आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

अमेरिकाका लागि बेलायती राजदूतद्वारा राजीनामा

एजेन्सी
2 weeks ago
10/07/2019

लण्डन । अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका बेलायती राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

ट्रम्प प्रशासन असक्षम, अयोग्य र असुरक्षित रहेको भन्दै सर किमले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले बेलाती राजदूतलाई ‘एकदमै मूर्ख व्यक्ति’ भएको आरोप लगाएका थिए । बेलायतको विदेश मन्त्रालयले बुधवार सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गरेको छ ।
सर किमले आफूले सबैखाले अडकालबाजीहरू रोक्न चाहेको बताउँदै, इमेल सार्वजनिक भएपछि उनलाई अमेरिकाको लागि राजदूतको रूपमा आफ्नो काम गर्न असम्भव भएको जनाएका छन् । अहिलेको अवस्थाले आफूलाई जिम्मेवारी निर्वाह गर्न असजिलो महसुस भएको भन्दै पदबाट राजीनामा दिने मनसाय बनाएको बताएका थिए ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिंगटनका लागि बेलायती राजदूत सर किम डार्कप्रति थप आक्रामक बन्दै उनीसँग आफूहरूले व्यवहार नगर्ने बताएका थिए । ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री मेको पनि आलोचना गरेका थिए ।

ट्रम्पले बेलायत र मेप्रति अनादार देखाए : हन्ट

यसैबीच, अमेरिका र बेलायतबीच राजदूतको इमेल प्रकरणलाई लिएर कूटनीतिक क्षेत्रमा विवादको अवस्था देखा परेको छ । अमेरिका र बेलायतबीच कूटनीतिक विषयमा विवाद चर्किदै जाँदा एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र प्रधानमन्त्री थेरेसा मेप्रति अनादरपूर्ण व्यवहार प्रदर्शन गरेको बताएका छन् । इमेल चुहावट प्रकरणलाई लिएर अमेरिकाका लागि बेलायती राजदूत सर किम डार्कप्रति कडा टिप्पणी गरेपछि हन्टको भनाई बाहिर आएको हो । ट्रम्पले राजदूत डार्कलाई ‘एकदमै मूर्ख व्यक्ति’ भएको टिप्पणी गरेपछि हन्टपनि ट्रम्पका अभिव्यक्तिविरुद्ध उत्रिएका हुन् ।
यसअघि अमेरिकाका लागि बेलायती राजदूत सर किम डार्कले ट्रम्प नेतृत्वको प्रशासन असक्षम, असुरक्षित र अयोग्य भएको टिप्पणी गरेका इमेल बाहिरिएका थिए । ट्रम्प प्रशासनसम्बन्धित टिप्पणी गरिएका इमेलहरू चुहिएपछि ट्रम्पले शृंखलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए ।

उनले युरोपेली संघबाट बेलायत औपचारिक रूपमा बाहिरिने ब्रेक्जिट प्रक्रिया सम्हाल्ने प्रधानमन्त्री मेको तौरतरिकाको पनि आलोचना गरेका थिए । ट्रम्पले आफ्ना सुझावलाई बेलायती प्रधानमन्त्री मेले बेवास्ता गरेको र ‘मुख्र्याइँको बाटो’ रोजेको टिप्पणी गरेका थिए ।
ट्रम्पका पछिल्ला ट्वीटप्रति प्रतिक्रिया जनाउँदै बेलायती विदेशमन्त्री हन्टले भनेका छन्, ‘हाम्रा साथी स्पष्ट रूपमा बोल्छन् अतः म पनि त्यसै गर्छु । ती टिप्पणीहरू हाम्रा प्रधानमन्त्री र मेरो देशप्रति अनादरपूर्ण छन् ।’

आफू प्रधानमन्त्रीमा निर्वाचित भएमा अवकाश नपाएसम्म सर किमलाई राजदूतमा निरन्तरता दिने मनसाय पनि व्यक्त गरेका थिए । प्रधानमन्त्री मेका प्रवक्ताले सर किम एक कर्तव्यपरायण र सम्मानित सरकारी अधिकारी भएको बताएका थिए ।

तर प्रधानमन्त्री मेले आफूलाई सर किममाथि ‘पूर्ण विश्वास’ रहे पनि उनीसँग सहमत हुन नसकिने बताएकी छन् । मेका प्रवक्ताले इमेल चुहावट प्रकरण ‘एकदमै अस्वीकार्य’ भएको बताएका थिए । यसका बाबजुद दुई देशबीचको विवाद तत्काल समाधान नहुने देखिएको छ । डाउनिङ स्ट्रीट ट्रम्पका पछिल्ला टिप्पणीप्रति रुष्ट बनेको बताइएको छ ।

सोमवार राजदूत सर किमलाई इंगित गर्दै ट्रम्पले ‘आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले बेलायतको पनि राम्ररी सेवा नगरेको’ टिप्पणी गरेका थिए । उनले सर किमलाई अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको पनि उल्लेख गरेका थिए ।

(Visited 72 times, 1 visits today)
Loading comments...