आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

हुवावेका मोबाइल विक्रीमा ४० प्रतिशत गिरावट

एजेन्सी
1 month ago
18/06/2019

बेइजिङ । चिनियाँ प्रविधि कम्पनी हुवावेका संस्थापक रेन जेङ्फीले ह्वावेका मोबाइल फोनहरूको अन्तर्राष्ट्रिय बिक्री गत महिना ४० प्रतिशतले घटेको बताएका छन् ।

अमेरिकासँग बढेको कम्पनीको तनावका कारण बिक्रीमा कमी आएको हो । हुवावेको मुख्यालयमा बोल्दै रेनले आफ्ना उत्पादनमा वार्षिक ३० अर्ब अमेरिकी डलरले कटौती गर्ने बताएका छन् ।

नयाँ अमेरिकी कानुनहरूका अनुसार अमेरिकी वा अमेरिकी प्रविधि प्रयोग गर्ने कम्पनीहरूले हुवावसँग काम गर्न पाउने छैनन् । सोही कारण पनि सो मोबाइलको बिक्रीमा कमी आएको हो ।

दूरसञ्चार उपकरण उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो र स्मार्टफोनको दोस्रो ठुलो उत्पादनकर्ता हुवावेले सुरक्षा जोखिम सिर्जना गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

हुवावेले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो सूचना प्रणालीमा चीन सरकारको नियन्त्रण नभएको पटक पटक स्पष्ट पारिसकेको छ ।

सन् २०१९ र २०२० मा उसको विक्री एक सय अर्ब डलरमा सीमित हुने अनुमान गरिएको छ । यसअघि हुवावेले सन् २०१९ मा बिक्रीको प्रक्षेपण झन्डै १ सय २५ अर्ब डलर बराबरको गरेको थियो ।

यद्यपि सन् २०२१ सम्ममा कम्पनी आफ्नो पुरानै ऊर्जासाथ ब्युँतने रेनको भनाई छ । स्मार्टफोनको विक्री विश्वभर उल्लेख्य रूपमा घटे पनि, चीनमा बिक्रीदर बढिरहेको उनले बताए ।

यसअघि उनले अमेरिकी प्रतिबन्धले हुवावेलाई ठूलो असर नपार्ने बताउँदै आएका थिए ।

आफ्नो कम्पनीलाई निकै नराम्ररी बिग्रिएको हवाईजहाजसँग तुलना गरेका उनले कम्पनीको अनुसन्धान तथा विकासतर्फको रकम भने कटौती नगर्ने बताए ।

अमेरिकाले लिएको पछिल्ला कदमका कारण विश्वभरका प्रविधि कम्पनीहरू हुवावेईसँगको सम्बन्धमा पछाडि हट्न बाध्य भएका थिए । बेलायतले भने हुवावेसँग सहकार्य गर्न खोजिरहेको छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...