आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

कोरियन भाषा परीक्षा उत्तीर्णको सीप तथा क्षमता परीक्षण भदौबाट

मधुजंग पाण्डे
1 week ago
11/07/2019

काठमाडौं ।  रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उŒाीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ भदौबाट सुरु हुने भएको छ ।

दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्य आगामी १८ भदौसम्म सञ्चालन हुनेछ । अब काठमाडौंमा नै सीप परीक्षण हुने छ । यसपालि कोरिया आफैंले कोरियन प्रविधिबाट भाषा परीक्षा उŒाीर्ण परीक्षार्थीको सीप परीक्षण गराउने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार सीप तथा क्षमता परीक्षण कार्य पहिलोपटक काठमाडौंमा हुन लागेको हो । सीप परीक्षण हुने स्थानका बारेमा भने ईपीएस शाखाले नै पछि निर्णय गर्ने बताइएको छ ।

ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १८ भदौसम्म सञ्चालन हुने बताए । अहिलेसम्म सीप परीक्षण केन्द्रको छनोट भइनसकेको जानकारी गराउँदै प्रवक्ता भण्डारीले भने, ‘सीप परीक्षण गर्न कोरियन प्रविधिसहितको टोली काठमाडौं आउँछन्, हामीले स्थान मात्रै निर्धारण गर्ने हो ।’ सीप परीक्षणमा गत १३ असारमा प्रकाशित भएको कोरियन भाषा परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थी सहभागी हुन पाउनेछन् । यस कार्यमा सहभागी हुन भाषा परीक्षा उŒाीर्ण परीक्षार्थीले २० देखि २९ असारसम्म सीप परीक्षणका लागि आवेदन फारम भरिसक्नुपर्ने सो शाखाले जनाएको छ ।

 

६ हजार ७ सयमात्र सीप परीक्षणबाट छनिने

यस वर्षको कोरियन भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् । जसमध्ये ९ हजार १३३ जना उत्पादनमूलक क्षेत्रतर्फ र २ हजार ८७६ जना कृषि क्षेत्रका लागि उत्तीर्ण भएका छन् ।

यी दुवै क्षेत्रको परीक्षामा उत्तीर्ण भएकामध्येबाट यस वर्ष कोरियन सीप परीक्षण गरी जम्मा ६ हजार ७ सय कामदार मात्रै छनोट गर्ने बताइएको छ । जसमा उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार कामदार छनोट गरी कोरिया पठाइनेछ । कोरियामा अघिल्ला वर्षको तुलनामा रोजगारीका अवसर कम हुँदै गएकाले भाषा परीक्षा उŒाीर्ण गरेका परीक्षार्थीबाट करिब आधा मात्र सीप परीक्षणबाट छनोट हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा उŒाीर्ण गरी सीप परीक्षणमा समेत छनोट भएका कुल ६ हजार ७ सय प्रशिक्षार्थी कामदारबाट पनि सबै जना रोजगारीका लागि कोरिया जान पाउने ग्यारेन्टी दिन नसकिने सो शाखाले जानकारी गराएको छ । कोरियामा कति कामदार आवश्यक पर्छन् त्यति कामदार मात्रै कोरियन सरकारले माग गर्छ, भाषा परीक्षा उत्तीर्ण गर्नु र सीप परीक्षणमा पनि उत्र्तीण गर्नु कोरिया जान योग्य हुनु नभएको सो शाखाले स्पष्ट पारेको छ ।

‘कोरियाको विकासका लागि धेरै कामदार आवश्यक पर्ने भयो भने कोरियाले छनोट गरेका सबै कामदारको माग गर्न सक्छ, नत्र आवश्यकताअनुसार मात्र लैजान्छ’ प्रवक्ता भण्डारीले भने । दक्षिण कोरियाले यसपटकबाट भाषा परीक्षासँगै सीप परीक्षण प्रविधिलाई पनि कार्यान्वयनमा ल्याएको हो ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत् करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् । दक्षिण कोरियामा न्यूनतम मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण बढेको छ । अहिलेसम्म कुल ५५ हजार बढी कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । अन्य गन्तव्य मुलुकको तुलनामा आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

 

कसरी गरिन्छ सीप परीक्षण ?

कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका प्रशिक्षार्थी कामदारको सीप परीक्षण गर्दा शारीरिक अवस्था कस्तो छ, कान कम सुन्ने वा नसुन्ने, दृष्टिशक्ति, दिमागको तीक्ष्णताजस्ता शारीरिक अवस्था परीक्षण गरिनेछ । यसैगरी, भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारको अन्तर्वार्ता पनि सीप तथा क्षमता परीक्षणभित्रै समावेश गरिनेछ । सीप परीक्षणका लागि पनि निश्चित समय दिएर सहभागीको क्षमताबारे सबै जानकारी लिइनेछ ।

 

(Visited 212 times, 1 visits today)
Loading comments...