बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

स्थानीय तहको बजेट धमाधम सार्वजनिक

2 months ago
27/06/2019

 

पाँच स्थानीय तहमा एकैदिन सभा सम्पन्न

नेपालगन्ज ।  बाँकेका स्थानीय तहहरूमा धमाधम गाउँ÷नगर सभा सुरु भएका छन् । केहीले सभा सम्पन्न गरेर विकासे बजेट बाँडफाँडमा जुटेका छन् भने केहीले भर्खरै सभा सुरु गरेका छन् । मंगलबार नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका, नरैनापुर र डुडुवा गाउँपालिकाले पाँचांै नगर तथा गाउँसभा सम्पन्न गरेका छन् । जानकी गाउँपालिका, बैजनाथ र राप्तीसोनारीले गाउँसभा सम्पन्न गरिसकेका हुन् ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाको मंगलबार भएको पाँचांै नगर सभाले आर्थिक वर्ष २०७६÷७७ का लागि २ अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख डा.धवल शमशेर राणाले पेस गरेको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेस गरेको बजेट परिमार्जन र संशोधनसहित स्वीकृतसमेत गरिएको छ ।
नगर उपप्रमुख थापामगरले चालु खर्चतर्फ १ अर्ब २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्ब ४ करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गरेकी हुन् । नगर प्रमुख डा. राणाले आव २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्जलाई विकासको उत्कृष्ट सहर बनाउने उद्घोष गरे । दसवटा विविध विषय समावेश प्रस्तुत नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङसहितको सपिङ कम्पलेक्स निर्माणलाई प्राथमिकता दिइएको छ ।

यसैगरी, बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले आर्थिक वर्ष २०७६÷७७ को लागि ३८ करोड ४० लाख २२ हजार बराबरको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।यता, बाँकेको खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया विकले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरिन् ।
यसैगरी, जानकी गाउँपालिकाको जारी पाँचौ गाउँसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि ५१ करोड ५१ लाख ५१ हजारको बजेट पेस गरेको छ । जसमध्ये चालु खर्चतर्फ  ८ करोड ५ लाख ५० हजार, पुँजीगत तर्फ  ४३ करोड ५० लाख १ हजार विनियोजित गरिएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले बताइन् ।
यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक वर्ष २०७६÷७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रूपैयाँ विनियोजन गरिएको छ । यसैगरी, कोहलपुर नगरपालिकाको पाँचौ नगरसभा नगरभवन कोहलपुरमा सुरु भएको छ ।
नगर प्रमुख तथा सभाध्यक्ष लुटबहादुर रावतले उद्घाटन गर्दै आर्थिक वर्ष २०७६÷ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख सन्जुकुमारी थारूले आगामी आर्थिक वर्षको कोहलपुरको समग्र विकासका लागि ८० करोड ६१ लाखको क्षेत्रगत बजेट
प्रस्तुत गरिन् ।

 


८ नगरपालिकाको सभा स्थगित

रौतहट : नगर प्रमुख र उपप्रमुखको विवादको कारण रौतहटका अझै पनि आठ नगरपालिकाको नगर सभा हुन
सकेको छैन । संघीय सरकारले १० असारभित्र सम्पूर्ण स्थानीय तहलाई नगरसभा तथा गाउँसभा गर्न परिपत्र गरेको भएता पनि रौतहटमा भने अझै आठ नगरपालिकाले नगर सभा गर्न नसकेका हुन् । १६ नगरपालिका र दुई गाउँपालिका सहित १८ स्थानीय तह रहेको रौतहटमा १० स्थानीय तहले मात्रै असार १० गते भित्र नगरसभा गर्न सफल भएको जिल्ला समन्वय समिति रौतहटका कार्यालय प्रमुख सागर रोक्काले जानकारी दिएका छन ।
अझै आठ स्थानीय तहको नगरसभा हुन बाँकी रहेको उनले जानकारी दिए । चन्द्रपुर, गौर, गरुडा नगरपालिकाले असार ९ गते नै नगरसभा सम्पन्न गरेका थिए भने मौलापुर, माधव नारायण, राजपुर, परोहा, देवाही गुनाही नगरपालिकाले १० गते नगरसभा सम्पन्न गरेका थिए । यस्तै, यमुनामाइ गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाले पनि असार ९ गते नै गाउँसभा सम्पन्न गरेका थिए ।
बौधीमाइ, इसनाथ,फतुहा विजयपुर, गुजरा, बृन्द्धावन, गडीमाइ, कटहरिया र राजदेवी नगरपालिकाले अझै पनि नगरसभ ा गर्न नसकेका हुन् । राजदेवी नगरपालिकाकी उपप्रमुख अंशु सिंहले नगरसभा रोक्न जिल्ला समन्वय समिति रौतहटलाई पत्रचारसमेत गरेकी थिइन् । यसैगरी, इसनाथ गुजरा तथा फतुहा विजयपुर नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच विवादका कारण नगरसभा रोकिएको हो ।

चन्द्रपुरमा १ अर्ब २५ करोड बजेट प्रस्ताव

चन्द्रपुर नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चालु तर्फ ६८ करोड एक लाख र पँुजीगत तर्फ ५७ करोड ५० लाख गरी जम्मा एक अर्ब २५ करोड ५१ लाख अनुमानीत बजेट प्रस्तुत भएको चन्द्रपुर नगरपालिकाका प्रवक्ता गोबिन्द दुलालले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिका भित्र रहेका अति विपन्न घर परिवारका ७० वर्षदेखि माथि उमेरका ज्येष्ठ नागरिकलाई नगरपालिकाले निःशुल्क देवस्थल भ्रमणसमेत गराउने र ८५ वर्षमाथिका नागरिकलाई घरघरमा गएर सम्मान गर्ने कुरासमेत नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

पूर्वमन्त्रीको गृह नगरमा ३० करोड ६८ लाख

मौलापुर नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७६÷७७ को लागि ३० करोड, ६८ लाख ५७ हजारको बजेट विनियोजन प्रस्ताव गरेको छ । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद्समेत रहेका प्रभु साहको गृह नगर मौलापुरको नगरसभाको उद्घाटन उनी आफंैले गरेका थिए । नगर सभाको उद्घाटन गर्न संसद् साहले अब नगरवासीले आफ्नो आनीबानीसमेत परिर्वतन ल्याउनु पर्ने नगरवासीलाई सुझाब दिएका थिए । नगरपालिकाकी नगरप्रमुख रीनाकुमारी साहको अध्यक्षतामा नगरसभा सम्पन्न भएको थियो । नगर प्रमुख रीनाकुमारी साह सांसद प्रभु साहकी श्रीमती हुन् ।

गरुडामा ५५ करोड ४२ लाख

जिल्लाको मध्यबजारमा पर्ने गरुडा नगरपालिकाको तेश्रो नगरसभा आर्थिक वर्ष २०७६÷७७ का लागि ५५ करोड ४२ लाख ६७ हजार कुल बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सभा समक्ष नगरप्रमुख इनुराय यादवले प्रस्तुत गर्दै ‘संमृद्ध नगर : खुशी नगरवासी’को नारासमेत प्रस्तुत गरेका छन् ।
‘मालिक होइन, सेवक हौ’ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै संमृद्धि हासिल गर्न सकिन्छ भने मान्यतालाई आफ्नो मार्गदर्शनका रूपमा ग्रहण गरेको नगर प्रमुख रायले बताए ।

गौरका लागि ४५ करोड ५७ लाख बजेट

गौर नगरपालिकाको चौथो नगर सभाबाट आर्थिक वर्ष २०७६÷७७ का लागि ४५ करोड ५७ लाख १ हजारको आय व्ययको प्रस्ताव प्रस्तुत गरेको छ । सोमबार नगरसभा गर्दै नगर प्रमुख अजय गुप्ताले सो बजेट प्रस्ताव गरेका हुन् ।
२० मध्ये १६ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक
सर्लाही ः असार १० गते भित्र गाउँ तथा नगरका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार सर्लाहीका १६ स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका २० मध्ये १६ स्थानीय तहले नीति तथा कार्यक्रन सम्पन्न गरेका हुन् । जिल्लाका बलरा नगरपालिका, रामनगर गाउँपालिका, बसबरिया गाउँपालिका र हरिपुर्वा नगरपालिका बाहेकका अन्य सबै गाउँ तथा नगरपालिकाले मंगलबार गाउँ तथा नगरसभा गर्दै नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

एक साताअघि उपप्रमुखले बलरा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका कारण कार्यालयका सबै कागजातहरू त्यहीभित्र रहेकोले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकिएको बलरा नगरपालिकाका प्रमुख मेयर अभय सिंहले जानकारी गराए भने रामनगर र बसबरिया गाउँपालिकाले वडा अध्यक्षको किचलोका कारण समयमै तयारी पूरा नहुँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकेको बताएका छन् ।
त्यस्तै, विप्लव समूहको नेपाल बन्दका कारण ईश्वरपुर नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो भने बाँकी सोह्र स्थानीय तहले बन्दकै दिन मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
अगामी आर्थिक वर्ष २०७६÷७७ का लािग सबैभन्दा बढी बजेट बागमती नगरपालिकाले सार्वजनिक गरेको छ । बागमती नगरपालिकाको लागि १ अर्ब ५ करोडको बजेट सार्वजनिक गरेको जनाएको छ । त्यस्तै जिल्लाकै जेठो मलंगवा नगरपालिकाले  ५२ करोड, ८२ लाख ७९ हजारको बजेट विनियोजन गरेको छ । उसले नीति तथा कार्यक्रममार्फत नगरको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, कृषि ,उद्योग र व्यापार मलंगवा नगरपालिकाको विकासको मूल आधार भन्दै तिनैको विकासमा नीति तथा कार्यक्रममार्फत जोड दिएको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...