बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

पीएसजी नेयमारलाई छाड्न तयार

एजेन्सी
2 months ago
11/07/2019

 

पेरिस  । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलकुद निर्देशक लिओनार्डोले कुनै पनि क्लबले उचित प्रस्ताव गरेको खण्डमा ब्राजिलियन फरवार्ड नेयमारलाई क्लबले अन्यत्र जान दिने बताएका छन् ।

प्री सिजन प्रशिक्षणको पहिलो दिन क्लबमा अनुपस्थित भएपछि पीएसजीले नेयमारलाई कारबाही गर्ने बताएको छ । २७ वर्षीय फरवार्डले पछिल्लो समय बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् ।

यद्यपि, पीएसजीले हालसम्म कुनै औपचारिक प्रस्ताव प्राप्त नगरेको कारण केही भन्न नसक्ने बताएको छ । बार्सिलोनाले क्लबसँग सम्पर्क गर्ने तयारी गरेको बुझिएको छ ।

नेयमार सन् २०१७ अगस्टमा विश्व कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पेरिस पुगेका थिए । उनको अवस्थाबारे बोल्दै लिओनार्डोले भने, ‘फुटबलमा कहिलेकाहीँ यस्तो अवस्था आउँछ । एक दिनमा नै माहोल फरक हुन सक्छ । हामीले नेयमारसँग सम्पर्क गरेका छौं र यसबारे विस्तृतमा भन्ने अवस्था छैन’ उनले भने ।

‘नेयमार र हामी दुवै आ(आफ्नो तर्कमा प्रस्ट छौं । उनको अझै पनि पीएसजीमा तीन वर्ष सम्झौता बाँकी छ । जबसम्म हामीलाई औपचारिक प्रस्ताव आउँदैन हामीले अगाडि केही नयाँ सोच्ने अवस्था छैन । यदि कसैले उचित प्रस्ताव गर्छ भने उनी क्लब छाड्न सक्छन्,’ उनले थपे ।

नेयमार अझै पनि व्यक्तिगत कार्यक्रममा व्यस्त रहेका कारण ब्राजिलमा छन् । उनी अर्को साता मात्र प्रशिक्षणमा सहभागी हुने बुझिएको छ । नेयमारले हालसम्म ३७ लिग खेल खेल्दै ३४ गोल गरेका छन् । यसक्रममा दुई लिग उपाधि जितेका उनले पटकपटक अनुशासनको कारबाही पनि भोगेका छन्

 

(Visited 51 times, 1 visits today)
Loading comments...