आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

मुलुकभर २३ प्रतिशत मात्रै रोपाइँ

कौशिला कुँवर
1 week ago
11/07/2019

काठमाडौं । असार सकिन लाग्दा मुलुकभर २३ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमा मनसुन सुरु नहुँदा मुलुकभर धान रोपाइँ कम भएको हो । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव १९ प्रतिशत कम रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार गत आइतबारसम्म मुलुकभर २३ दशमलव ७६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । गतवर्ष सोही अवधिमा ५२ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । गतवर्ष अनुकूल मौसम र पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था राम्रो हुँदा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले यसवर्ष मन्सुन ढिला सुरु हुँदा धान उत्पादनमा असर गर्ने बताए । उनले सिँचाइ व्यवस्था नहुँदा धेरै जमिन आकासे भरमा भएकाले उत्पादन असर हुने बताए ।

यस वर्ष मौसमले साथ नदिँदा धान उत्पादन अपेक्षा गरेअनुसार धान उत्पादन नहुने धान विज्ञ बताउँछन् । धान उत्पादनका लागि मुख्य सिँचाइ नै भएको हुँदा यस वर्ष पर्याप्त सिँचाइ नहँुदा धान उत्पादन घट्ने विज्ञ बताउँछन् । धान विज्ञ भोलामानसिंह बस्नेत धान बालीलाई पर्याप्त सिँचाइको आवश्यक हुने भएकाले धान बाली पर्याप्त नहुँदा उत्पादन घट्ने बताउँछन् ।

अन्नको भण्डार मानिने तराई क्षेत्रमा नै यसवर्ष सबैभन्दा कम रोपाइँ भएको छ । मन्त्रालयका तथ्यांकअनुसार गत आइतबारसम्ममा मुलुकभर २३ दशमलव ७६ प्रतिशत क्षेत्रफल रोपाइँ भएकोमा तराईमा २० दशमलव ६१ प्रतिशत मात्र भएको छ । गत वर्ष सोही अवधिमा तराईमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको थियो । वर्षको तुलनामा यस वर्ष तराई क्षेत्रमा ३२ दशमलव ३४ प्रतिशत कम धान रोपाइँ भएको छ ।

यस वर्ष हालसम्म सबैभन्दा धेरै उच्च पहाडमा धान रोपाइँ भएको छ । उच्च पहाडमा ३४ दशमलव ६४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा क्षेत्रमा ६१ दशमलव ६५ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षभन्दा २७ दशमलव शून्य १ प्रतिशतले कम भएको छ ।

त्यसैगरी, मध्य पहाडमा गत वर्षभन्दा २४ दशमलव ४६ प्रतिशतले कम रोपाइँ भएको छ । मध्य पहाडमा गत वर्ष ५५ दशमलव ६१ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष ३१ दशमलव १५ प्रतिशत कम रोपाइँ भएको छ । यसैगरी प्रदेश आधारमा धान रोपाइँको अवस्था हेर्दा धान रोपाइँ प्रदेश नम्बर २ मा सबैभन्दा कम रोपाइँ भएको छ । प्रदेश नम्बर २ मा १० दशमलव २५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा उक्त प्रदेशमा ५३ दशमलव ५७ प्रतिशत रोपाइँ भएको थियो । अन्नको भण्डार प्रदेश २ मा ४३ दशमलव ३२ प्रतिशत कम रोपाइँ भएको छ । प्रदेश नम्बर १ मा १८ दशमलव ४५ प्रतिशत, प्रदेश नम्बर ३ मा २० दशमलव ९९, गण्डकी प्रदेशमा २८ दशमलव ५३ प्रतिशत, प्रदेश ५ मा २९ दशमलव ५१ प्रतिशत, कर्णाली प्रदेशमा ५१ दशमलव ४२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ४४ दशमलव ४९ प्रतिशत रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा ५१ दशमलव ४२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा ६५ दशमलव ८८ प्रतिशत रोपाइँ भएको थियो । त्यसैगरी, गत वर्ष यो अवधिमा ८० प्रतिशत रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा यो वर्ष ४४ दशमलव ४१ प्रतिशत मात्र भएको छ ।

 

(Visited 24 times, 1 visits today)
Loading comments...