बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

लागु औषधको ट्रान्जिट बन्दै कैलाली, १ सय १७ जना पक्राउ

दीपक ओली
3 months ago
26/06/2019

धनगढी । गत विहिबार भारतको गौरिफण्टाबाट मलद्धारभित्र प्लाष्टिकमा बेरेर लागु पदार्थ धनगढी भित्र्याउने क्रममा धनगढीका ३७ वर्षीय सन्देश न्यौपाने पक्राउ परे । सन्देश पक्राउ परेको झण्डै एक सातापछि मृत्यु भयो । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका उनी लागुऔषध सेवनकर्ता पनि थिए ।

गत जेठ १३ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक होटलमा युवा आदर्श भट्ट मृत अवस्थामा फेला परे । उनी पनि लागुऔषध सेवनकर्ता रहेका थिए । प्रहरीले होटलमा संगै बसेका शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान पक्रिया अघि बढाएको छ ।

बैशाख २३ गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अफिम र चरेससहित बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ८ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी बस्ने ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको थियो ।

कैलालीमा पछिल्ला केही समययता लागू पदार्थ ओसारपसारमा भइरहेको वृद्धि र लागुपदार्थ सेवनका कारण परेका असरहरुका यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खुला सिमानाका कारण पनि लागू पदार्थ ओसारपसारमा ह्वात्तै वृद्धि भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ मा लागु औषधका ८० वटा मुद्दा दर्ता भएका छन । प्रहरी कार्यालयमा दर्ता भएको सबैभन्दा बढी ब्राउन सुगरका मुद्दा रहेका छन् । कार्यालयका तथ्यांक अनुसार ब्राउन सुगरसम्बन्धी ३०, नाइट्रोभेटसम्बन्धी २०, चरेशसम्बन्धी १६, स्पास्मोप्रक्सोभनका नौ, ट्रमाडोल, गाजा, फेनारगनका तीन र अन्यका दुई वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले घटनामा संलग्न एक सय १७ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार २५ जना कारागारमा सजाय काटिरहेका छन भने ३४ जना धरौटीमा छुटेको र चार जना फरार रहेका छन् । प्रहरी कार्यालयले तीन किलो आठ सय ३० ग्राम पाँच सय मिलिग्राम चरेश, चार किलो एक सय ग्राम गाजा, एक हजार एक सय ५२ ट्याब्लेट नाइट्रोभेट, आठ सय ७८ ट्याब्लेट स्पास्मोप्रक्सोभन, दुई सय ६१ ग्राम चार सय ६१ मिलिग्राम ब्राउन सुगर, १४ ट्याब्लेट फेनारगन, ३५ हजार तीन सय २० ट्याब्लेट ट्रमाडोल र दुई सय ४० ट्याब्लेट अन्य बरामद गरेको जनाएको छ ।

कैलालीमा गत आर्थिक वर्ष २०७४/७५ मा लागु औषधका ७१ मुद्दा दर्ता भएकोमा एक सय आठ जना पक्राउ परेका थिए भने दुई जना फरार रहेका थिए । ५२ जनालाई कारागार पठाइएको थियो भने ५६ जना धरौटीमा छुटेको प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष नाइट्रोभेटका २५, चरेशको २०, ब्राउन सुगरको २१ र स्पास्मोप्रक्सोभनको पा“च वटा मुद्दा दर्ता भएको प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।

प्रहरी कार्यालयका अनुसार गौरिफण्टा र तिकुनियाबाट कैलालीमा बढी मात्रामा लागू औषध भित्रिन थालेको छ । खुला सीमा र बोर्डर नजिकै लागु औषध सजिलै किनबेच हुने गरेकोले कैलाली र कञ्चनपुरसम्मको क्षेत्र लागु औषधको ट्रान्जिट बन्दै गएको प्रहरी अधिकारीहरूको अनुमान छ ।

नेपालको सरकारी तथ्यांक अनुसार सन् १९७० को दशकमा हिप्पीको प्रवेशसँग नेपालमा लागु औषध सेवन गर्नेको संख्या वृद्धि भएको पाइन्छ । नेपालमा अहिले दुई लाखभन्दा बढी लागू औषधको कुलतमा फसेका छन् । ती मध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी रहेको तथ्यांक छ । लागू औषध सेवन गर्ने युवतीहरूको संख्या करिब ४० हजार रहेको छ । चुरोट, खैनीसुर्ती, रक्सी, गाजा खानेबाट सुरु गर्दै डेनलाईट सुघ्ने र लागु पदार्थ दुव्र्यसनमा फस्ने गरेको स्थितिमा विशेष गरी लागु औषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।

कैलाली प्रहरी प्रमुख सुदिप गिरीले तराई क्षेत्रमा लागुपदार्थ ओसार पसार र सेवनलाई नियन्त्रण गर्न सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले भने– ‘खुल्ला सिमानाका कारण लागुपदार्थको कारोबारमा बृद्धि भइरहेको छ ।’

उनले यसको नियन्त्रण तथा नियमनका लागि जनचेतनामुलक कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए । उनले भने– ‘अधिकांस विद्यालयका किशोर–किशोरीहरु सेवनकर्ता बन्ने गरेको पाइएको छ । लागु पदार्थको हानी, कानुनमा भएको व्यवस्था लगायतका शिक्षा विद्यालय स्तरबाटै शुरु गर्नुपर्छ ।’

उनले किशोर–किशोरीहरु लागु पदार्थको सेवनकर्ता हुनुमा अभिभावकहरु पनि दोषी रहेको बताए । ‘बजारका अभिभावकहरु बढी व्यस्त भए । छोराछोरीहरु के गर्दैछन भन्ने ख्याल नगर्दा उनीहरु कुलतको बाटोमा अघि बढीरहेका छन्’,उनले भने ।

(Visited 27 times, 1 visits today)
Loading comments...