बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

स्वास्थ्य चौकी भवन निर्माणमा ठेकेदारको लापरवाही

राकेश गुप्ता
2 months ago
25/06/2019

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य चौकी भवन निर्माण भइरहेको छ । भ्याटसहित २ करोड ९५ लाखको लागतमा बनाउन लागिएको २ तल्ले स्वास्थ्य चौकी भवन १८ कोठे बन्नेछ । तर भवन निर्माणमा प्रयोग गरिएको निर्माण सामाग्री भने ठेकेदारले कमसल अर्थात गुणस्तरहीन प्रयोग गरेको स्थानीयले बताएका छन् ।

भवन निर्माणको ठेक्का पाएको धनन्जय चौधरी कन्ट्रक्सनले भवन निर्माणका क्रममा कमलस निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले केही दिन निर्माण कार्य अवरुद्ध समेत गरेका थिए । ठेकेदारले भवन निर्माणका लागि प्रयोग भएको ईट्टा, सिमेन्ट, गिट्टी, बालुवा २ नम्बर र कमलसल प्रयोग गरेको भन्दै स्थानीयको दवावमा निर्माण कार्य अवरुद्ध गरेको वडा अध्यक्ष श्याम सुन्दर यादवले बताए ।

‘भवन निर्माणमा चरम लापरवाही भएको छ, एक नम्बर ईट्टा प्रयोग गर्नु पर्नेमा दुई नम्बर ईट्टा प्रयोग भएकोे छ, ओपिसि सिमेन्ट प्रयोग गर्नु पर्नेमा पिपिसी सिमेन्ट प्रयोग गरेको छ, गिट्टी, बालुवा सफा प्रयोग गर्नु पर्नेमा स्थानीय खोलाबाट माटो मिसिएको कमसल प्रयोग गरिएको छ’, वडा अध्यक्ष यादवले भने, ‘जनताको स्वास्थ्य सँग खेलवाड गर्ने छुट ठेकेदारलाई छैन ।’

लापरवाही गर्ने ठेकेदारलाई कार्वाही गर्नु पर्ने वडा अध्यक्ष यादवको भनाई छ । तर ठेकेदार उपेन्द्र चौधरीले निर्माण सामाग्री ल्याउने क्रममा केही कमसल मिसिएको हुन सक्ने तर आफुहरुले कमसल सामान प्रयोग नगरेको दावी गरे । ‘एक नम्बर ईट्टा ल्याउँदा एक दुई ओटा २ नम्बर पर्नु स्वभाविक हो तर २ नम्बरै प्रयोग गर्यो भनेर काममा अवरोध गर्नु, विरोध गर्नु राम्रो होईन’, ठेकेदार चौधरीले भने । स्थानीयको अवरोधकै कारण यही असार मसान्त सम्ममा निर्माण सक्न आफुहरु असमर्थ हुने उनले बताए ।

उता, भवन निर्माणको अनुगमनको जिम्मा पाएको सहरी विकास कोषले अनुगमनका क्रममा कमसल निर्माण सामाग्री प्रयोग गरेको पाइएको जनाएको छ । कोषका इन्जिनियर रामलखन पण्डितले निर्माण सामाग्री कमसल प्रयोग भएको जनगुनासो आएपछि र काममा अवरोध भएपछि हामीले निर्माण स्थल गएर अनुगमन गर्यौँ । अनुगमनका क्रममा भेटिएका कमलस निर्माण सामाग्री फिर्ता समेत पठायौं । हामीले निर्माण स्थलको निगरानी राखेका छौं, अव कमसल सामाग्री प्रयोग हुने छैन, स्थानीयले पनि निर्माण कार्यमा अवरोध गर्ने छैनन् र निर्माण कार्य समयमै सम्पन्न हुने छ ।

(Visited 162 times, 1 visits today)
Loading comments...