बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

अदुवाको विउमै भ्रष्टाचार, तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

निराजन पौडेल
2 months ago
25/06/2019

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत प्रतिवेदन बनाएर रकम हिनामिना गरेको अभियोगमा दुई जना विरुद्ध विशेष अदालतमा भ्र्रष्टाचार मुद्धा दर्ता गरेको छ ।
कृषक समूहलाई वितरण गर्नु पर्ने अदुवाको बीउ लगायतका कृषि सामग्री खरिद नै नगरी ५ लाख ७० हजार तीन सय पचास रुपयाँ रकम हिनामिना गरेको अभियोगमा तत्कालीन कर्णाली सामुदायिक विकास केन्द्र, नेपालगञ्जमा कार्यरत तत्कालीन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुषालले विरुद्ध मुद्दा दर्ता भएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरूलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी गरेको छ । त्यस्तै अख्तियारले श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष राम कुमारी के.सी. भन्ने रामकला के.सी.ले आफूलाई गैरकानूनी लाभ पु¥याउने काम गरेको भन्दै भ्रष्टाचार निवारण ऐन अन्र्तगत मुद्धा दर्ता भएको छ ।

दैलेखको कुईकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगञ्जबाट प्राप्त भएको रकमको खेती नगरी रकम हिनामिना भएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ ।

श्रीस्थान ताजा तरकारी उत्पादन कृषक व्यावसायिक अदुवा समूह, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र नेपाल राष्ट्र बैंक नेपालगञ्जबीच उपआयोजना संचालन गर्न भएको त्रिपक्षिय सम्झौता अनुसार कृषक समूहलाई वितरण गर्नु पर्ने अदुवाको बीउ लगायतका कृषि सामग्री सम्झौता भएको थियो । समूहका कृषकहरूले पाउनुपर्ने रकमसमेत नदिई खेती नै नगरेका कृषकहरूको भरपाईसमेतका नक्कली बिललगायतका कागजात तयार गरी रकम अनियमितता गरेको पाईएको अख्तियारले जनाएको छ ।

त्यस्तै अख्तियारले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत) धनबहादुर वलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस लिदाँलिदै पक्राउ गरेको छ । अख्तियारले (शाखा अधिकृत) वलीलाई सेवाग्राहीसँग २५ हजार रुपयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
भन्सारमै बसेर घर नै भरिने गरी भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारमा बसेर घरनै भरिने गर्री भ्रष्टाचार गर्ने नायव सुब्बा बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईसँग दुई करोडभन्दा धेरै अकुत सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । सरकारी सेवामा प्रवेश गरेपछि भन्सारमा बसेर उनले करोडौ स्रोत नखुलेको सम्पति जोडेको भेटिएको अख्तियारले जनाएको छ । पछिल्लो समय कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा भट्टराईको दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अकुत सम्पत्ति जफत गरी सोही बराबरको जरिवाना र कैद सजाय माग गरी आयोगले मुद्दा दायर गरेको हो । नासु भट्टराईलाई गत वर्ष २९ साउनमा आयोगको टोलीले १० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । भारत वनबासाबाट व्यापारिक प्रयोजनका मालवस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने भन्दै उनले घुस लिएका थिए । उनीसँग अकुत सम्पत्ति रहेको सूचना पाएपछि आयोगले त्यससम्बन्धी छुट्टै छानबिन गरी मुद्दा दायर गरेको हो । भन्सार कार्यालय कर्मचारीको रोजाइको कार्यालयमा पर्दै आएको छ ।

सरकारी जागिरमा जोडिएपछि उनले एक करोड १४ लाख ९१ हजार एक सय ५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, पछिल्लो समय उनीसँग तीन करोड १४ लाख ९९ हजार हजार ६ सय ९१ रुपैयाँ सम्पत्ति भेटिएको थियो । दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

(Visited 1,032 times, 1 visits today)
Loading comments...