मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

चलचित्रका तीन आमाहरूको सक्रियता

राजधानी समाचारदाता
3 months ago
13/06/2019

काठमाडौं। नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दसहित अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी सिंहको फिल्म अभिनय यात्रा नेपालको पहिलो चलचित्र ‘आमा’बाट भएको हो । २०२२ सालमा निर्माण भएको चलचित्र आमाबाट आफ्नो अभिनय करिअर सुरु गरेका यी तीन अभिनेत्रीहरू अहिले पनि चलचित्र क्षेत्रमा छन् ।

चलचित्र आमाबाट अभिनय यात्रा सुरु गरेकै कारण उनीहरूलाई नेपाली चलचित्रका तीन आमा भनेर सम्बोधन गरिन्छ । पछिल्लो समय नेपाली चलचित्रमा प्रायः आमाको भूमिका निर्वाह गर्दै आएकाले पनि उनीहरूलाई आमा भन्ने गरिएको छ । पहिलो चलचित्र आमाबाट अभिनय सुरु गरेकाले आफूहरूले आमा भनिएको तर्क भुवन चन्दको छ ।

उमेरले सात दशक छोए पनि पहिलो चलचित्रका यी तीन अभिनेत्रीहरू अहिले के गर्दैछन् भन्ने धेरैलाई चासो हुन सक्छ । तीनमध्ये दुई अभिनेत्री बसुन्धरा भुसाल र भुवन चन्द अहिले पनि चलचित्र अभिनयमा सक्रिय छन् । अर्की अभिनेत्री चैतदेवीको हातमा चलचित्र छैन । सोही कारण उनी चलचित्र क्षेत्र र सामाजिक अभियानमा क्रियाशील छिन् ।

पहिलो चलचित्र आमाबाट सुरु भएको आफूहरूको साथ नछुटोस् भनेर ती तीन नायिकाहरूले संयुक्त रुपमा पुरस्कारसमेत स्थापना गरेका छन् । यी तीन अभिनेत्रीले गत महिना ‘हरिश भुवन चन्द, चैतदेवी सिंह, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार–२०७६’ केही महिना अघि स्थापना गरेका थिए । बुधबार काठमाडौंमा एक समारोहबीच यी तीन जनाले यो पुरस्कार संयुक्त रूपमा चलचित्रकर्मीको हकहितमा प्रदान गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘चलचित्रकर्मी कल्याणकोष’को खातामा रहने गरी यी तीनले सो पुरस्कारस्वरूप १ लाख ५३ हजार रुपैयाँ र ताम्रपत्र चलचित्र विकास बोर्डलाई प्रदान गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बोर्डको कलाकार कल्याणकारी कोषमा रहनेगरी बुधबार बोर्डमै आयोजित एक समारोहबीच यो पुरस्कार सहित एक लाख ५१ हजार रुपैयाँ प्रदान गरियो ।

यो पुरस्कार कलाकार कल्याणकारी कोषमै जम्मा गर्नुको कारणबारे अभिनेत्री बसुन्धरा भुसालले भनिन्, ‘यो पुरस्कार हामीले कलाकारलाई प्रदान गर्दा एक जनालाई मात्र हुन्थ्यो । तर कल्याणकारी कोषमा जम्मा गर्दा भोलि आपतमा परेका जोकोही सिनेकर्मीलाई पनि सहयोग गर्न मिल्ने भएकाले पनि पहिलो पुरस्कार कोषमा नै जम्मा गरेका हौं ।’ यो पुरस्कार अर्को वर्षबाट नेपाली कलाकारहरूलाई नै प्रदान गरिने पनि भुसालले बताइन् ।

तीन अभिनेत्रीको नाममा पुरस्कार गठनबारे उनले भनिन्, ‘नेपाली चलचित्र उद्योगलाई पहिलो चलचित्र आमादेखि अहिलेसम्म पनि हामीले डोहो¥याइरहेका छौं । आउँदा पुस्तालाई पनि प्रोत्साहन मिलोस् भनेर चलचित्रसम्बन्धी कलाकारका लागि हामीले यो पुरस्कार गठन गरेका हौं ।’ पुरस्कार गठन गर्दा आफू तीन नायिकाहरू सँगै जोडिएर अघि बढ्ने भएकाले पनि तीन जनाको नाममा पुरस्कार गठन गरिएको उनले बताइन् ।

अभिनेत्री बसुन्धरा भुसालको भनाइमा उनी अहिलेसम्म पनि चलचित्रमा त्यत्तिकै व्यस्त छिन् । वर्षमा ५÷६ वटा चलचित्रमा अहिले पनि बसुन्धराले अभिनय गर्दै आएकी छिन् । त्यसो त नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले पनि बेलाबेलामा फिल्ममा अभिनय गर्ने क्रमलाई निरन्तरता दिएकी छन् । आफूले जानेको काम नै चलचित्र भएकाले बाँकी जीवन पनि यही क्षेत्रमा समर्पण गर्ने उनले बताएकी छन् ।

अभिनेत्री भुवन चन्दले नयाँ चलचित्र ‘साइनो’ निर्माण गरेकी छन् । चलचित्रमा अभिनयको प्रस्ताव कम भएपछि आफू चलचित्र निर्माणमा लागेको अभिनेत्री भुवन चन्दले बताएकी छन् । यही साउनमा चलचित्र साइनो रिलिज हुँदै छ । चलचित्र साइनो निर्माण भएपछि यो चलचित्रको रिलिज तयारीमा आफू व्यस्त भएको पनि भुवन चन्दले बताएकी छन् ।

 

 

(Visited 51 times, 1 visits today)
Loading comments...