आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

पिनासले निम्त्याउन सक्छ ग्ल्यान्ड टिबी (स्वास्थ्य टिप्स)

राजधानी समाचारदाता
1 week ago
11/07/2019

 

पिनास प्रायः सबै मानिसलाई सताउने सामान्य रोग हो । तर, यसको समयमै उपचार गरिएन भने यसले खतरनाक अवस्था निम्त्याउन सक्छ । पहिलो कुरा त यो रोग नाक, कान र घाँटी जस्ता संवेदनशील अंगसँग सम्बन्धित छ । दोस्रो कुरा यो ग्रन्थीसँग प्रत्यक्ष जोडिएको छ । त्यसमा पनि मुहारसँग जोडिएका संवेदनशील अंगमा यसको आक्रमण यो निकै गम्भीर प्रकारको रोग पनि हो । तर, यसबारे जनसाधारण त्यति सचेत र संवेदनशील भएको देखिँदैन ।

पिनास प्रत्यक्षतः नाकसँग सम्बन्धित रोग हो । तर, पनि यसको सम्बन्ध र असर यतिमा मात्र सीमित छैन । यो रोगले नाकभित्रको हड्डी बंग्याइदिन्छ । नाकभित्र निरन्तर हुने एलर्जीका कारण संक्रमण भई मासु पलाउने र नाक थुनिने हुन्छ । नाकबाट रगत बग्ने, श्वासप्रश्वासमा बाधा हुने, छाती दुख्ने र टाउकोमा असाधारण झन्झट र दुखाइ ल्याउने गर्दछ । यसका अन्य अतिरिक्त असर पनि हुन्छन् । यसले कानसम्बन्धी रोग पनि ल्याउँछ । कान पाक्ने, कानको जाली प्वाल पर्ने, कानको हड्डी खिइने, कानले नसुन्ने, कान छेडेपछि छेडेको ठाउँमा मासु पलाउने आदि हुन्छ । यसका साथै घाँटीमा टन्सिलाइटिस, थाइराइड, ग्ल्याण्ड टिबी, स्वर भासिने, घाँटीको क्यान्सर जस्ता समस्या पनि यसले निम्त्याउँछ । पिनास हुनुका कारणमध्ये मुख्य हो– भाइरलको हमला । यस्तो खाले भाइरलको हमला मौसम परिवर्तनमा भर पर्दछ । यसको पहिलो लक्षण भनेको रुघा लाग्नु हो । सडकमा हिँड्दा र घरमा पनि जताततै धुवाँधुलो हुने भएकाले आममानिसलाई रुघा लाग्ने सम्भावना जहाँ पनि रहन्छ । यही रुघा लामो समयसम्म लागिरह्यो र यसको उपचार गरिएन भने पिनास हुन जान्छ ।

रुघाखोकीबारे पनि कम या बेसी भ्रम पाइन्छन् । कतिपयले त सामान्य रुघालाई नै पिनास भनिदिन्छन्् । यस्तो सोच्ने भ्रम हो । यो आफैंमा गलत कुरा पनि हो । रुघा लाग्ने सबैलाई पिनास हुन्छ भन्ने छैन । लामो समयसम्म रुघा लागेको व्यक्तिलाई पहेंलो र हरियो सिँगान बग्ने, टाउको दुख्ने, नाक बन्द हुने, ज्वरो आआउने भएमा मात्र पिनास भएको हुन सक्छ । यसैगरी, गाला दुखे, माथिल्लो दाँत दुखे तथा नाकबाट रगत बगे पिनासको आशंका गर्न सकिन्छ । धेरै लामो समयसम्म रुघा लाग्न दिनुहुँदैन । रुघा लागे चिसोबाट बच्नु, झोल पदार्थ बढी पिउनुपर्छ ।
तातोपानीको बाफ लिनुपर्छ । हरियो सिँगान बगे उपचार गराउनुपर्छ । लामो समयसम्म पिनास भए मासु पलाउन सक्छ, जसलाई ठीक पार्न अप्रेसन नै गर्नुपर्ने हुन सक्छ । तसर्थ, समयमै उपचार गराउनुपर्छ । बाहिर मास्क लगाएर हिँड्नुपर्छ ।

 

(Visited 100 times, 1 visits today)
Loading comments...