आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

नेपाल फाइनलमा, उपाधिका लागि मकाउसँग भिड्ने

2 years ago
12/11/2016

bimals-goal-celebraion-2

रामसूदन तिमल्सिना/राजधानी
काठमाडौं, २७ कात्तिक

नेपाल पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार दिउँसो मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको एएफसी सोलिडारिटी कपको रोमाञ्चक सेमिफाइनल खेलको ट्राइब्रेकरमा लाओसलाई ३–० ले हराउँदै नेपाल पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपालले एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा फाइनल यात्रा तय गरेको थिएन । उपाधिका लागि नेपालले मंगलबार मकाउसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मकाउले बु्रनाईलाई ट्राइब्रेकरमा ५–४ ले हराउँदै नेपालसँग भिड्ने निश्चित गरेको थियो ।

शनिबारको खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङ नायक बने । उनले लाओसका दुई खेलाडीको पेनाल्टी सुट रोक्दै टिमलाई लक्ष्यनजिक पु-याए । सोलिडारिटी कपको दाबेदार टिमका रूपमा हेरिएको नेपालले समूह चरणका दुई खेलबाट मुख्य प्रशिक्षक जापानिज कोजुलाई सन्तुष्ट पार्न सकेको थिएन । तर, शनिबारको खेलपछि कोजुले आफू खेलाडीको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल समूह ‘ए’अन्तर्गतको आफ्नो पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । बु्रनाईसँग भने ३–० को जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेर सेमिफाइलनमा प्रवेश गरेको थियो । नेपाल सोलिडारिटी कप उचाल्दै लगातार तेस्रो पटक च्याम्पियन बन्ने दाउँमा छ । यसअघि नेपालको यू–२३ टिमले भारतको गुवाहाटीमा भएको दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । त्यसअघि टिम नेपालले बंगबन्धु गोल्डकप जित्दै फुटबलप्रतिको वितृष्णालाई तोड्ने काम गरेको छ ।

नेपालले यसअघि २००६ मा एएफसीले आयोजना गरेको प्रतियोगितामा फाइनल पुग्ने अवसर गुमाएको थियो । त्यतिबेला बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा पेनाल्टी सुट मिस हुँदा नेपाल एएफसीले आयोजना गरेको प्रतियोगिताको फाइनल प्रवेशबाट वञ्चित भएको थियो । प्रदीप महर्जनले ट्राइब्रेकरमा पेनाल्टी मिस गरेका थिए । यस पटक भने ट्राइब्रेकरमा कुनै पनि खेलाडीले गल्ती गरेनन् । ट्राइबे्रकरमा नेपाली गोलरक्षक किरण चेम्जोङले विपक्षीको दुई पेनाल्टी रोक्न सफल भएका थिए । किरणको सोही कलाका कारण तेस्रो पेनाल्टी बाहिरिएको थियो ।

विश्वकप २०१८ र एसियन कप २०१९ को छनोट प्रतियोगिताबाट बाहिरिएका टिमहरू मात्र सोलिडारिटी कपमा हुनु पनि नेपालका लागि यात्रा सहज भएको थियो । तथापि भूकम्पपछि देशमा रहेको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला प्रयोगविहीन अवस्थामा पुगेकाले सातदोबाटोस्थिति अखिल नेपाल फुटबल संघको हातामा रहेको आर्टिफिसियल टर्फमा तयारी गरेको नेपालको प्रदर्शन तारिफयोग्य छ । नेपालले मलेसियामा घाँसे मैदानमा खेल्नुपर्दा ५ वर्षअघि विश्वकप छनोटको प्रारम्भिक चरणको खेलमा २–१ र ५–० ले हराएको टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्न पुगेको थियो । सेमिफाइनलसम्म आइपुग्दा नेपाली टोली घाँसे मैदानमा अभ्यस्त भइसकेकाले पनि नेपाललाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिनु भूल हुनेछैन ।

फाइनलको प्रतिद्वन्द्वी मकाउविरुद्ध नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये ३ मा जित १ बराबरी र १ मा हार बेहोरेको छ । त्यो नतिजाले पनि नेपाललाई फाइनलमा थप आत्मविश्वास बनाउनेछ ।

(Visited 8 times, 1 visits today)
Loading comments...