मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले गति लिँदै

भगीरथ भण्डारी
4 months ago
19/06/2019

 

इलाम । प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च गर्न इलामका स्थानीय तहले असारमा मजदुरी लगाउने तयारी गरिरहेका छन् । इलामका सबै स्थानीय तहले असारमा मजदुरी लगाउनेगरी कार्यक्रमको तयारी गरेका हुन् । सडक मर्मत, कुलो मर्मत, वृक्षरोपण, पोखरी निर्माण गर्ने तयारी गरेका छन् ।

सूर्योदय नगरपालिकाले दुईवटा पोखरी निर्माण र वृक्षरोपणमा लगाउने निर्णय गरेको छ । सूर्योदयमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत २१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटको ७० प्रतिशत रकम बेरोजगारलाई रोजगारी दिन खर्चिनुपर्नेछ भने ३० प्रतिशत रकम औजार खरिदमा खर्च गरिको कार्यक्रमका संयोजक विष्णु रिजालले बताए ।

इलाम नगरपालिकाले पनि कच्ची सडक मर्मत, कुलो सोहोर्ने र विद्यालयको घेराबारलगायतको काम गर्ने तयारी गरेको छ । नगरपालिकाले बेरोजगार फारम भर्नेहरूबाट रोजगार दिनुपर्नेहरुको प्राथमिकता छुट्याउँदै गरेको कार्यक्रमका संयोजक डकेन्द्र बोहोराले बताए ।  यस्तै, माङसेबुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रका बाटोमा सोलिङ लगाउने तयारी गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिंगोले जानकारी दिए ।

इलामका प्रत्येक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउन बजेट विनियोजन भएको छ । तर, कार्यक्रमको कार्यान्वयनमध्य वर्सात्का बेला असारमा हुँदै छ । स्थानीय तहले बेरोजगारको फारम संकलन गरे पनि अहिलेसम्म रोजगार दिनुपर्ने बेरोजगारको पहिचान नै भइसकेको छैन । बेरोजगार फारम भर्ने मध्येबाट यो वर्ष रोजगार दिनुपर्नेहरूको नामावली वडा कार्यालयलाई माग गरिसके पनि त्यसको सूची आइनसकेको देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल बताउँछन् ।

इलामको माइजोगमाई गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा नै रहेको छ । बेरोजगार फारम भरेकामध्येबाट रोजगार दिनुपर्ने व्यक्ति छनोटको जिम्मा वडा कार्यालयलाई दिइएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए । संघीय सरकारबाट भर्खरै मात्रै बजेट विनियोजन भएकाले कार्यक्रमको कार्यान्वयनको लागि अन्य प्रक्रिया पूरा गर्ने चरणमा रहेको गाउँपालिका अध्यक्ष राई बताउँछन् । गाउँपालिकाले प्रधानमन्त्री रोजगारको रकम दिए बर्सात्का बेला बाटो सरसफाइको तयारी छ ।

 

 

(Visited 39 times, 1 visits today)
Loading comments...