मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

इरानविरुद्धको नयाँ प्रतिबन्धमा सर्वोच्च नेता निशानामा !

एजेन्सी
4 months ago
25/06/2019

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

उनले यसपटक सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीलाई निसाना बनाएका छन् । अमेरिकी प्रतिबन्धका कारण यसअघि देखि नै इरानको आर्थिक क्रियाकलाप करिब ठप्प भएको अवस्था छ ।

नयाँ प्रतिबन्धलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र तथा अन्य थप कुराको प्रतिउत्तर भएको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको आरोप लगाएका छन् ।

प्रतिबन्ध लगाएलगत्तै टिप्पणी गर्दै इरानी विदेशमन्त्री जाभाद जरिफले अमेरिकीहरूले कूटनीतिलाई घृणाको अर्थमा बुझेको बताएका छन् । नयाँ प्रतिबन्ध घोषणा गरेपछि उनले ट्रम्प प्रशासनले ‘युद्धको तृष्णा’ देखाएको भन्दै ट्वीट गरेका थिए ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले दुवै पक्षलाई शान्तिपूर्ण ढंगले कूटनीतिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्धहरू इरानको सत्तामा बस्ने र इरानी सेना इस्लामिक रेभ्युलुसनरी गार्ड कोरको क्षेत्रीय गतिविधिको नेतृत्व गर्ने आठ वरिष्ठ नेताप्रति लक्षित छ । अमेरिकी अर्थमन्त्री स्टिभ मनुसिनले इरानी विदेशमन्त्रीविरुद्ध पनि यही साता प्रतिबन्ध लगाइने उल्लेख गरेका छन् ।

यसअघि दुई देशबीच तनाव चुलिएकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा आक्रमण गर्ने योजना बनाएपनि पछि सो योजनाबाट पछिहटेका थिए । यी प्रतिबन्धले इरानको नेतृत्वले आर्थिक स्रोतको पहुँच रोक्नेछ र इरानका सर्वोच्च नेता वा उनको कार्यालयले नियुक्त गरेका अधिकारीविरुद्ध कारबाही गर्न सघाउने अमेरिकाको अपेक्षा छ ।

इरानको राजनीतिमा असीमित आर्थिक अधिकार भएका सर्वोच्च नेतामाथि लगाइएको प्रतिबन्धलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषद्को बैठकमा अमेरिकी प्रतिनिधिले तेहरानमाथि खाडीमा व्यावसायिक रूपमा तेल ओसार्ने पानीजहाजमाथि आक्रमण गरेको आरोप लगाएका थिए ।

राष्ट्रसंघका लागि अमेरिकाका कार्यवाहक स्थायी प्रतिनिधि जनाथन कोहेनले इरानको सो कार्य अस्वीकार्य भएको बताएका थिए । इरानले आफ्नो सीमाक्षेत्रमा प्रवेश गरेकाले अमेरिकी ड्रोन खसालिएको दाबी गरेपनि तेल ट्यांकरमा आगो लगाएको घटनामा संलग्नता नरहेको प्रष्टिकरण दिएको छ ।

उसले आफ्नो सीमाको रक्षा गरिने ‘स्पष्ट सन्देश’ अमेरिकालाई दिइएको जनाएको छ । अमेरिकी पक्षले ड्रोन स्ट्रेट अफ होर्मुजमाथि अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडेको दाबी गरेको छ । राष्ट्रसंघमा इरानी राजदूतले अमेरिकाले आफ्नो सैन्य दम्भ देखाउने काम बन्द गर्नुपर्ने बताएका थिए ।

उनले भने, ‘नयाँ प्रावधानहरूले अमेरिकासँग वार्ता गर्ने समय नभएको बताउँछ । आफूलाई तर्साइरहेको कसैसँग वार्ता सम्भव छैन ।’ सुरक्षा परिषद्ले ओमानको खाडीमा भएका आक्रमणलाई ऊर्जा आपूर्ति र शान्तिको लागि खतरा भन्दै एकमतले भत्र्सना गरेको छ । तर आक्रमण कसले गरेको हो भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

सन् २०१८ को मेमा अमेरिका इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताअन्तर्गत हटाएका प्रतिबन्धहरू फेरि लागू गरेको थियो । इरानको परमाणु कार्यक्रमलाई नै सीमित पारिएको सो सम्झौताबाट अमेरिका पछि हटेपछि उसले इरानविरुद्ध थप प्रतिबन्ध लगाउँदै आएको छ ।

अमेरिकाले सो प्रतिबन्ध लगाउँदै इरानको पेट्रोलियम पदार्थ किन्ने देशहरुलाई समेत इरानसँग कारोबार नगर्न दबाब दिएको थियो । इरानले आफूमाथिको प्रतिबन्धपछि परमाणु सम्झौताबाट आफू आंशिक रूपमा छुट्टिएको घोषणा गरेको छ । केही समयअघि ऊर्जा उत्पादनका लागि सञ्चय गर्ने अनुमति पाएको भन्दा बढी ‘लो इनरिच्ड युरेनियम’ उत्पादन गर्ने घोषणा गरेको छ ।

अमेरिका यो सम्झौताबाट पछि हटेपनि यसमा हस्ताक्षर गर्ने बेलायत, फ्रान्स र जर्मनी, रुस र चीनले इरान परमाणु सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् ।

(Visited 46 times, 1 visits today)
Loading comments...