मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

काठमाडौंमा अब बाह्रै महिना फूल फुल्ने

केशवप्रसाद पाण्डे
3 months ago
14/06/2019

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा सदाबहार फूल फुलाउने तयारी सुरु भएको छ । यसैको तयारी स्वरुप काठाडौं महानगरपालिका, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको छ ।

शुक्रबार सम्पन्न सम्झौतामा महानगरपालिका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की, नबिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अनिलकेशरी शाह र एरोरुटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिप्लव सिंहले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सम्झौताको ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाइनेछ । एरोपोनिक बिधि जमिन मुनिको ट््याङ्कीमा राखिएको पौष्टिक पानीलाई अल्ट्रा हाइ प्रेस पम्पबाट तानेर जमिन माथि रहेको फूलको स्तम्भ पानी छर्किने प्रणाली हो ।

सम्झौता अनुसार एरोरुटले ट्राफिक आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने लगाायतका काम गर्नेछ । यसका लागि आवश्यक लगानी तथा सञ्चालन खचको व्यवस्थापन नबिल बैङ्कले गर्नेछ ।

त्यस्तै प्रणाली जडान गर्ने स्थानको पहिचान गरी स्थान उपलब्ध गराउने, प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरपालिकाले गर्नुपर्नेछ ।

सम्झौतापछि बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरपालिकाले सम्झौता मात्र भन्दा पनि परिणाम चाहने बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत काकीले यसबाट शहरी सुन्दरता कायम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नबिल बैङ्कका प्रमुख कार्यकारी शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको बैँकले सम्झौता गरेको जानकारी दिए । उनले आउँदो दशै अगाडि नै आकर्षक आइल्याण्ड देख्न पाइने विश्वास व्यक्त गरे ।

त्यस्तै एरोरुट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिंहले यस विधिबाट कुनै पनि प्रकारको बिषादि प्रयोग नगरी फूल फुलाइने जानकारी गराए ।

यो प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले २ बर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा संभार गर्ने काम एरो रुटले गर्नेछ ।

प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउनेछ ।

सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि गरिनेछ ।

(Visited 117 times, 1 visits today)
Loading comments...