मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

स्टक डिलरसम्बन्धी स्पष्ट नीति माग

राजधानी समाचारदाता
4 months ago
19/06/2019

काठमाडौं । स्टक डिलरसम्बन्धी स्पष्ट नीति आवश्यक भएकोमा सरोकारवालाले बताएका छन् । नेपाल धितोपत्र बोर्डले  मंगलबार आयोजना गरेको कार्यक्रममा कोषका उपव्यवस्थापक तथा सेयर शाखा प्रमुख रोशनजंग कार्कीले सहजीकरणका लागि बार्डसँग आग्रह गरेका हुन् । बोर्डले कार्यप्रगति समीक्षा तथा आगामी बर्षको पुँजी बजारसम्बन्धी नीति तथा कार्यक्रमका बारेमा सुझाव लिन कार्यक्रम आयोजन गरेको थियो ।

स्टक डिलरका लागि लामो समयदेखि प्रबन्धपत्र नियमावली बनाएर तयारी अवस्थामा रहेको कोषलाई नीति अभावकै कारण अघि बढ्न अलमल भएको कार्कीले बताए । उनका अनुसार कोषले पुँजी बजारमा लगानी गर्न छुट्टै कम्पनी खोल्ने तयारी गरेको भए पनि चुक्ता पुँजी कति राख्ने विषयमा स्पष्ट नीति नभएकै कारण समस्या भएको धारणा राखे ।

कोष लामो समयको ऋणपत्रमा लगानी गर्न इच्छुक रहेको तर दोस्रो बजारमा कारोबार गर्न सक्ने वातावरण तयार नभएकाले यसलाई समेत कारोबार गर्न सक्ने वातावरण तयार गर्न उनले आग्रह गरे । बजेटमै ऋणपत्रको कारोबारलाई व्यवस्थित गर्न खोजिएको स्मरण गराउँदै उनले त्यसलाई आगामी आर्थिक वर्ष कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । सेयर बजारमा हुने गरेको भित्री कारोबारमा बोर्डकै कमर्चारीको समेत संलग्नता हुने गरेको आरोप लगाउँदै त्यसलाई निस्तेज गर्न बोर्ड कमर्चारी र उनीहरूको परिवारको समेत रोस्टर तयार गरी सूक्ष्म अध्यन गर्नुपर्ने अधिवक्ता अमृत खरेलले माग गरे ।

उनले आर्थिक पत्रकारलाई समेत सेयरमा लगानी गर्न दिने वा नदिने भन्ने विषयमा बोर्डले उचित कदम चाल्नुपर्ने सुझाव दिए । ब्रोकर कम्पनीलाई सेयर बजारमा प्रचारप्रसार गर्न दिए बजारको विकासमा टेवा पुग्ने भन्दै खुकुलो नीति लिन बोर्डलाई उनको आग्रह थियो ।

लगानीकर्ता दिलिप मुनाकर्मीले सूचीकृत कम्पनीहरूले सही सूचना दिन कन्जुस्याइँ गरेको भन्दै त्यसलाई कडाइ गर्न माग गरे ।

तेस्रो त्रैमासिक अवधिको नाफामा रहेका कम्पनीको चौथो त्रैमासमा एकाएक घाटा भएको विवरण सार्वजनिक गर्ने गरेको प्रति आपत्ति जनाउँदै त्यसलाई व्यवस्थित गर्न बोर्डले छुट्टै नमुना तयार गरी कम्पनीहरूलाई सही विवरण लिन बाध्य पार्नुपर्ने उनको सुझाव थियो ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर र स्टक डिलरको काम गर्न दिने विषयमा अध्ययन गरिएको र त्यसलाई कार्यान्वयनमा लैजाने मोडल तयार गर्न बोर्ड र नेप्सेबीच छलफल हुनुपर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले बताए ।

यसैगरी नेप्सेले ब्रोकर कम्पनीले प्रतिनिधिमार्फत कारोबार गर्न दिन सकिने भन्दै बोर्डलाई गरेको आग्रह आगामी नीति तथा कार्यक्रमै समेटेर सम्बोधन गरिदिन उनले आग्रह गरे । १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका रियल सेक्टरका कम्पनीलाई बजारमा ल्याउने वातावरण तयार गरिदिन समेत उनले माग गरे ।

पब्लिक कम्पनीहरूलाई समयमा साधारण सभा गर्ने वातावरण तयार गर्न सकिए बजारको विकास हुने भन्दै त्यसलाई नीति तथा कार्यक्रममा समेट्न ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सुझाए । संगठित लगानीकर्ताकका प्रतिनिधिहरूले बजारको सुदृढीकरणमा जोड दिन आग्रह गरे ।

कार्यक्रम उपस्थितको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्दै त्यसलाई कार्यान्वनमा समेत लैजाने प्रतिबद्धता बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले व्यक्त गरेका थिए ।

(Visited 19 times, 1 visits today)
Loading comments...