मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

बझाङ जीप दुर्घटना : छोराको विवाह गर्ने धोको अधुरै

डीबी विष्ट
4 months ago
18/06/2019

बझाङ । सोमबार दिउँसो मष्टा गाँउपालिका वडा नम्बर १ को डौठी भन्ने ठाँउमा से १ ज १०७२ नम्बरको जीप दुर्घटना भयो । दुर्घटनामा परी १० जनाले घटना स्थलमा नै ज्यान गुमाए भने ५ जनाका गम्भिर घाइते भए । सोही जीपमा एकै परिवारका तिन जनाको मृत्यु भयो । जसमा मष्टा गाँउपालिका वडा नम्बर १ ४० बर्षीया कलक खड्का उनकी श्रीमती अन्दाजी ३८ बर्षीया जुनधारा देवि खड्का र उनका कान्छा छोरा १२ बर्षका सरोज खड्काको निधन भयो । भने उनकी छोरी १५ बर्षीया संगिता खड्का घाइते भइन् ।

उनीसंगै आएकी उनकै नजिकैकी आफन्त ८ बर्षीया बालिका विपना खड्काको समेत ज्यान गयो । मृतक कलक खड्का भारतको केदार नाथ भन्ने ठाँउमा मजदुरी गरेर फर्किएको ४ दिन मात्रै भएको थियो । बैशाख महिनाको पहिलो हप्ता मजदुरी गर्न भारत गएका खड्का जेठ ३२ गते घर पुगे । उनका जेठा छोरा सन्देश खड्काले छिमेकी गाउँपालिका तल्कोट वडा नम्बर १ भाटगाउँबाट लभ म्यारीज गरेर केटी भित्र्याएका थिए । उनको विवाह असार ५ गते धुमधामका साथ गाउँमै गर्ने सल्लाह भएपछि खड्का हतार हतार छोराको विवाह गर्न घर पुगेका थिए ।

जेठ ३२ गते घर पुगेका खड्काले गाँउ घरको सबै चाँजोपाँचो मिलाएर सदरमुकाम चैनपुरबाट बुहारीका लागि गरगहना र केही सर सामान, लुगा कपडा किन्नका लागि सोमबार बिहान उनकी श्रीमती जुनधारा खड्का, कान्छा छोरा सरोज खड्का सहित उनकै आफन्त ८ बर्षीया बालिका विपना खड्का सदरमुकाम चैनपुर पुगे । पैशाको समेत बन्दोबस्त नगरी आएका खड्काको परिवारले सदरमुकाम चैनपुरमै रहेको लक्ष्मी विकास बैङ्कबाट १ लाख ५० हजार कर्जा लिएको उनका छिमेकी बसन्त खड्काले बताए । आफुलाई साँची राखेर छोराको विवाहका लागि भन्दै १ लाख ५० हजार ऋण निकालेर बुहारीका लागि गरगहना, अन्य विवाहका लागि आवश्यक सामानहरु किनेर घर तिर लागेको उनी बताउँछन् ।

छोराको विवाह हुने भन्दै उनका श्रीमान श्रीमती निकै दंग थिए । छोराको विवाहमा आउन भन्दै मृतक खड्काले आफन्त सबैलाई निम्ता र खबर समेत गरिसकेका थिए । तर उनले कल्पना समेत गरेका थिएनन् होला पहिलो सन्तानको विवाह नगरेरै यस्तो घटना होला भनेर । उनको जेठो छोराको विवाह गर्ने अधुरै रहेको छ । उनीसंगै विवाहको सामान किन्ने भनेपछि रहरै रहरमा आएकी ८ बर्षीया बालिका विपनाको समेत ज्यान गएको मृतक कलक खड्काका काका विरेन्द्र खड्काले बताए । अब मृत खड्काको घरमा जेठा छोरा सन्देश खड्का र उनकी आमा ७० बर्षीया हर्का देवि खड्का, बुहारी र घाइते संगीता छन् ।

कान्छा छोरालाई पैशा पठाउन र माईलालाई लिन आएकी आमा छोराको मृत्यु

कान्छा छोरालाई पैशा पठाउन र माईला छोरालाई लिन आएकी मष्टा गाँउपालिका वडा नम्बर १ कै ५२ बर्षीया धौली देवि खड्का र उनका माईला छोरा १९ बर्षीया हिक्मत खड्काको समेत दुर्घटनामा परी मृत्यु भएको छ । मृतक धौलीका कान्छा छोरा पढाइको शिलसिलामा धनगढी गएका छन् । उनलाई पैशा पठाउनका लागि सदरमुकाम चैनपुर पुगेकी धौलीको जीप दुर्घटनामा परी मृत्यु भएको हो ।

उनका माईला छोरा हिक्मत खड्का लोक सेवाको तयारीका लागि भन्दै बैशाख पहिलो हप्ता तिर काठमाडौँ गएका थिए । लोकसेवाको विबाद भए पछि लोक सेवा हुने वा नहुने अन्यौल भएपछि उनी लोक सोवा आयोगको तयारी गर्न छोडेर घर फर्किएका स्थानीय बासिन्दा विरेन्द्र खड्काले बताए । उनकी आमा धौलीले माईलो छोरा काठमाडौँबाट आउने र कान्छा छोरालाई पैशा समेत पठाउनु पर्ने भन्दै माईला छोरालाई स्वगत गर्न पाउने भए पछि खुःसी हुँदै सदरमुकाम चैनपुर पुगेकी थिइन् । सदरमुकाम चैनपुरमा सबै काम सक्काएर घर फर्किएकी उनका आमा छोराको समेत निधन भयो ।

यस्तै घरमा नुनतेल चिनी चियापत्ती लिनका लागि घरको काम काग समेत छोडेर सदरमुकाम चैनपुर बजारमा पुगेकी ७२ बर्षीया जुना खड्काको समेत मृत्यु भएको छ । साथमा उनका नाती गणेश खड्का गम्भिर घाइते भएका छन् । घरको जिम्मा सबै नातिनीको जिम्मा दिएर घरमा चाहिने दैनिक उपभोग्य बस्तु किन्न चैनपुर पुगेकी जुनाको समेत निधन भएको उनका आफन्तले जनाएका छन् । उनीसंगै आएका उनका १२ बर्षीया नाती गम्भिर घाइते भएका हुन् । उनका सबै छोरा रोजगारीका लागि भारत गएका छन् । आमाको मृत्यु भएको जानकारी पाएपछि उनीहरु भारतबाट घर फर्कँदै गरेको उनका आफन्तले बताए ।

श्रीमानको स्वागत गर्न आएकी लक्ष्मीको समेत निधन

यस्तै श्रीमानको स्वागतका लागि चैनपुर पुगेकी लक्ष्मी द्धालको समेत निधन भएको छ । उनका श्रीमान जनक द्धाल घाइते भएका छन् । लामो समयदेखि घर नआएका उनका श्रीमान जनक द्धाल नेपाली सेनाका जवान समेत हुन् । सिद्धबक्स गण पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत द्धाल विदा लिएर पारिवारीक काम र विषेश कामले घर आएका थिए । श्रीमान घर आउने खबर पाएपछि उनलाई लिन सदरमुकाम चैनपुर पुगेकी लक्ष्मीको घटना स्थलमा नै मृत्यु भएको हो ।

यस्तै ब्यक्तीगत र विभन्न कामका लागि आएका उनीहरु जस्तै ३८ बर्षीया जुनधारा खड्का, ३० बर्षीया भक्त द्धाल, जीप चालक २२ बर्षिया सुरेन्द्र थापाको समेत मृत्यु भएको छ ।

गाँउमा कोही छैन
सोमबार एकै वडाका १० जनाको निधन भएपछि अहिले मष्टा गाँउपालिका साथै जिल्ला नै सोकमा डुबेको छ । गाउँका सबै स्थानीय स साना बालबालिकादेखि हिँडडुल गर्न सक्ने सबै सदरमुकाम चैनपुरमा पुगेका छन् । मृतक सबैका सब जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला अस्पतालमा रुवावासी चलेको छ ।

(Visited 251 times, 1 visits today)
Loading comments...