आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

कम छैन मानविकी

शिवलाल भुसाल
2 weeks ago
09/07/2019

 

 

 

शिवलाल भुसाल

मानविकी संकाय

डिन, त्रिभुवन विश्वविद्यालय

एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै के पढ्ने ? कुन विषय पढ्ने र कुन संकाय अध्ययन गर्ने भन्ने चिन्ता आमविद्यार्थीमा देखिएको छ ।कक्षा ११ मा भर्ना भएसँगै भविष्यको नयाँ अध्याय सुरु हुन्छ । कुन विषय अध्ययन गर्दा भविष्य के हुने भन्ने चिन्ता हुनु स्वाभाविक नै हो । यसै अन्योललाई स्पष्ट पार्न हामीले सम्बन्धित संकायका डिनसँग कुराकानी गरी  यो सामग्री प्रस्तुत गरेका छौं ।समग्र विषयको ज्ञान र व्यवस्थापनको आधार मानविकी संकाय नेपालको सबैभन्दा पहिलो संकाय हो । यसको सुरुवात आदिम कालदेखि नै भएको  पाइन्छ ।

अन्य संकायको जस्तो यसको  सुरुवातका सम्बन्धमा यही मितिबाट सुरु भयो भन्ने सकिँदैन । नेपालमा मानविकी पछि मात्र  शिक्षा, व्यवस्थापन तथा विज्ञान संकायको सुरुवात भएको हो ।

पत्रकारिता, वकिल, समाजशास्त्र, मानवशास्त्र, अर्थविद्, राजनीतिज्ञ, साहित्यकार, योजनाकार तथा प्रशासकलगायतका थुप्रै विषय मानविकी संकायअन्तर्गत पर्छन् ।

मानविकी संकायअन्तर्गत अध्ययन अध्यापन हुने विषयलाई ज्ञानमा परिणत गर्ने संकाय  हो । जुनसुकै विषय अध्ययन गरे पनि समग्रमा  मानवजातिको  कल्याणसँग जोडेर हेर्नेुपर्ने हुन्छ । नेपालमा केही समयअगाडि कुल विद्यार्थीको  झन्डै ८० प्रतिशतले यो संकाय अध्ययन गर्ने गरेका थिए ।

हाल यो संख्यामा कमी आएको छ । कमी  आउनुमा पछिल्लो समय विकास भएका अन्य संकाय हुन् । विद्यार्थीको रुचि तथा सामाजिक कारणले अन्य  विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको हो ।

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४१ विषयगत विभाग छन् । जसमध्ये २२ विभाग मानविकीअन्तर्गतका छन् । ४१ विषयमध्ये स्नातक तहमा ३८ विषयको पठनपाठन हुन्छ भने स्नातकोत्तरमा ३० वटा  विषय  पढाइन्छ ।

पछिल्लो समय यस संकायलाई परिमार्जनसहित नयाँ अवधारणमा विकास गर्दै नयाँ नयाँ विषय थप गर्दै लगिएको छ । नयाँ विषयमा विद्यार्थीको रुचिसमेत सोही रूपमा बढेका छन् ।

यसरी  थप गरिएका विषयमा अन्तर्राष्ट्रिय  सम्बन्ध, मनोविज्ञान, ग्रामीण विकास, द्वन्द्व र विकास, भूकम्पपछि संकट व्यवस्थापन विषयको विकास, खेलकुद विज्ञान, पर्यटनलगायतका छन । यस क्रममा विज्ञानसँग सम्बन्धित रहेका विषयलाई मानविकीसँग जोडेर विकास गर्दै लगिएको छ ।

 

मानविकीको सान्दर्भिकता

समाजमा ज्ञान आर्जन मात्रलाई प्राथमिकतामा राखिँदैन ।पछिल्लो समय  सिपयुक्त विषय अध्ययनलाई प्राथमिकतामा राख्ने गरिएको छ । यसले मानविकी  संकाय अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमी आएको  देखिन्छ । संख्यामा कमी आए पनि यसको सान्दर्भिकता भने झनै बढेको  छ ।

सिपयुक्त  विषयले  विद्यार्थीलाई  सिप र रोजगार त दियो तर समाजलाई बुझ्न नसक्दा मानव जीवन यान्त्रिक मात्र बन्न पुग्यो ।

यसलाई मध्यनजर गर्दै पछिल्लो समय मानविकी संकायअन्तर्गतका समाजशास्त्रलगायतका विषयलाई विज्ञान  व्यवस्थापन तथा शिक्षा संकायमा अनिवार्य रूपमा अध्ययन गराउन थालिएको छ ।

मानविकी समग्र ज्ञान आर्जनसँग सम्बन्धित छ । जुनसुकै संकाय र विषय अध्ययन गरे पनि अन्तिम लक्ष्य ज्ञान आर्जन नै हो ।भाषा, संस्कृति, इतिहास कलालगायतका महŒवपूर्ण विषय यसैअन्तर्गत पर्छन् । मानविकीअन्तर्गत पढाइ हुने विषयले योजना निर्माण, विकास योजना कार्यान्वयन तथा नेतृत्वको आधार तयार पर्छन् ।

मानविकी अध्ययन गरेर राजनीतिज्ञ, सामाजिक अभियन्ता, सामाजिक चिन्तक, पत्रकार, विश्लेषक र कानुनविद् बनेका छन् । जसले मुलुक सञ्चालनमा मूख्य भूमिका निभाएका हुन्छन् । यसमा धेरै अध्ययनका विषय रहेकाले विकल्पसमेत धेरै नै छन् । यो विषय अध्यययन गरेकाहरूलाई देशमा नै प्रशस्त रोजगारीका अवसर उपलब्ध छन ।

विभिन्न विषयगत विषय रहेकाले भविष्य र रुचिलाई हेरेर विषय  छनोट गर्नुपर्ने हुन्छ । पछिल्लो समय राज्यले समेत यसको सान्दर्भिकतालाई बुझेको अवस्था छ ।

यसैअनुरूप पाठ्यक्रम परिमार्जन गर्न  थालिएको अवस्था  छ भने नयाँ नयाँ विषय थप गरेर समय सापेक्ष बनाउन थालिएको छ । यो विषयले मानव सभ्यता र जीवनको मूल्य.बुझाउन मद्दत गर्दछ । यस अवस्थामा समेत २५ प्रतिशत विद्यार्थी  यस संकायअन्तर्गतका विषय अध्ययन गरिरहेका छन ।

अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र कानुनी विषयमा वकालत गर्न, राजनीति गर्न तथा तार्किक विश्लेषण गर्ने जनशक्ति उत्पादनमा मानविकी संकायको  मुख्य भूमिका छ ।

 

 

(Visited 69 times, 1 visits today)
Loading comments...