण भइरहेका दुवै आयोजनाको सिभिल निर्माण कार्य सम्पन्न भएर विद्युत् उत्पादनपूर्व गरिने परीक्षण जारी रहेको प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिलकुमार ढुंगेलले बताए ।

मकवानपुरको भीमफेदीमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको पहिलो युनिटको आइतबार सफल परीक्षण भएको छ । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

आयोजनाको निर्माण अवधि बढेसँगै आयोजना निर्माणको लागत पनि बढेर हालसम्म ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको ढुंगेलले बताए । आयोजनाबाट वार्षिक लगभग ४० दशमलव ६५ गिगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । यसमा कुलेखानी १, २ र ३ एकैपटक सञ्चालनमा आई क्षमता वृद्धि हुने उनले बताए ।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली–३ ए’ आयोजनाले ३० मेगावाटको दोस्रो युनिटको एक साताभित्रै विद्युत् उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

कुल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले ३०÷३० मेगावाट विद्युत् पहिलो र दोस्रो चरणमा गरी उत्पादन गर्ने आयोजनाको पहिलो युनिटको विद्युत् उत्पादन यसअघि वैशाखमा नै भइसकेको छ । आयोजनाको दोस्रो युनिटको निर्माण कार्य पनि ९९ प्रतिशत सम्पन्न भएको ढुंगेलले बताए ।

उनले भने, ‘अहिले इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल कार्य सम्पन्न भएर उत्पादन परीक्षणको काम भइरहेकोे छ । यसमा जेनेरेटरको परीक्षण, टनेल परीक्षण, पेनस्टको परीक्षण, कन्ट्रोल सिस्टम परीक्षणलगायतका परीक्षण भइसकेका र केही भइरहेको छ ।’

नौ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवादलगायतका कारणले ढिलाइ भएको होे । दोस्रो युनिटबाट असारभित्रमा विद्युत् उत्पादनको लक्ष्य राखिएकोमा लक्ष्यअनुसार नै आयोजना सम्पन्न हुने चरणमा पुगेको ढुंगेलले बताए ।

 

 

(Visited 69 times, 1 visits today)
Loading comments...