आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

विश्वकपलाई २५ सदस्यीय प्रारम्भिक टोली

राजधानी समाचारदाता
1 month ago
19/06/2019

 

काठमाडौं। सिंगापुरमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट छनोटको लागि २५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोली घोषणा भएको छ ।

तीन सदस्यीय छनोट समितिले बन्द प्रशिक्षणको लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । छनोट समितिमा आईसीसी प्रतिनिधि अनिमुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का रहेका छन् ।

खेलाडी छनोट दुई साताअघि सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता र अन्य प्रतियोगिताबाट गरिएको हो । घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर नन्दन यादव पहिलोपटक राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा परेका छन् ।

यस्तै, दुई साताअघि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका विकेट किपर राजु रिजाल, जीतेन्द्र मुखिया, अमित श्रेष्ठ, कुशल भुर्तेल, ललित भण्डारीले राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा स्थान बनाउन सफल भएका छन् ।

सन् २०१४ को टी–ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका जीतेन्द्र मुखिया चोटका कारण टोलीबाट लगातार बाहिर रहँदै आएका थिए ।

यही टोलीले वैदेशिक प्रशिक्षण लिने र नेपाल फर्किए लगत्तै पूर्ण टोली तयार पारिने नेपाली टोलीका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराएका छन् । विदेश भ्रमण टुंगो लाग्न बाँकी छ । नेपाली टोलीले बिहीबारदेखि प्रशिक्षण थाल्नेछन् । आईसीसी विश्वकप टी–ट्वान्टी एसिया छनोट आगमी जुलाई २०–२८ सम्म सिंगापुरमा हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोट खेल्न पाउनेछ ।

 

प्रारम्भिक नेपाली टोली

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अभिनाश बोहोरा, अमित श्रेष्ठ, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्र मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायाण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सरार्फ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुुशन भारी ।

 

 

(Visited 59 times, 1 visits today)
Loading comments...