बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

संसदमा प्रधानमन्त्री ओलीप्रति देउवाको रोष, भने- जबर्जस्ती हेप्ने काम भयो

राजधानी समाचारदाता
3 months ago
19/06/2019

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारप्रति रोष व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले प्रधानमन्त्री ओलीमा विपक्षीको बोलीसमेत सुन्ने आँट नभएको बताए ।

‘संसदीय परम्पराअनुसार प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनु पर्ने हो, जहाँ पनि विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुपर्छ, तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन्, नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई तोड्ने काम भएको छ,’ देउवाले प्रधानमन्त्री ओलीप्रति इंगित गर्दै भने ।

आजको बैठकको सुरुमा देउवाले आफ्नो भनाइ राखेका थिए । तर प्रधानमन्त्री ओली भने बैठकमा आएनन् ।

मंगलबारको संसद अवरोधको घटनाबारे इंगित गर्दै देउवाले भने, ‘संसदमा बोल्न मैले समय मागेको थिएँ, प्रधानमन्त्रीले पनि माग्नुभएछ राम्रो भयो, मेरो जवाफ दिन पाउनुहुन्थ्यो, तर उहाँले विपक्षीको आवास सुन्नै चाहनु भएन, पहिला आफै बोल्न खोज्नु भयो, संसारभरि सदन विपक्षीको हुन्छ । यहाँ उल्टो भएको छ ।’

देउवाले थपे, ‘जहाँ पनि संसारमा पहिला विपक्षीले बोल्छ । तर प्रधानमन्त्रीलाई यो कुरा चित्त बुझेन, जबरजस्ती बोल्न खोज्नुभयो । त्यसको हामीले विरोध गरेका हौं ।’

देउवाले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए ।

संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको देउवाको भनाइ थियो ।

(Visited 85 times, 1 visits today)
Loading comments...