बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

ट्रम्पको असावधानीले बाहिरियो सहमतिको विवरण

एजेन्सी
7 days ago
12/06/2019

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको असावधानीका कारण गत साता भएको अमेरिका र मेक्सिकोबीचको सहमतिको केहीभाग बाहिरिन पुगेको छ ।

मेक्सिको र अमेरिकाबीच गत साता आप्रवासीको अमेरिका प्रवेश रोक्ने र अमेरिकाले मेक्सिकोमाथि कर वृद्धि नगर्ने सहमति भएको थियो ।

यो सहमतिको विस्तृत विवरण दिन दुवै देशका नेताले अस्वीकार गरेका थिए । ट्रम्पले पनि यो सहमतिबारे पत्रकारलाई केही बताउन मानेनन् ।

मेक्सिकोलाई सही समयमा सो सहमतिबारे घोषणा गर्न दिन आफूले चाहेको बताएका थिए । तर उनले त्यसो भनिरहँदा उनको हातमा एउटा कागजको पाना हल्लाइरहेका थिए ।

सो कागजको पाना मेक्सिकोसँग भएको सहमतिको भाग थियो । सो क्रममा खिचिएको फोटोमा नै सहमतिका बुँदा कैद भएको उनले पत्तो पाएनन् ।

सो सहमतिमा शरणको विषयमा एउटा क्षेत्रीय योजनाको चर्चा गरिएको छ । सो योजनामा अमेरिकी करबाट जोगिन अन्य ल्याटिन अमेरिकी देशहरूलाई समेटिने देखिन्छ ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले सो योजना आंशिक रूपमा सोमवार सार्वजनिक गरेका थिए । ४५ दिन समयसीमा तोकिएको सो दस्तावेजका अनुसार मेक्सिको शरणार्थी मामिलामा ‘सुरक्षित तेस्रो मुलुक’ बन्ने भएको र त्यो परिस्थिति आइपरेमा विद्यमान कानुन पनि संशोधन गर्ने प्रतिबद्धता उसले जनाएको छ ।

मन्त्री एब्रार्डले मेक्सिकोसँग आफ्नो दक्षिणी सिमाना थप सुदृढ पारेर आप्रवासीहरू अमेरिका जाने क्रम रोक्न आफू सक्षम रहेको देखाउन ४५ दिन रहेको बताएका थिए । मेक्सिकोले सोही सहमतिअनुसार ग्वाटेमालासँगको सिमानामा ६ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

मेक्सिको यो ४५ दिनमा आफ्नो योजनामा सफल नभएमा ‘सुरक्षित तेस्रो मुलुक’ बन्नेछ । सो सहमतिअनुार ४५ दिनमा मेक्सिको असफल भएमा मेक्सिको हुँदै शरण खोज्न जानेहरूले शरणार्थी बन्न अमेरिकाको साटो मेक्सिकोमै आवेदन दिनुपर्नेछ ।

धेरै पहिलादेखि नै अमेरिकाले त्यस्तो हुनुपर्ने माग राख्दै आएको थियो । तर मेक्सिकोले अस्वीकार गर्दै आएको थियो । मन्त्री एब्रार्डले अमेरिकाले त्यो उपायमा जोड दिएको र आफूहरू त्यसको कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ सहमतिको यो महत्वपूर्ण उपलब्धि हो । हामीले उनीहरूलाई भनेका छौं कि मेक्सिकोको प्रस्तावले काम गर्छ गर्दैन भन्ने हेर्न समय तोकौँ र यदि गरेन भने हामी बस्नेछौँ र थप उपाय के आवश्यक हुन्छ त्यसबारे विचार गर्नेछौं ।’

यदि मेक्सिको ४५ दिनभित्र आप्रवासी नियन्त्रण गर्न विफल भएमा अन्य देशहरू पनि त्यस मामिलामा तानिनेछन् । आप्रवासीहरूले ट्रान्जिटको रूपमा प्रयोग गर्ने ब्राजिल, पनामा र ग्वाटेमालामा शरणार्थी दाबीको प्रक्रियाबारेको बोझ साझेदारी गर्न सकिन्छ कि भन्नेबारे छलफलरू आयोजना गरिनेछ ।

अमेरिकाले भने छलफलका क्रममा मेक्सिकोको भूमि हुँदै अमेरिका पुग्ने आप्रवासीको संख्या शून्यमा झार्ने प्रतिबद्धता खोजेको छ । मेक्सिकोका मन्त्री एब्रार्डले भने सो माग पूरा गर्न असम्भव हुने बताएका छन् ।

(Visited 129 times, 1 visits today)
Loading comments...