बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

बालगोपाललाई पुरुष र हरिलाई महिला टोलीको जिम्मेवारी

राजधानी समाचारदाता
1 week ago
12/06/2019

 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष टोलीको प्रशिक्षण जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको छ ।

साफ च्याम्पियनसिप र बंगबन्धु गोल्डकपमा राष्ट्रिय टोलीका प्रशिक्षकका रूपमा रहेका बालगोपाल पछिल्लो समय स्विडिस प्रशिक्षक योहान कालीनको आगमनसँगै जिम्मेवारीमुक्त रहेका थिए । एन्फाले उनलाई यू–२३ टोलीको जिम्मा दिएको छ । यसअघि उनले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटमा पनि टोलीको प्रशिक्षण सम्हालेका थिए । उनीसँगै सहायक प्रशिक्षक राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् ।

महिलातर्फ राष्ट्रिय टोलीका प्रशिक्षक हरि खड्काले जिम्मेवारी निरन्तर पाएका छन् । उनलाई सहायक प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक अस्मिता खवासले साथ दिनेछन् ।

एन्फाले उमेर समूहको टोलीका लागि पनि प्रशिक्षक नियुक्त गरेको छ । पुरुष यू–१६ को मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायकमा राजकुमार केसी र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल रहेका छन् । पुरुष यू–१८ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहनेछन् । यू–१५ महिला टोलीको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलरक्षक प्रशिक्षकमा मिन बस्नेत नियुक्त भएका छन् ।

एन्फाले बुटबल एकेडेमीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरिओम श्रेष्ठलाई सुम्पिएको छ । उनलाई सहायक प्रशिक्षक पुकार गहतराज र गोलरक्षक प्रशिक्षक दिलीप क्षत्रीले साथ दिनेछन् । धरान एकेडेमीमा सुमन श्रेष्ठले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । उनी प्रदेश १ को पनि प्रशिक्षक रहनेछन् । प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा विनोद लामा, गण्डकी प्रदेशमा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी तथा प्रदेश ६ र सूदुरपश्चिमको प्रशिक्षकमा दिपेश योन्जनले प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

 

(Visited 20 times, 1 visits today)
Loading comments...